Logo

नेपालमा सुनको माग आपूर्तिभन्दा चार गुणा बढी, कसरी धानिदैंछ बजारको माग ?

नेपालमा सुनको माग आपूर्तिभन्दा चार गुणा बढी, कसरी धानिदैंछ बजारको माग ?



काठमाडौं । यतिबेला नेपालमा नारीहरुको बिशेष पर्व हरितालिका तीजको रौनक छ । महिलाहरुल यही बेला सुनका गरगहना नयाँ बनाउने, नयाँ लुगालगायत खरिद गर्न व्यस्त छन् । तीजलाई नेपाली बजारमा सुनको सिजन सुरु समय पनि भन्छन सुन व्यवसायीहरु । खासगरी तीज सुरु भएपछि सुरु हुने धेरैप्रकारका ठूला चाडपर्व, विहेबारीलगायत पुषसम्म जारी रहन्छ । यो अवधिमा धन जम्मा गर्ने, बिहे गर्ने र नयाँ गरगहनासमेत बनाउने मान्यता रहिआएकाले सुन चाँदीको विक्री अन्य समयको तुलनामा बढी हुन्छ । जसलाई सुन व्यवसायीहरु सुनको सिजन मान्छन् । यो बेला नेपालमा दैनिक २० देखि ४० किलोसम्मको सुनको माग हुन्छ ।

laxmi

नेपाली बजारमा सुनको माग अत्याधिक भएपनि सरकारले भने प्रतिदिन जम्मा १० किलोमात्रै सुन ल्याउने व्यवस्था गरेको छ । जसले व्यवसायीलाई सँधै पिरलो पारिरहन्छ । तर, पनि व्यवसायीहरु बजारको माग धानिरहेका छन्, सुनको अर्डर गर्नेले कहिल्यै रित्तो हात फर्कनुपरेको छैन । व्यवसायीले सुनको माग पुर्याएकै छन् ।

कसरी धानिदैछ बजारको माग ?

सरकारले निश्चित परिमाणमा मात्रै सुन भित्र्याउन दिएपनि व्यवसायीहरुले पुरानो स्टकमा रहेको र साटफेर गर्न आउनेबाट जम्मा भएको सुनले बजारको माग जेनतेन धानिरहेको बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार तीजको अवसरमा बजारमा सुनको माग दैनिक २० देखि २५ किलोको छ । तर, सरकारको कोटो १० किलोको मात्रै रहेकाले अहिलेको माग धान्नै धौ–धौ परेको उनको भनाई छ । ‘तीजको बेलामा २० देखि २५ किलो सुनको माग दैनिक छ,’ उनले भने, ‘बजारमा माग अनुसार सुनको आपुर्ति गर्न नपाएपछि सुन व्यवसायीलाई माग धान्न साह्रै मुस्किल परेको छ ।’

यता महासंघका भूतपूर्व अध्यक्ष मोहन सुनार पनि केही पुरानो रहेको स्टकको सुन, कसैले व्यवसायीलाई फिर्ता बेचेका गरगहना, साटफेर गरिएको सुनलगायतबाट माग धान्नुपर्ने बाध्यता रहेको बताउँछन् । सुन व्यवसायीहरुले पछिल्लो ७ बर्षदेखि मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग सुन आयातको परिमाण बढाउन आग्रह गर्दै आएका छन् । जसमा महासंघले भने बिशेष पहल गर्दै सुनको सिजनमा दैनिक १५ देखि २० किलो र सिजनमा दैनिक ३० देखि ४० किलो सुन आयात गर्न पाउनुपर्नै माग गरिरहेको छ । विस २०७२ सालदेखि नै सुन आयातको परिमाण बढाउन माग गरिरहेको भएपनि हालसम्म कुनै निकायले व्यवसायीको मागको सुनुवाई नगरेको सुनार बताउँछन् ।

नेपाल राष्ट्र बैंकले कोरोना महामारीको बेलामा आयात नियन्त्रण गर्नका लागि भन्दै सुन आयात दैनिक २० किलोबाट घटाएर १० किलोमा पुर्याएको थियो । त्यसपश्चात निम्तिएको आर्थिक अव्यवस्थाका कारण राष्ट्र बैंकले उक्त निर्णयलाई हालसम्म जारी राखेको छ । अझै देशको आर्थिक अवस्था केहि कमजोर भएकाले राष्ट्र बैंकले सुनको कोटा नबढाउने अवस्था रहेको व्यवसायीहरुको छ । ‘हाम्रो माग त बार्षिक १० हजार ९ सय किलोको हो, पहिल्यैदेखि यही माग गर्दै आईरहेका छौं,’ उनले भने, ‘अब सुनको सिजन सुरु त भयो सुनको आपुर्तिको कोटा भने आर्थिक अवस्थाका कारण खुल्ला जस्तो छैन ।’

अघिल्ला बर्षको तुलनामा घट्यो माग

यसपल्टको तीजमा अघिल्ला बर्षको तुलनामा सुनको माग केही घटेको छ । महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार अघिल्ला बर्षहरुमा दैनिक ३० देखि ३५ किलोको माग हुने गरेको सुनको माग यसपल्ट भने घटेर दैनिक २० देखि २५ किलोसम्म पुगेको हो ।
खासगरी देशको आर्थिक अवस्था र यसले निम्त्याएको आर्थिक संकुचनका कारण पनि धेरैजसोले सुन खरिद घटाएको उनको अनुमान छ । ‘देशको आर्थिक अवस्था कमजोर भएसँगै व्यक्तिहरुसँग पनि पैसा कम भयो होला,’ उनले भने, ‘यसको प्रत्यक्ष असर सिजनमै हुने सुनको व्यापारमा परेको छ ।’ हाल नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार देखि ९५ हजार रुपैयाँको आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL