Logo

रोकिएको कोरोना बीमाको भुक्तानी : मन्त्रालयले थाल्यो रकम निकासाको तयारी, कहिलेसम्म पाउँलान बीमितले ?

रोकिएको कोरोना बीमाको भुक्तानी : मन्त्रालयले थाल्यो रकम निकासाको तयारी, कहिलेसम्म पाउँलान बीमितले ?



काठमाडौं । गत सोमबार बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले एक कार्यक्रममा १ हप्ताभित्रै कोरोनाको दावी भुक्तानीको रकम पाइने बताएका थिए । अर्थमन्त्रालयले सोही अनुसारको आश्श्वासन दिएपछि यस्तो अभिव्यक्ति दिएका अध्यक्ष सिलवाललाई हालसम्म पनि रकम निकासा नभएपछि अप्ठ्यारो पारेको छ । अध्यक्षको उक्त अभिव्यक्तिले बीमा गरेको लामो समयसम्म भुक्तानी नपाएका बीमितलाई अब बीमा रकम पाइन्छ भन्ने केही आशा जागेको थियो । तर, सिलवालले दाबी गरेको एकहप्ता हिजो पुगेपनि मन्त्रालयले रकम निकासा गरेको छैन् र बीमितले दाबी भुक्तानी पाएका पनि छैनन् ।

विस २०७७ सालमा कोरोना महामारी विश्वसँगै नेपालमा पनि छिटफुट देखिन थालेपछि बीमा समितिले विश्वमै कहीँ नभएको कोरोना बीमा मापदण्ड जारी गरेको थियो । जसमा ंप्रतिव्यक्ति ५० हजार र १ लाख रुपैयाँको बीमा गर्न सकिने सुविधा थियो । यसरी बीमा भएपछि त्यसको दावी भुक्तानीका लागि भने जिम्मेवारी बाँडफाँड गरिएको थियो । जसमा १ अर्ब रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनीले, १ अर्बदेखि २ अर्बसम्मको पुनर्बीमा कम्पनीमार्फत, २ देखि साढे २ अर्बसम्मको भुक्तानी महाविपत्ती पुलमार्फत, साढे २ अर्बदेखि साढे ३ अर्बसम्म बीमा समितिमार्फत र ३ अर्ब माथिको भुक्तानी नेपाल सरकारले व्यहोर्ने उल्लेख थियो ।

हालसम्म परेको कोरोना दावी भुुक्तानीका लागि बीमा कम्पनीदेखि बीमा समितिले समेत केही रकम भुक्तानी गरिसकेपनि सरकारको तर्फबाट हुनपर्ने भुक्तानी भने नभएपछि बीमितले समयमै भुक्तानी नपाएका हुन् । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १५ अर्ब ४२ करोड २३ लाख रुपैयाँ कोरोना बीमावापत दाबी परेको छ । त्यस मध्ये ५१ हजार ६८७ वटा दाबी मार्फत ४ अर्ब ९८ करोड रुपैयाँ भुक्तानी भईसकेको छ ।

कुल दाबी रकम १० अर्ब ४४ करोड रुपैयाँ बराबरको १ लाख १३ हजार ३ सय ९० वटाको भुक्तानी अझै बाँकी छ । बाँकी रहेको उक्त रकम सरकारले भुक्तानी गर्नुपर्ने भएपनि १ बर्षभन्दा बढी समय वित्दासम्म भुक्तानी नभएको हो । यसले एकातिर बीमा गरेपछि दावी भुक्तानी पाउने सुविधाबाट बिमित बन्चित भएका छन् भने अर्काेतर्फ बीमाप्रतिको विश्वास नै हराएको समितिको भनाई छ ।

यता बीमा समितिले बेलाबेलामा सरकारले भुक्तानी गर्नुपर्ने रकम निकासा गर्न पहल गरिरहेको भएपनि अर्थमन्त्रालयले सुनुवाई नगरेको समितिका प्रवक्ता राजुरमण पौडेल बताउँछन् । सरकारले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरेको खण्डमा बीमा कम्पनीले बीमितको रकम भुक्तानी गर्ने थिए । तर, सरकारले रकम निकासा नै नगरिदिँदा भने समस्या आएको उनको भनाई छ ।

‘म मन्त्रालय पुगेर आएँ अध्यक्षज्युले एक हप्ताभित्रै अर्थमन्त्रालयबाट रकम निकासा हुन्छ भन्नुभएको थियो, तर त्यसको खास्सै तयारी देखिन,’ पौडेलले भने, ‘ मन्त्रालयले हुन्छ भन्छ तर कार्यान्वयन नगर्दा समस्या आएको हो ।’ हालसम्म बीमा समितिलाई मन्त्रालयले बजेट नै नपुगेकाले रकम निकासा गर्न नसकेको बताउँदै आएको छ । गत महिना मात्रै अर्थसचिव कृष्णहरि पुस्करले पनि अब चाँडै कोरोना बीमाको दावी भुक्तानीका लागि रकम निकासा हुने बताएका थिए ।

सोहीअनुसार हाल अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीका लागि केही रकम निकासा गर्ने तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । उनका अनुसार यसपल्ट मन्त्रालयले कोरोना बीमाको केहि रकम मात्रै निकासा गर्ने प्रक्रिया अघि बढाईसकेकाले यसै हप्ताभित्र उक्त रकम निकासा हुनसक्ने सम्भावना छ ।

‘विभिन्न कारणले ढिलाई भएको यसको प्रक्रिया अघि बढिसकेकाले सकेसम्म यसैहप्ताभित्र केहि रकम निकासा हुन सक्नेजस्तो देखिन्छ,’ काफ्लेले भने, ‘सबै रकम निकासा नभएपनि केहि रकम भने निकासा गर्ने तयारी छ ।’ यता मन्त्रालयले यसै हप्ताभित्र १ अर्ब रुपैयाँ निकासा गर्नका लागि मन्त्रिपरिषदका प्रस्ताव पठाउने तयारी गरिरहेको बुझिएको छ । सरकारले भुक्तानी गर्नुपर्ने रकमको केही अंश भएपनि निकासा गरेपछि बीमाप्रतिको विश्वास हराउनबाट जोगिने बीमा समितिका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL