Logo

घट्दो लयमा सुनको मूल्य, चार महिनामा प्रतितोला साढे १२ हजारले ओरालो लाग्यो

घट्दो लयमा सुनको मूल्य, चार महिनामा प्रतितोला साढे १२ हजारले ओरालो लाग्यो



काठमाडौं । विश्व बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । पछिल्लो ४ महिनामा मात्रै विश्व बजारमा सुनको मूल्यमा प्रतिऔंस ३ सय ६० डलरको गिरावट आएको छ । यसअघि गत मार्च ८ तारिखका दिन विश्व बजारमा सुनको मूल्य हालसम्मकै उच्च २ हजार ५२ डलर प्रतिऔंस पुगेको थियो । त्यसअघि विस्तारै उकालो लागिरहेको सुनको मूल्य त्यसदिन भने रेकर्ड नै कायम गरेको थियो ।

laxmi

कोरोना महामारीले अर्थतन्त्रमा निम्त्याएको असरपछि विश्व अर्थतन्त्र बौरिने तरखरमा रहँदा रुस र युक्रेनबीच द्वन्द सुरु भयो । महामारीले सुन खानीमा काम गर्न नसकिएको र मागअनुसार उत्पादन हुन नसकेको भन्दै सुनको मूल्य उकालो लागिरहेकै थियो । त्यसमाथि विश्व अर्थतन्त्रलाई नै प्रत्यक्ष सकारात्मक र नकारात्मक प्रभाव पार्ने रुस र युक्रेनबीचको द्वन्दले सुनको मूल्य बढ्नुमा झन् ठुलो भुमिका खेल्यो । बजारमा दुई शक्तिशाली राष्ट्रबीचको युद्धले कमोडिटी मार्केट नै धराशायी हुनसक्ने अनुमानसहित पेट्रोलियम पदार्थदेखि खानेतेल, सुनलगायतको मूल्य इतिहासकै उच्च हुन पुग्यो ।

अझै पनि दुई देशबीचको युद्ध चलिरहेकै छ । तर, बजारमा उत्पन्न भएको मनोवैद्दज्ञानिक डर हरायो र कमोडिटी मार्केट पुरानै अवस्थामा फर्किने कोशिसमा छ । यसको उदाहरणको रुपमा लिन सकिन्छ सुन, पेट्रोलियम पदार्थ, खाद्यपदार्थलगायतको मूल्यलाई हाल विश्वबजारमा गत मार्च आसपास इतिहास कायम गरेका वस्तुको मूल्यले ओरालो यात्रा तय गर्दै आफ्नो पुरानै अवस्था वा कोरोना महामारीको अवस्थासम्म पुग्न थालिसकेका छन् ।

बजारमा मनोवैज्ञानिक डर हराएकै कारण सुनलगायत वस्तुको सहज आपुर्ति हुँदा मूल्य निरन्तर पुरानै अवस्थामा पुग्न लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार गत मार्च ९, २०७८ फागुन २५ गत नेपालमा पनि सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

त्यसको अघिल्लो दिन मार्च ८ तारिखका दिन विश्व बजारका सुनको मूल्य हालसम्मकै उच्च २ हजार ५२ डलर प्रतिऔंस पुगेको थियो । त्यसयता मात्रै हालसम्म विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ३ सय ६० डलरले घटेको छ । यस्तै नेपाली बजारमा भने त्यसयता हालसम्म सुनको मूल्य प्रतितोला १२ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जानकारी दिएको छ ।

आज विश्व बजारका सुनको मूल्य प्रतऔंस १ हजार ६ सय ९२ डलरको आसपासमा भईरहँदा नेपालमा भने सुनको मूल्य ९३ हजार रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ । यसरी विश्व बजारमा सुनको मूल्य पछिल्लो ४ महिनामा करिव १८ प्रतिशतले घट्दा नेपाली बजारमा भने साढे १३ प्रतिशतले मात्रै ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL