Logo

चाडपर्वकै मुखमा चिनियाँ बजार बन्द, अर्बौको अर्डर समयमै नआइपुग्ने त्रासमा नेपाली व्यवसायी

चाडपर्वकै मुखमा चिनियाँ बजार बन्द, अर्बौको अर्डर समयमै नआइपुग्ने त्रासमा नेपाली व्यवसायी



काठमाडौं । नेपालीहरुको महान चाड मानिने दशैं, तिहारलगायत पर्वको रौनक विस्तार सुरु हुँदैछ । चाडपर्वको समय नेपालमा प्राय सबै व्यवसायका लागि सबैभन्दा उत्साहको समय मानिन्छ । योबेला देशका सबै शहरबजारमा सबैभन्दा बढी व्यापार हुन्छ । धेरैजसोले दशैं तिहारकै अवसर पारेर नयाँ लुगादेखि घरसम्म जोड्ने पनि गर्दछन् ।

laxmi

चाडपर्वको समय शुरु हुनुअघि काठमाडौंको व्यापारिक मुटु मानिने असर, न्युरोड, खिचापोखरीलगायतका क्षेत्रहरुमा रहेका रेडिमेड कपडा, जुत्तालगायतका होलेसल बजारमा देशैभरबाट आएका व्यवसायीको भीड हुन्छ । यो समयमा होलसेल व्यापारीहरुले वर्षौभरि हुने व्यापार केही हप्तामा गर्ने गर्छन । जसका लागि होलसेल व्यापारीहरुले यो समयमा अर्बौ रुपैयाँको सामान चीनबाट आयात गर्ने गर्छन ।

पछिल्ला २ वर्ष कोरानका कारण देशैभरको बजार प्रभावित हुँदा निराश भएका होलसेलदेखि खुद्रा व्यापारीहरुसम्मले यसपटकको चाडपर्वको सिजनमा उल्लेख्य व्यापार हुने आशा राखेका छन् । अघिल्ला साढे २ बर्ष लगातार कोरोना महामारीका कारण घरभित्रै थुनिएर मन खोलेर सपिङ गर्न नपाएका उपभोक्ताले यसपल्ट मन खोलेर सपिङ गर्ने आशा गरेका व्यापारीहरु सोहीअनुसारको तयारी पनि गरिरहेका छन् । तर, नेपालले रेडिमेड कपडाको मुख्य आयात बजारका रुपमा रहेको चिनियाँ बजारमा कोरोनाका कारण पुनः लकडाउनको अवस्था आएसँगै व्यवसायीमा त्रास बढेको छ । चिनियाँ ठूला र मुख्यगरी वस्तु निर्यात गर्ने संघाई, सेन्जेन र नेपालमा आउने बाटो पर्नै तिब्बतका धेरै क्षेत्रहरुमा हाल कोरोनाका कारण लकडाउन को अवस्था छ । हिजोमात्रै विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिकल वस्तुको बजार मानिने सेन्जेनमा लकडाउनको घोषणा गरिएको छ ।

केहिदिन अघिदेखि तिब्बतका विभिन्न क्षेत्रहरुमा एक दिनमा एक जना एकपटक मात्रै घरबाट बाहिर आएर अत्यावश्यक वस्तु खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तै चीनबाट विश्वभर हुने निर्यातका लागि सबैभन्दा ठूलो पोर्ट मानिने संघाईमासमे लकडाउनको घोषणा गरिएको छ । चीनका यी क्षेत्रहरुमा लगातार बढिरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण हाल चिनियाँ अधिकारीहरुले भटाभट लकडाउनको घोषणा गरिरहेका छन् । यसले विश्व बजारलाई नै असर पुर्याउने त छँदैछ, चाडपर्वका लागि नेपाली व्यवसायीले गरेको अर्बौ रुपैयाँको अर्डर समयमै नेपाल नआइपुग्ने चिन्ता व्यवसायीमा बढाएको छ ।

चाडपर्वकै मुखमा सामान आउन नसके नेपाली उपभोक्तालाई यसपटकको दशैं महँगो पर्ने व्यवसायीहरु बताउँछन् । खासगरी चीनतर्फका तातोपानी, रसुवालगायतका नाकामा २०७२ सालको भूकम्पदेखि नै न राम्रोसँग वस्तु आयात हुन सकेको छ न निर्यात नै । तर, पुनः ल्हासामा देखिएको कोरोनाका कारण नाकाहरु हाल बन्द गरिएको छ । यसरी नाका बन्द हुँदा स्याउ, लत्ता कपडा, लसुन, विद्युतीय सामग्रीलगायत गरि अर्बाैको सामान ल्हासातर्फ रोकिएको छ ।

चिनियाँ कडा नीतिकै कारण नेपालमा आउनुपर्ने वस्तु पारीपट्टी नै रोकिँदा नेपाली व्यवसायीले दैनिक करोडौं घाटा व्यहोर्नुपरिरहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । चाडपर्वकै मुखमा चिनियाँ नाकाहरु बन्द भईदिँदा दशैं र तिहारका लागि आवश्यक वस्तुहरुको उपलब्धतामा पनि केहि असर पर्ने उनको भनाई छ । ‘चिनियाँ कडा नीतिका कारण थुप्रै नेपाली वस्तुहरुका कन्टेनरह पारिपट्टि नै रोकिएको भन्ने खबर त आएको छ,’ उनले भने, ‘यसले एकातिर व्यवसायीलाई घाटा व्यहोर्न बाध्य बनाएको छ भने अर्कातिर उपभोक्तालाई प्रत्यक्ष मूल्य र वस्तु उपलब्धतामा असर पार्नेछ ।’

उनले यसका लागि व्यापारिक वार्ताले मात्रै नपुग्ने भएकाले सरकार सरकारबीच नै छलफल गर्नू आवश्यकता रहेको बताए । ‘हामीले व्यापारिक तवरले विभिन्न छलफलहरु अघि बढाएका पनि हौं, तर, त्यसका लागि बेईजिङबाटै केहि निर्णय आउनुपर्छ भन्ने मान्यता रहेछ,’ उनले भने, ‘केहि नभएपनि नेपाल सरकारले बेईजिङमै पहल गरेर हाल कुहिने वस्तुहरुका कन्टेनर भने छोडाउने प्रयास गर्नुपर्ने थियो ।’
हाल केहि कन्टेनरहरु भने ग्वान्झाउ पोर्टबाट नेपाल ल्याउने गरी डाईभर्ट पनि गरिसकिएको उनको भनाई छ । नेपाल नजिकै पुगिसकेका कन्टेनरहरु पुनः फर्काएर समुद्री बाटोबाट ल्याउँदा ढुवानी खर्च दोहोरो लाग्ने र नेपालमा पुग्दासम्म मूल्य बढ्ने उनले बताए ।

यता नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौड्याल भने तिहारकै बेलामा साना विद्युतीय उपकरण र बत्तिहरुको अभाव हुने हो की भन्ने चिन्ता पैदा भईसकेको बताउँछन् । उनका अनुसार नाकामा हालसम्म यस्ता व्यवसायीका कति कन्टेनर रोकिएका छन् भन्ने एकिन नभएपनि केहि चिन्ता भने पैदा भएको छ । अझ विद्युतीय व्यापारका लागि ठुलो मानिने सेन्जेनमा नै लकडाउनको घोषणा भएपछि त्यसले झन चिन्ता थपिदिएको उनको भनाई छ ।

न्यूरोडमा रेडिमेड कपडाको होलसेल पसल सञ्चालन गरिरहेका घनश्याम रेग्मी (रमेश) भन्छन– ‘एकातिर चिनियाँ नाकामा नेपाली व्यवसायीहरुल व्यहोर्ने दुख र त्यसमाथि चीनमा बढ्दै गएको कोरोनाका त्रासका कारण पुनः समस्या नदोहोरिएला भन्न सकिदैन ।’

खासगरी चीनबाट आउने विद्युतीय साना सामग्रीहरु जस्तै तिहारका लागि आवश्यक झिलिमिली बत्ती, विजुलीका बल्वहरुलगायत तातोपानी र रसुवागढी नाकाबाट पनि आउँछन् । एकातिर यी दुई नाका बन्द छन् भने अर्कातिर चीनको सबैभन्दा ठुलो पोर्ट मानिने सांघाई पनि बन्दप्राय छ । पछिल्लो समय नेपालमा विद्युतीय सामग्रीको व्यापार पनि न्युन छ । तर, दशैं र तिहासको अवसरमा भने यस्ता वस्तुहरु अधिक विक्री हुने गर्छन् । यस्तै बेलामा चिनियाँ बजारहरु नै बन्द भएपछि वस्तु उठाउन, लोड गर्नदेखि ढुवानीसमेत गर्नमा अप्ठ्यारो अवस्था पैदा हुने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL