Logo

अरुण तेस्रो जलविद्युत आयोजनाको सव–कन्ट्राक्टर ‘पटेल इन्जिनियरिङ कम्पनी’ले साढे ६ करोड दिएन, नेपाली पेटी ठेकेदारको रुवाबासी

अरुण तेस्रो जलविद्युत आयोजनाको सव–कन्ट्राक्टर ‘पटेल इन्जिनियरिङ कम्पनी’ले साढे ६ करोड दिएन, नेपाली पेटी ठेकेदारको रुवाबासी



काठमाडौं । भीम कर्णाली हाइड्रो कन्ट्रक्सन कम्पनीको सञ्चालक कालिकोटका दिनेशबहादुर शाहीले पटेल इन्जिनियरिङ कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएको खुलासा गरेका छन् । उनले अरुण तेस्रो जलविद्युत आयोजनाको ठेक्का पाएको पटेल इन्जिनियरिङ कम्पनीबाट आफूले पेटी ठेकेदारको रुपमा काम गरेको र सो कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएर बर्बाद पारेको खुलाएका हुन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी शाहीले आफ्नो समस्याबारे प्रधानमन्त्री, गृहमन्त्री तथा ऊर्जा मन्त्रालयमा हारगुहार गर्दा पनि कतैबाट राहत नपाएको रुदै गुनासो पोखे । उनले भने,“सबै मन्त्रालयले यसमा हामी केही गर्न नसक्ने भन्दै पन्छिएर मलाई आफै समस्या सल्टाउन उल्टै सल्लाह दिए ।” शाहीले जिल्ला प्रशासन कार्यालय संखुवासभाले ३÷४ पटक दुवै पक्षलाई बोलाएर कागज गरेपनि कम्पनीले कार्यान्वयमा फिटिक्कै चासो नदिएको सुनाए । उनले भने,“पुस महिनामा कागज गरेर ३ कित्तामा दिन्छु भनेको हो, आजसम्म दिएको छैन । संखुवासभाका सबै वृद्धिजिवीहरुलगायत हाइड्रोपावरको अध्यक्षलाई पनि सबै बताए तर कसैले केही गरेनन् ।” उनले संखुवासभाको प्रमुख जिल्ला अधिकारीले सरकारको विषय भएकोले आफुले गर्न नसक्ने बताएको उल्लेख गरे ।

उनले साथीहरुसँग पैसा लिएर काम अघि बढाएको उल्लेख गर्दै आफुले साढे ३ करोड रुपैयाँ तिर्नुपर्ने बताए । पट्टेल कम्पनीले पैसा माग्दा आज, भोलि दिन्छु भन्दै आफुलाई झुलाउँदै गएको उनको भनाइ थियो । आफुले तिर्नुपर्ने रकम दिन साथीहरुलाई चेक दिएको सुनाउँदै सोही चेक बाउन्स भएपछि आफु प्रहरीकोमा जान परेको समेत उनले बताए । आफुले कन्ट्रयाक पेटी ठेकेदारी काम गरेको उल्लेख गर्दै पैसा तिर्नुपर्नेहरुले धम्की दिन थालेको बताए ।

शाहीले भने,“साथीहरुले फोन गर्नुहुन्छ, नउठाए मेसेन्जरबाट धम्की दिनुहुन्छ, फोन उठाए फोनबाटै धम्की दिनेगरेका छन्, कतै जाने ठाउँ नभएर मिडियामा आएको हुँ । चेक बाउन्स भएपछि प्रहरीले २७ गतेसम्म पैसा भुक्तान नगरे जेल जानुपर्ने भनिरहेको छ । कसरी तिरु खै मैले ?’ उनले आफु प्रेसरको बिरामी भएको समेत सुनाए । शाहीले राज्यलाई मात्रै राजस्व तिर्न १ करोड ७ लाख रहेको रुदै सुनाए । पटेल कम्पनीले खुलेआम ‘तेरो पैसा दिन्न’ भनेको उनले सुनाए ।

शाहीका आफन्त अनिल योगीले पटेल कम्पनीले शाहीलाई ६ करोड रुपैयाँ नदिएर जेल जान बाध्य बनाउन खोजेको टिप्पणी गरेका छन् । शाहीले प्रधानमन्त्री कार्यालय देखि विभिन्न निकायमा गुहार माग्दा पनि अहिलेसम्म पैसा नपाएको उनले बताए । योगीले विदेशीलाई ठेक्का दिएर नेपालका पेटी ठेकेदारहरुले सास्ती पाएको भन्दै गुनासो गरे ।

संखुवासभाको मकालु गाउँपालिकामा अवस्थित रहेको अरुण तस्रो जलविद्युत आयोजनाको क्षमता ९ सय मेगावाट रहेको छ । आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब रुपैयाँ रहेको र निर्माण कार्य ५ वर्षमा सकिने जनाइएको छ । नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा आयोजनाको शिलन्यास गरेका थिए । भारतको सतलज हाइड्रो कम्पनीले आयोजनाको ठेक्का पाएको छ । कम्पनीले अनुमति अनुसार २२५ मेगावाट क्षमताको ४ वटा टर्भाइन मार्फत ९ सय मेगावाट उत्पादन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL