Logo

एमडीएमएसको सफ्ट लन्च बिहीबार, आइएमईआई दर्ता नभएका मोबाइल ब्लक गर्ने तयारी

एमडीएमएसको सफ्ट लन्च बिहीबार, आइएमईआई दर्ता नभएका मोबाइल ब्लक गर्ने तयारी



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को सफ्ट लन्च गर्ने तयारी गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार पहिले घोषणा गरेअनुरुप नै आगामी बिहीबार उक्त प्रणालीको सफ्ट लन्च हुन लागेको हो ।

यसअघि करिव ४ बर्ष अघि नै प्राधिकरणले नेपालमा हुने अवैध मोबाइलको आयात रोक्नका लागि एमडीएमएस प्रणाली लागु गर्ने योजना बनाएको थियो । कोरोना महामारीलगायतका विविध कारणले विदेशबाट ल्याउनुपर्ने उपकरण नै समयमा ल्याउन नसकिएपछि यसको कार्य प्रभावित भएको थियो ।

अब भने यसका सफ्टवेयर र हार्डवेयरका उपकरणहरु नेपाल आएर जडान भइसकेकाले बिहीबार अर्थात भदौ ३० मै सफ्ट लन्च गर्ने तयारी भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । उनका अनुसार हाल चावहिलमा रहेको भवनमा उपकरणहरु जडान भईसकेका छन् । तर, यसका लागि आवश्यक डाटा सेन्टर भने हालसम्म आइनसकेका कारण हाल एमडीएमएसका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्र नेपालको गर्भमेन्ट इन्टिग्रेटेड डाटा सेन्टर (जीआइडीसी)लाई प्रयोगमा ल्याईने छ ।

तर, प्रणालीलाई फुल फ्लेजमा भने कहिलेदेखि संचालनमा ल्याउने भन्ने प्रश्नमा उनले त्यसको उत्तर पनि सफ्ट लन्चकै दिन अनाउन्स गर्ने बताए । सफ्ट लन्चका दिन प्राधिकरणले विदेशबाट आएका तर, आइएमईआई दर्ता नभएका केही मोबाइललाई ब्लक गरेर लाईभ देखाउने तयारी रहेको अध्यक्ष खनाल बताउँछन् । ‘हाल उक्त प्रणाली परीक्षणकै चरणमा छ,’ उनले भने, ‘सफ्ट लन्च भइसकेपछि पनि केही अवधिसम्म यो परीक्षणकै क्रममा हुनेछ र त्यसपछि मात्रै फुल फ्लेजमा संचालनमा आउनेछ ।’

लामो समयदेखि मोबाइल आयातकर्ताहरुले प्राधिकरणलाई सकेसम्म चाँडो एमडीएमएस प्रणाली स्थापना गर्ने दबाव दिँदै आएका छन् । सोहीअनुसार प्राधिकरणले पनि ‘हुन्छ’ भन्ने आश्वासन दिदै आएपनि उक्त प्रणाली स्थापना हुन लामो समयम लागेको हो । अघिल्लो महिना मोबाईल आयातकर्ताहरुले एमडीएमएस सम्बन्धी कार्यक्रमको आयोजना गरेका थिए । उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष खनालले भदौ ३० भित्रै एमडीएमएस प्रणाली संचालनमा ल्याउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार प्राधिकरणले यसको सफ्ट लन्च गरेर आईएमईआई दर्ता नभएका मोबाइलमा कडाई गर्न लागेको हो ।

एमडीएमएसलाई खासगरी अवैध र चोरीका मोबाईल नियन्त्रण गर्ने अस्त्रको रुपमा लिइएको छ । नेपालमा खपत हुने प्राय मोबाइलहरु अवैध मार्केटबाट आउने गरेको मोबाइल आयातकर्ताहरु बताउँछन् । उनीहरुका अनुसार नेपालमा भित्रिने ७० प्रतिशत मोबाइलहरु अवैध बाटोबाट आउने गरेका छन् । विस २०७६ सालमै चर्चा गरिएको मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) हालसम्म संचालनमा नआएको भन्दै महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले पनि कमजोरी औंलयाएको थियो ।

हाल प्राधिकरणले एमडीएमएस प्रणाली राख्नका लागि चावहिलमा प्रशासनिक भवन बनाएको छ । उक्त भवनमा नै प्रणालीका केही हार्डवेयर र व्यवस्थापन टिम राखिएको छ । उक्त भवनमा राख्ने भनिएको डाटा सेन्टर निर्माणका लागि भने भेन्डरले डाटा सेन्टरका लागि आवश्यक उपकरण अझै नल्याइसकेको प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL