Logo

यसपटकको दशैंमा गाडीभाडा बढ्ला कि घट्ला ? के छ यातायात व्यवसायीको तयारी

यसपटकको दशैंमा गाडीभाडा बढ्ला कि घट्ला ? के छ यातायात व्यवसायीको तयारी



काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैं सम्मुख आइपुगेको छ । हरेक बर्षको दशैंमा सार्वजनिक यातायात व्यवसायीहरुले गाडी भाडा बढाउँदै आएका छन् । अघिल्ला बर्षका दशैंहरुमा आफ्ना माग पुरा नभएसम्म दशैंका लागि अग्रिम टिकट बुकिङसम्म नखोल्ने अडान राख्ने गरेका व्यवसायीले यसपटक सहजै रुपमा टिकट बुकिङ खुला गर्लान कि फेरि भाडावृद्धिको बखेडा झिक्लान भन्नेमा धेरैको चासो छ । तर, यसपटक भाडा बढाउन जोड नदिने यातायात व्यवसायीले संकेत दिएका छन् ।

laxmi

सवारी भाडासम्बन्धमा सरकारले लागू गरेको व्यवस्था नै स्वागतयोग्य भएकाले यसपल्ट भाडा बढाउन दवाव नदिने बताउँछन् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला । उनका अनुसार सरकारले हाल सार्वजनिक यातायातको भाडा स्वचालित रुपमा समायोजन हुने व्यवस्था मिलाएको छ । सोहीअनुसार दशैंमा तेलको मूल्य बढेमा बढ्छ, घटेमा घट्ने सम्भावना रहेको उनको भनाई छ ।

‘खासगरी अघिल्ला बर्षहरुमा व्यवसायीलाई चाडपर्वकै बेलामा भाडादर बढाउने गरि वार्गेनिङ गर्ने गरेको आरोप लाग्दै आएको थियो, हामीले सरकारलाई भाडादर स्वचालित रुपमा समायोजन मात्रै गरिदिन भनेका थियौं,’ उनले भने, ‘हाल सरकारले धेरै राम्रो व्यवस्था गरिदिएको छ अन्तरराष्ट्रिय मूल्य अनुसार नेपाल आयल निगमले तेलको मूल्य घटाएमा यसपल्ट दशैंमा भाडा घट्न पनि सक्छ ।’

गत बर्ष असार २७ गते बसेको मन्त्रिपरिषद बैठकले नै सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतले बढाएर पुनः तेलको मूल्य अनुसार नै स्वचालित रुपमा समायोजन हुने व्यवस्था मिलाएको थियो । त्यसबेलासम्म २०७२ सालयता भाडादर वैज्ञानिक रुपमा बढेको थिएन । सरकारमा गएका विभिन्न व्यक्तिहरुले आफ्नो स्वार्थअनुरुप भाडा नबढाएर व्यवसायीहरुलाई मारमा पारेको अनुभव सुनाउँछन् सिटौला ।

उनका अनुसार गत बर्षको असारमा भाडा एकैपटक २८ प्रतिशतले बढाएपछि यसले सबैजसो फ्याक्टरको शुल्कलाई मध्यनजर गरेको छ । अर्थात नेपालमा सार्वजनिक सवारीसाधनको भाडादर घटबढ हुनुमा पेट्रोलियम पदार्थको मूल्य, बीमाशुल्क, कर, पार्टपुर्जाको मूल्य, सडक दस्तुरलगायत १३ फ्याक्टरले निर्धारण गर्दछ । भाडाको घटबढमा ३५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको मूल्यको हुन्छ भने ६५ प्रतिशत हिस्सा अन्य १२ फ्याक्टरको हुन्छ ।

यिनै बिषयलाई लिएर दशैंको अग्रिम टिकट बुकिङ खोल्न बेलामा यातायात व्यवसायीहरु भाडादर समायोजन गर्न भन्दै विभाग धाउने गर्दथे । यसपल्ट भने अन्य बिषयमा छलफल भएपनि भाडादरमा भने बार्गेनिङ नहुने यातायात व्यवसायी केन्द्रिय महासंघका महासचिव भरत नेपाल बताउँछन् । ‘सार्वजनिक सवारीसाधनको भाडादरमा ३५ प्रतिशत हिस्सा ओगट्ने तेलको मूल्य घटबढ भएमा मात्रै भाडादर आफै समायोजन् हुन्छ,’ उनले भने, ‘त्यसैले हाम्रो महासंघबाट यसपल्टको दशैंमा भाडादर बढाउने बिषयमा दबाव जारी हुँदैन ।’

हाल भाडादर स्वचालित रुपमा घटबढ भईरहेकाले दशैंको बेलामा भाडा बढाउन दवाव नदिईने उनले बताए । यता यातायात व्यवस्था विभागले पनि यसपल्ट दशैंमा भाडा व्यवसायीले भनेअनुसार नबढ्ने बताए । उनका अनुसार भाडादर तेलको मूल्यकै आधारमा घटबढ हुने भएपछि भाडादर स्वचालित रुपमा घटबढ हुन्छ । सोहीअनुसार उपभोक्तालाई र व्यवसायी दुबैलाई अप्ठ्यारो नपर्ने उनको भनाई छ । ‘हामीले तेलको मूल्यलाई नै आधार मानेर भाडादर समायोजना अटोमेटिक हुने व्यवस्था मिलाईदिएका छौं,’ उनले भने, ‘सोही अनुासर व्यवसायीहरुले चाडपर्वलाई नै देखाएर भाडादर बढाउन पाउनुहुन्न ।’ सरकारले तेलको मूल्य ५ प्रतिशतले घटबढ भएमा सोहीअनुसार सार्वजनिक यातायातको मूल्य पनि समायोजन हुने व्यवस्था गरेको छ ।

चुनावले प्रत्यक्ष असर पार्ने

यसपल्ट प्रदेश र संघीय चुनाव पनि दशैंपछि भएकाले सरकारमा भएको पार्टीले सकेसम्म गाडीको भाडा नबढाउने चलखेल खेल्नेछ । बरु पछिल्लो ३ पटकसम्म भारतबाट तेलको मूल्य घटेर आएपनि नेपालमा नघटाएको आयल निगमले चुनाव वरीपरी र दशैं ताका तेलको मूल्य एक्कासी घटाउने आँकलन गरिएको छ । यसका कारण दशैंको अवसरमा बरु गाडीभाडा घट्नसक्ने आकँलन पनि उत्तिकै गरिएको एक व्यवसायीले बताए ।

हालको सरकार चुनावी सरकार भएकाले पनि सकेसम्म दशैंमा गाडीभाडा नबढ्ने निश्चित छ । बरु तेलको मूल्य समायोजन भएपछि भने गाडीभाडा घटबढ् हुने निश्चित छ । अघिल्ला बर्षहरुको दशैंमा दशैं आउनु १ महिना अगावै सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खोल्ने गरिएकोमा यसपल्ट पनि सोही अनुसार हुने र यात्रुको सहजीकरणका लागि काम गरिने व्यवसायीहरु बताउँछन् । जसअन्तर्गत ट्राफिक व्यवस्थापन, टिकट विक्री दिन, यात्रु सहायता कक्षलगायतका कुराहरुको निर्णय हुन बाँकी नै छ । तर, सबैभन्दा मुख्य समस्या नै भाडादरको हुने भएपनि यसपल्ट भने त्यो समस्याले अगावै पार पाईसकेको सम्बद्ध व्यवसायीहरुले बताउँदै आएका छन् ।

नयाँ गाडी कमै थपिने

हरेक बर्षको दशैंमा यातायात व्यवसायीहरुले दशैंमा यात्रुको चाप बढी हुने भएपछि केहि हदसम्म नयाँ गाडीहरु थप गर्थे । तर, यसपल्ट भने नयाँ गाडी कमै थपिने व्यवासायीहरुले बताएका छन् । बैंकमा तरलता अभाव र कर्जा प्रवाह ज्यादै न्यून भएकाले यातायात व्यवसायीहरुले यसपल्ट नयाँ गाडी अघिल्ला बर्षहरुको तुलनामा कमै थप्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् ।

यस्तै पछिल्लो समय सरकारले यातायाताको क्षेत्रलाई उपेक्षा गरेर ध्वस्त भईसकेकाले पनि यो क्षेत्रमा लगानीको आकर्षण घटेको उनको भनाई छ । सोही अनुसार धेरैजसो यातायात व्यवसायीहरुले यसपल्ट पुरानै गाडीले काम चलाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL