Logo

अटो बजारमा आयात प्रतिवन्धको गम्भीर असर : शोरुममा शोका लागि पनि छैनन् गाडी, दशैंमा अभाव हुने निश्चित

अटो बजारमा आयात प्रतिवन्धको गम्भीर असर : शोरुममा शोका लागि पनि छैनन् गाडी, दशैंमा अभाव हुने निश्चित



काठमाडौं । सरकारले देशको अर्थतन्त्रमा दबाब सृजना भएको भन्दै लागु गरेको आयात प्रतिवन्धको सबैभन्दा ठूलो प्रभाव अटो बजारमा परेको छ । सरकारले विलासिताका वस्तुको सूचीमा समावेश सवारी आयातमा कडाई गरेपछि हाल सवारी आयात शुन्य जस्तै छ । जसका कारण देशभरका गाडी तथा मोटरसाईकल शोरुममा शो गर्नका लागि समेत सवारीसाधनको अभाव भएको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार हाल धेरैजसो गाडीका डिलरहरुकै शोरुममा गाडीको अभाव देखिन थालेको छ ।

laxmi

गाडी विक्रेताहरु गाडीकोे अभाव भएपछि शोरुममा राख्ने गाडी नहुँदा शोरुम बन्द गर्नुपर्ने अवस्था आउन लागेको बताउँछन् । विदेशबाट गाडी नै आउन रोकिएपछि शोरुममा शोकेसमा राख्ने गाडीको समेत भएको अध्यक्ष थापाले बिजखबरलाई जानकारी दिए । गाडी विक्रेताहरुले विदेशी निर्माता कम्पनीलाई नेपालमा विक्री सम्भावनाका आधारमा गाडी निर्माण गर्न अर्डर दिने गरेका थिए । तर, आगामी भदौ १४ पछि पनि आयात प्रतिवन्ध खुकुलो हुने निश्चित नभएपछि अर्डर दिनसमेत रोकिएको छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत बैशाख १३ गतेदेखि जीप, कार, भ्यान, टेलिभिजनलगायत १० वस्तुको आयातमा एलसी नखोल्ने निर्णय गरेको थियो । त्यसपश्चात पुनः गत साउन १ गतेः राजपत्रमा अर्काे सूचना जारी गर्दै उक्त आयात प्रतिवन्धलाई आगामी भदौ १४ सम्म लम्ब्याएको थियो । यसरी विलासिताका वस्तुको आयातमा लगाईएको प्रतिवन्धको सबैभन्दा ठुलो प्रभाव अटो क्षेत्रमा परेको नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् । उनका अनुसार अर्थतन्त्रलाई अप्ठ्रो परेको भन्दै लगाइएको आयात प्रतिवन्धले अर्थतन्त्रलाई झन अप्ठ्यारो पार्ने तथ्यलाई ख्याल नगर्दा अप्ठ्रो अवस्था सिर्जना हुन सक्ने देखिन्छ ।

उसो त सरकारले तास, टेलिभिजन, गाडी, मोटरसाइकल, कुरकुरे, मोबाईललगायतका वस्तुको आयातमा प्रतिवन्ध लगाएपनि व्यापारघाटामा भने सकारात्मक प्रभाव देखिएको छैन् । प्रतिबन्धका कारण बरु सरकारले पाउनुपर्ने जति राजस्व भने गुमाएको छ ।

निर्माता कम्पनीले अर्डर नै लिँदैनन्

नेपाली विक्रेताहरुले निर्माता कम्पनीसँग नेपालमा विक्री सम्भाव्यताका आधारमा नेपालका लागि सवारीसाधन बनाउन अर्डर दिने गरेका छन् । गत बैशाख १३ गतेसम्म अर्डर गरिएका र एलसी खोलिसकिएका गाडीहरु नेपालमा आइरहेपनि नयाँ अर्डर भने खास्सै नभएको एक व्यवसायीले बताए । उनका अनुसार नेपालका केहि गाडी विक्रेताहरुले गत साउन १ गतेदेखि आयातमा प्रतिवन्ध खुकुलो हुने अनुमानसहित निर्माता कम्पनीकहाँ एक महिना अघि नै अर्डर गरिसकेका थिए । तर, सरकारले आयातमा प्रतिवन्ध लम्ब्याएपछि अर्डर गरेर बनेका गाडीहरु आयात हुन नपाएपछि निर्माता कम्पनीले ति गाडी अन्तै डाईभर्ट गरे ।

हाल निर्माता कम्पनीहरुले नेपाली विक्रेताको अर्डर नै लिन छोडेका छन् । ‘हामीले करिव २ महिना अघि आयात प्रतिवन्ध खुकुलो हुने आशामा गाडी अर्डर गरिसकेका थियौं । सोहीअनुसार निर्माता कम्पनीहरुले गाडी निर्माण गरेका तयारी गरिसक्नुभएको थियो,’ व्यवसायीले भने, ‘तर, सरकारले प्रतिवन्ध लम्ब्याउँदा निर्माता कम्पनीले अर्डर क्यान्सिल हुनसक्नेृ भन्दै हाल पुर्ण रुपमा आयात प्रतिवन्ध नहट्दासम्म नेपाली अर्डर नलिने बताईरहेका छन् ।’

भदौ १४ पछि आयात खुलेपनि दशैंका लागि गाडी अभाव हुने

सरकारले हालको आयात प्रतिवन्ध आगामी भदौ १४ सम्म तोकेको छ । तर, त्यसपछि आयात प्रतिवन्ध खुकुलो भएमा पनि ग्राहकले भनेबमोजिम र रोजेअनुसार गाडी पाउने सम्भावना न्यून रहेको सम्बन्धित जानकारहरु बताउँछन् । नेपालले विदेशमा रहेका गाडी निर्मातासँग गाडीका लागि अर्डर गरेपछि पनि गाडी आउन लामो समय लाग्छ । त्यसपछि नेपालसम्म आइपुग्न, भन्सार छुटाउनलगायतका लागि कम्तीमा २ महिना लाग्ने भएपछि दशैंमा नयाँ गाडी पाउने ग्राहकको धोको पुरा नहुने देखिन्छ ।

सिजी मोटोकर्पका मार्केटिङ म्यानेजर करुण शाक्य पनि यो बर्षको दशैंमा नयाँ गाडी आउनेमा ढुक्क हुने अवस्था नरहेको बताउँछन् । उनका अनुसार कुनै–कुनै ब्राण्डका गाडीहरु अगाडि नै अर्डर र सबै प्रक्रिया पुरा गरेर आउन मात्रै बाँकी रहेका गाडीबाहेक अन्य नयाँ गाडीहरु प्राय कमै आउनेछन् । अझ भारतलगायतका देशहरुमा नयाँ लन्च भएका गाडीहरु पाउन त झन धेरै मुश्किल हुने अवस्था छ ।
तर, सिजीले आफ्नो शतप्रतिशत प्रयास गरेर दशैंमा ग्राहकका लागि गाडी उपलब्ध हुने व्यवस्था गर्ने तयारी गरेको उनी बताउँछन् ।

आयात प्रतिवन्ध खुल्ने आश छैन

गत बैशाख १३ गते उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत आर्थिक बर्षको असार मसान्तसम्म लागु हुने गरी आयातमा प्रतिवन्ध लगाएको घोषणा गरेको थियो । राष्ट्र बैंकले पनि व्यापारघाट उल्लेख्य बढेको, वैदेशिक मुद्रा संचितिमा चाप परेको भन्दै विलासिताका वस्तुको आयातमा केही कडाई गरिरहेको थियो । व्यापारी व्यवसायीहरुले प्रतिवन्धित वस्तुको आयात नयाँ आर्थिक बर्षको सुरुवातदेखि खुल्ने आश गरेका थिए । नयाँ आर्थिक बर्ष आउनु करिव १ हप्ता अघि सरकारले व्यापारी व्यवसायीहरुलाई आयात प्रतिवन्ध खुकुलो हुने भित्रि आश्वासन पनि दिएको थियो । तर, एक हप्तामै निर्णय परिवर्तन भएर यो प्रतिवन्ध लम्ब्याउने घोषणा भएपछि पुनः १४ भदौदेखि पनि खुल्नेमा व्यापारी व्यवसायी ढुक्क छैनन् ।

‘हामीलाई सरकारले नयाँ आर्थिक बर्ष आउन केही दिन अघि अब आयात प्रतिवन्ध खुल्छ भन्नेजस्तो कुरा गरेको थियो,’ एक व्यवसायीले भने, ‘तर, नयाँ आव लागेसँगै खुल्नुको साटो पुनः केही कुरामा कडाई गरी समय लम्ब्याइयो । यो अवस्था भदौ १४ पछि पनि सुधार होला जस्तो लाग्दैन ।’ सरकारले आयात प्रतिवन्ध लम्ब्याएसँगै मोटरसाइकल १५० सीसीभन्दा माथिको ल्याउन नपाइने र मोबाइल ३ सय डलरमाथिको ल्याउन नपाईने गरी थप कडाईसमेत गरेको छ ।

‘नाडा अटो शो’ स्थगित

सवारी आायतमा प्रतिबन्धकै कारण नाडाले आउँदो भदौ ७ गतेदेखि काठमाडौंमा तय गरेको नाडा अटो शो स्थगित गरिसकेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) कार्यसमितिको बैठकले सरकारले भदौ १४ गतेसम्म दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएपछि अटो शो स्थगित गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी नाडाका प्रतिनिधिमण्डलले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाइदिन आग्रह गरेको थियो। नाडा टिमले भदौ ७ गतेअघि नै प्रतिबन्ध हटाइदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको थियो। सरकारले भने आयात प्रतिबन्धलाई निरन्तरता दिएपछि नाडाले शो नै स्थगित गर्ने निर्णय गरेको थियो । नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँचदिने अटो शो भृकुटीमण्डपमा आयोजना गर्ने तयारीमा थियो।

प्रतिक्रिया दिनुहोस्
MBL