Logo

नेपाली छुर्पीको बजार ३ अर्बको हाराहारीमा : २९ देशमा निर्यात, अमेरिका मुख्य आयातकर्ता

नेपाली छुर्पीको बजार ३ अर्बको हाराहारीमा : २९ देशमा निर्यात, अमेरिका मुख्य आयातकर्ता



काठमाडौं । नेपालमा उत्पादिन छुपी विदेशमा लोकप्रिय बन्दै गएको छ । जसका कारण पछिल्लो समय विश्वव्यापी रुपमा नेपाली छुर्पीको माग बढ्दो छ । पछिल्लो एक बर्षमा नेपालबाट धेरै निर्यात भएका वस्तुको १५ औ स्थानमा रहेको छुर्पी विभिन्न २९ देशमा निर्यात भइरहेको छ ।

अघिल्लो आर्थिक बर्ष(आव) २०७७/७८ को तुलनामा गत आव २०७८/७९ मा ९४ करोड ६८ लाख ९३ हजार रुपैयाँ बढीले छुर्पी निर्यात भएको छ । अघिल्लो आवमा कुल १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको छुर्पी निर्यात भएकोमा गत बर्ष २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले निर्यात गर्ने छुर्पीको सबैभन्दा ठूलो आयातकर्ता अमेरिका हो । विभागका अनुसार पछिल्लो एक बर्षमा कुल २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको छुर्पी निर्यात भएकोमा यसको ८३ प्रतिशत अमेरिकातर्फमात्रै गएको छ । नेपालबाट आर्थिक बर्ष २०७८/८९ मा कुल २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको छुर्पी अमेरिकातर्फ निर्यात भएको छ । त्यसपछि क्रमसः नेपाली छुर्पीका लागि ठूलो बजारका रुपमा क्यानडा, जापान, बेलायत, नेदरल्याण्डलगायत देश रहेका छन ।

नेपालबाट निर्यात भएको छुर्पी पछिल्लो एक बर्षमा अमेरिकातर्फमात्रै ७४ करोड ३६ लाख ७८ हजार रुपैयाँले बढेको छ । अघिल्लो आवमा कुल १ अर्ब ७० करोड १३ लाख ५९ हजार रुपैयाँको छुर्पी अमेरीकातर्फ निर्यात भएकोमा गत आवमा २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र टिईपीसीको तथ्यांक अनुसार पछिल्लो ३ बर्षमा मात्रै नेपालले ६ अर्ब १० करोड ५३ लाख ४० हजार रुपैयाँको छुर्पी विदेश निर्यात गरेको छ । उक्त अवधिमा नेपालले सबैभन्दा धेरै अमेरिकातर्फ ५ अर्ब २० करोड ५५ लाख ५६ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । जुन पछिल्लो ३ बर्षमा विदेश निर्यात भएको छुर्पीको ८५ प्रतिशत हो ।

यस्तै सोहि अवधिमा नेपालले क्यानडातर्फ ५६ करोड ७२ लाख १० हजार रुपैयाँको, जापानतर्फ ७ करोड ३५ लाख ९७ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ । यस्तै उक्त पछिल्लो ३ बर्षको अवधिमा बेलायततर्फ ७ करोड ६० लाख १५ हजार रुपैयाँको र नेदरल्याण्डतर्फ ४ करोड ४८ लाख ८२ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ ।

नेपालमा उत्पादन गरिएको छुर्पी अमेरिका, क्यानडा, जापान, बेलायत, नेदरल्याण्डलगायतका देशतर्फ निर्यात हुँदै आएको छ । नेपालमा हुने वस्तु उत्पादनको माग विदेशतर्फ धेरै हुदा विदेशी मुद्रा भित्रिन सहयोग पुग्ने गरेको छ । जसका कारण नेपालको अर्थतन्त्र सुधारका लागि निर्यातले सकारात्मक भूमिका खेल्ने सम्वद्ध ब्याबसायी बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
MBL