Logo

इन्टरनेट जोडदै हुनुहुन्छ ? यस्ता छन् चाडपर्वको अवसरमा इन्टरनेट सेवाप्रदायकका आकर्षक अफर

इन्टरनेट जोडदै हुनुहुन्छ ? यस्ता छन् चाडपर्वको अवसरमा इन्टरनेट सेवाप्रदायकका आकर्षक अफर



काठमाडौं । नेपालमा पछिल्लो समय इन्टरनेटको उपयोग बढ्दो छ । अझ भन्ने हो भने यसको प्रयोग अत्यावश्यकजस्तै पनि भएको छ । बढ्दै गएको डिजिटलाइजेसन र इलेक्ट्रोनिक डिभाइसको प्रयोगले पनि यसको उपयोगितालाई बढावा दिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणका अनुसार नेपालभर जनसंख्याको आधारमा १ सय ३० प्रतिशत बढीको पहुँचमा ब्रोडब्याण्ड इन्टरनेट सुविधा पुगिसकेको छ । जसमा फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्डलाई प्रमुख माध्यमको रुपमा राखिएको छ । यसरी नेपालमा ब्रोडब्याण्ड इन्टरनेट चलाउनेको संख्या गत जेठ मसान्तसम्म ३ करोड ८१ लाख ३२ हजार ९ सय ४२ जना पुगेको छ । यस्तै पछिल्लो समय यसको उपयोगिताको वृद्धिदरलाई हेर्दा पनि तीव्र वृद्धि भइरहेको देखिन्छ । यसलाई मानिसहरुले अत्यावश्यकीय आवश्यकताको रुपमा लिईदिँदा गत बर्षको जेठमा ९१ प्रतिशत जनतासम्म मात्रै पुगेको इन्टरनेटको पहुँच एक बर्षको अवधिमा १ सय ३० प्रतिशत पुग्न सफल भएको मान्न सकिन्छ ।

सोही आधारलाई मनन् गर्दै नेपालमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीहरुले पनि यसको विस्तारलाई विशेष ध्यान दिने गरेका छन् । उनीहरुले ग्राहकलाई आकर्षित गर्नका लागि विभिन्न मौका हेरेर प्याकेज, अफर, स्किमलगायत सार्वजनिक गरिरहेका हुन्छन, जसमार्फत धेरैभन्दा धेरै नेपालीलाई इन्टरनेटको पहूँचमा पार्न सकियोस ।

पछिल्लो समय बढ्दै गएको दशैंको रौनकलाई मध्येनजर गर्दै नेपालका ठुला (प्रयोगकर्ताका आधारमा) इन्टरनेट सेवाप्रदायकले विभिन्न अफर सार्वजनिक गरेका छन् । इन्टरनेटका ग्राहकलाई आफुतिर आकर्षित गर्नका लागि कम्पनीहरुले यस्ता स्किमहरु सार्वजनिक गरेको देख्न सकिन्छ ।

वर्ल्डलिंक

वर्ल्डलिंकले दशैँको अवसरमा “वर्ल्डलिंक fesTVty” अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्नेछन् । पहिलो प्याकेज “Fast Offer” अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० Mbps इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् । यसैगरी “2 Routers” प्याकेज अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले Nokia Beacon 1.1 Mesh Router, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० Mbps इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने “Smart Offer” अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) Nokia Beacon 1.1 Mesh Router, २०० Mbps को इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक NETTV मात्र रु १५० मा प्राप्त गर्ने छन्। यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध रहको कम्पनीले जनाएको छ ।

यसैबीच NETTV ले “NETTV fesTVty” दशैं अफर ल्याएको छ। यस दशैँ अफरमा NETTV ले TV र NETTV Subscription को बन्डल अफर एकदम सुपथ मुल्यमा बजारमा ल्याएको जनाएको छ । “NETTV fesTVty” अफर अन्तर्गत NETTV को सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले YASUDA को ३२ इन्च को YS-३२NWN मोडल LED TV वा ४३ इन्च को YS-४३NWS मोडलको Bezel -Less SMART TV खरिद गर्ने सक्नेछन् । ३२ इन्च को TV को NETTV सेट टप बक्स र एक वर्षे प्लानको मूल्य VAT सहित रु १४,९९९ रहेको छ भने ४३ इन्च TV को NETTV सेट टप बक्स र एक वर्षे प्लानको मूल्य VAT सहित रु २९,२९९ रहेको छ। दुवै प्लान मा सेट टप बक्स को डिपोजिट रु ५०० लाग्ने कम्पनीले जनाएको छ ।

भायानेट

दशैंमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले एक अफर ल्याएको छ। यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा-फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन्। यो दशैं भायानेटको अल्ट्रा-फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन सकिने कम्पनीले जनाएको छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन्।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ। कम्पनीका अनुसार ग्राहकले मेस राउटर लिनका लागि रु. ४००० र एमआई ४.ए राउटरको लागि रु. १५०० डिपोजिट गर्नु पर्नेछ। कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो।

साथै भायानेटले वार्षिक सदस्यतामा मात्र रु. १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ। यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट-टप-बक्स मात्र रु. ५०० डिपोजिट गरी प्राप्त गर्न सक्नेछन्। उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा-फाई लाइन अप विशेष मानिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

क्लासिक टेक

क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको मौका पारेर नयाँ अफर लिएर आएको छ। यो अफरमा १ सय एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा नै प्रदान गरिएको छ र आईपीटीभी मासिक १५० रुपैयाँ मात्र पर्नेछ । उनीहरुले भिडियोकोनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी पनि पाउनेछन् । ३२ इन्चको टीभीको मूल्य मात्र १३ हजार २७३ पर्नेछ भने ४३ इन्चको स्मार्ट टिभीको मुल्य मात्र २५ हजार ६६३ पर्नेछ । ग्राहक हरुले बजारको मूल्य भन्दा ५०५ सम्म कम मूल्यमा यो बन्डल अफर पाउन सक्ने क्लास्सिक टेकले बताएको छ ।

वाई–फाई नेपाल

इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ बुधबारदेखि सुरु भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको हो । यसको अर्थ यसअघि ३० एमबीपीएस इन्टरनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबीपीएस प्याकेजकै शुल्क कर बाहेक वार्षिक चार हजार, अर्धवार्षिक २१०० रुपैयाँ अथवा त्रैमासिक ११०० रुपैयाँ तिरेर नवीकरण गर्न सक्नेछन् ।

वार्षिक नवीकरण गर्दा ५० एमबीपीएसका लागि कर बाहेक मासिक ३३३ रुपैयाँ मात्र पर्न आउँछ । तर ५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्न वार्षिक ५ हजार ५ सय रुपैयाँ (करबाहेक लाग्नेछ । जसमा राउटर, तार र जडान शूल्क समेत जोडिएको छ । यही इन्टरनेट प्याकेज पहिलो पटक लिँदा छ महिनाका लागि ३६०० रुपैयाँ र तीन महिनाको ३१०० रुपैयाँ पर्नेछ ।

त्यस्तै वाईफाई नेपालले ८० एमबीपीएसको नयाँ प्याकेज समेत ल्याएको छ । जसअन्तर्गत ७ हजार ५ रुपैयाँ (कर बाहेक) मा एक वर्षका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रितेशराज सिंह श्रेष्ठले बताए । साथै प्रयोगकर्ताले नवीकरणका लागि न्यूनतम तीन महिनाको शुल्क तिर्नुपर्ने व्यवस्था मिलाइएको छ । ५० एमबीपीएसको प्याकेज नवीकरणका लागि प्रयोगकर्ताले वार्षिक चार हजार रुपैयाँ (कर बाहेक) तिर्नुपर्नेछ । त्यसैगरी ८० एमबीपीएस प्याकेज नवीकरण गर्न वार्षिक ६ हजार रुपैयाँ (कर बाहेक) तिरे पुग्छ ।

यीबाहेक नेपालमा इन्टरनेट सेवा प्रदायकको रुपमा सेवा प्रदान गरिरहेका नेपाल टेलिकम, सुविसु, डिसहोम फाइबर नेट, सिजी नेट, टेक माइन्डसलगायतले हालसम्म दशै अफर भनेर नयाँ योजना सार्वजनिक नगरेपनि पहिलदेखि नै सञ्चालनमा रहेका विभिन्न अफरलाई भने जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL