Logo

तरलता संकुचनबीच ५४ अर्बले बढ्यो सहुलियतपूर्ण कर्जा, एक बर्षमा २ खर्ब १५ अर्ब प्रवाह

तरलता संकुचनबीच ५४ अर्बले बढ्यो सहुलियतपूर्ण कर्जा, एक बर्षमा २ खर्ब १५ अर्ब प्रवाह



काठमाडौं । गत आर्थिक बर्षदेखि नै बैंकमा लगानीयोग्य रकम (तरलता) मा संकुचन आउन सुरु गरेको थियो । जसका कारण धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहलाई सीमित बनाउादै लगो भने बिनाधितो र ब्याज अनुदानका कर्जाहरुप्रति त बैंकहरु तर्सिने अवस्थामा पुगे । राष्ट्र बैंकले पनि कर्जा प्रवाहमा केही कडाइको नीति लियो । तर, तरलतामा संकुचनको यस्तो अवस्थामा पनि बैंकहरुले एक बर्षको अवधिमा २ खर्ब १५ अर्ब ९१ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।

laxmi

सरकारले नेपाली युवाहरुलाई कृषिमा आकर्षीत गर्न र उद्यमशील बनाउन ल्याईएको ब्याज अनुदान कर्जा मात्रै गत जेठ मसान्तसम्म बैंकहरुले २ खर्ब १५ अर्ब रुपैयाँ प्रवाह गरेका हुन् । यो अघिल्लो आर्थिक बर्ष २०७७÷७८ को तुलनामा ५४ अर्ब ४७ करोड रुपैयाँले बढी हो । अर्थात गत आर्थिक बर्षमा थप १ लाख ४७ हजार १ सय ४७ जनाले उक्त कर्जा लिएका छन् ।

नेपाल राष्ट्र बैंकले २०७५ सालमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागु गर्दै यस्ता कर्जाहरु प्रवाह गर्ने नीति अघि सारेको थियो । यस्तो कर्जामा कर्जाको ब्याजबाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन नपाइने कार्यविधिमा छ । बैंकले लिने आधार व्याजदरमा पनि ५ प्रतिशत सरकारले अनुदान दिने गर्दछ । यदि बैंकले ८ प्रतिशत व्याज तोकेको खण्डमा ऋणीले ३ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ । जसका कारण पछिल्लो समय यस्तो कर्जामा ऋणीहरुको आकर्षण देखिन्छ ।

राष्ट्र बैंकले यसका लागि व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवालक्षित परियोजना कर्जा, महिला उद्यमशील कर्जालगायत १० शीर्षकमा उक्त सुविधाको व्यवस्था गरेको छ । जसमध्ये सबैभन्दा बढी कर्जा भने व्यवसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा गएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यो शीर्षकमा गत आर्थिक बर्षको ११ महिनामा १ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो शीर्षकमा कुल ६० हजार ६ सय १८ जनाले उक्त कर्जा लिएका हुन् ।

यस्तै धेरै सहुलियतपुर्ण कर्जा जाने अर्को शीर्षक भने महिला उद्यमशील कर्जा रहेको छ । यो शीर्षकमा पनि गत आर्थिक बर्ष ८३ हजार ६ सय १९ जनालाई ७२ अर्ब ३८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । पछिल्लो ३ बर्षमा यो शीर्षकमा कर्जा प्रवाह १० देखि २० अर्बले कर्जा थपिएको देखिन्छ । यस्तै गत आर्थिक बर्ष २ सय ५४ कपडा उद्योगीहरुले २ अर्ब ३६ करोड रुपैयाँ कर्जा ब्याज अनुदानमा लिएका छन् । नेपाल राष्ट्र बैंकले नेपालमा कपडा उद्योगीहरुलाई सहुलियत दिनेगरी अघिल्लो बर्ष कपडा उद्योगीलाई पनि सहुलियतपुर्ण ब्याज अनुदान कर्जा व्यवस्थामा थप गरेको थियो ।

राष्ट्र बैंकको व्यवस्थाअनुरुप बैंक तथा वित्तीय संस्थाहरुले सीटीईभीटीको ट्रेनिङका लागि विद्यार्थीलाई, युवालाई स्वरोजगार हुन र दलित समुदाय व्यवसाय विकास कर्जासमेत दिने गरेको छ । गत आर्थिक बर्ष बैंक तथा वित्तीय संस्थाहरुले दलित समुदाय व्यवसाय विकास शीर्षकमा ५९ करोड २० लाख, युवा स्वरोजगार शीर्षकमा ९७ लाख रुपैयाँ र विदेशबाट फर्किएका युवालाई ५८ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

दुई शीर्षकमा कर्जा घट्यो

पछिल्लो समय सहुलियतपुर्ण कर्जा उपलब्ध हुने धेरैजसो शीर्षकमा कर्जा प्रवाह उकालो लागेपनि वैदेशिक रोजगारीबाट फर्केका युवाले लिने कर्जा र भुकम्प पीडितले घर बनाउन लिने कर्जा भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो बर्ष ८ सय ३९ जनाले ५९ करोड ८० लाख रुपैयाँ कर्जा यो शीर्षकमा लिएका थिए । गत आर्थिक बर्ष भने यो शीर्षकमा कर्जा लिनेको संख्या बढेर ९ सय ५७ पुगेपनि प्रवाह भएको कर्जा रकम भने घटेर ५८ करोड ३८ लाख रुपैयाँमा पुगेको छ ।

यस्तै यता भूकम्पपीडितका लागि दिईने कर्जाको अवस्था पनि त्यस्तै छ । अघिल्लो आर्थिक बर्ष यो शीर्षकमा २ सय ३१ जनाले ४ करोड ५४ लाख रुपैयाँ कर्जा लिएका थिए । गत आर्थिक बर्ष भने यो शीर्षकमा कर्जा लिने सेवाग्राहीको संख्या र रकम दुबै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्ष यो शीर्षकमा २ सय १२ जनाले जम्मा ४ करोड ९४ लाख रुपैयाँ मात्रै कर्जा लिएका हुन् । यस्तै गत आर्थिक बर्ष १ सय ५५ जनाले आफ्नो सर्टिफिकेट धितो राखेर ७ करोड २९ लाख रुपैयाँ कर्जा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL