Logo

उपत्यकाको फोहर उठ्दै, महानगर भन्छ-आफ्नो जिम्मेवारी बहन गर्ने प्रयासमा छौ

उपत्यकाको फोहर उठ्दै, महानगर भन्छ-आफ्नो जिम्मेवारी बहन गर्ने प्रयासमा छौ



काठमाडौं । पछिल्लो समय बाटो अवरोधका कारण फोहर ब्यवस्थापनमा आएको समस्यामा केही सुधार आएको छ । विगत केहिदिनयता दैनिक ६० देखि ८० ट्रकमात्रै फोहर ब्यबस्थापन गर्न सकेको महानगरले बुधबार २ सय ट्रक फोहर बोक्ने गाडी ल्याण्डफिलतर्फ पठाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रबक्ता नबीन मानन्धरले बर्खामा आएकोे पहिरोले गरेको अवरोध र बाटो मर्मतका कारण केही समय फोहर ब्यवस्थापन पहिलेको तुलनामा नभएको तर, बुधबार २ सय ट्रक फोहर बोक्ने गाडी बञ्चरेडाँडातर्फ पठाइएको बताए । उनले १ हप्तासम्म फोहर नउठेको ठाउँमा अहिलेपनि केही समस्या रहेको भएतापनि अब फोहर उठन थालेको बताए ।
अहिले असन, भोटाहिटीलगायत क्षेत्रमा दैनिक रुपमा फोहर उठन थालेको उनले बताए । उनका अनुसार अहिले पछिल्लो समय फोहरको गाडी आवश्यक मात्रामा पठाउन नसक्नुमा पासाङलाम्हु सडकखण्डको ओस भन्ने ठाँउ नजिकै गएको पहिरोले दुईतर्फी गाडी आवतजावतमा आएको समस्याले गर्दा आवश्यक मात्रामा फोहरका गाडी पठाउन नसकिएको हो ।

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भन्दै साउन ४ गतेदेखि एक हप्तासम्म उपत्यकाको फोहर रोकिएको थियो । रोकिएको फोहर गत हप्ताको बिहिबार आठ दिनपछि करिब ६० गाडी फोहर बोकेर सिसडोलतर्फ गए पनि स्थानीयवासीको अवरोधका कारण फोहरको व्यवस्थापनमा समस्या आएको थियो । यस्तै यसअघि कामपा र स्थानीयबीच लिच्चडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउने जस्ता विषयमा सहमति भएको थियो ।

उपत्यकाको फोहर ब्यवस्थापनमा कहिले स्थानीयको माग पुरा नभएकोमा अबरोध हुने गरेको त कहिले बाटो र अन्य कारणले फोहरको ब्यवस्थापनका लागि चुनौती आइरहने भएकाले फोहर ब्यवस्थापनको दीर्घकालिन समाधान खोज्नुपर्ने उपत्यकाबासी एवं अधिकारकर्मीको सुझाव रहेको छ ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार बुधबार २ सय फोहरका गाडी सिसडोलतर्फ गएको र बिहिबार २ सय ३४ फोहरका गाडी सिसडोलतर्फ गएका छन । उनले अहिले मुख्यतः पासाङलाम्हु राजमार्गको मुडखुदेखि तीनपिप्ले सम्मको सडकको केहि भागमा आएको समस्या र सिसडोलको फोहरमाथी नै बनेको सडकमा देखिएको समस्याका कारण आवश्यक मात्रामा फोहरका गाडी पठाउन नसकिएको जानकारी दिइन ।

महानगरका प्रवक्ता मानन्धरले महानगर फोहर उठाउन कहिल्यै पछि नपर्ने र आफ्नो जिम्मेवारी वहन गर्न महानगरको प्रयास रहने बताए । उनले अहिलेको समस्या बाटोका कारण उत्पन्न भएकोले यस्ता भौगोलिक समस्याका कारण आएका अवरोध समाधानसंगै यी समस्या विस्तारै समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL