Logo

लघुवित्तका संचालकलाई राष्ट्र बैंकको आग्रह : अप्ठ्यारो अवस्थामा पहिलेको जस्तो सुविधा नखोजौं

लघुवित्तका संचालकलाई राष्ट्र बैंकको आग्रह : अप्ठ्यारो अवस्थामा पहिलेको जस्तो सुविधा नखोजौं



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले तरलता अभावको अवस्थामा लघवित्तले कर्जा विस्तार गर्न पाईएन भनेर दुख व्यक्त गर्न नहुने बताए । मंगलबार माइक्रोफाइनान्स एसोसिएन अफ नेपालले आयोजना गरेको मौद्रीक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले हिजोको सहज अवस्थामा जस्तो सुविधा अब खोज्न नहुने बताएका हुन् । तरलता अभावको समयमा सोहि अनुसारको नीति ल्याउनु राष्ट्र बैंकको बाध्यता रहेको उनको जोड थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक डा.भरतसिंह थापाले आफ्नो प्रस्तुती दिदै लघुवित्तले पारेको सामाजिक प्रभाव वारे राम्रोसँग बुझाउन नसकीएकोे बताए । उनले कतिपय अवस्थामा लघवित्तले आफ्नो वास्तविक मर्म अनुरुप काम गर्न नसकेकोले यसमा ध्यान पुर्याउनु जरुरी रहेको बताए । उनले लघुवित्तले अहिलेको अप्ठ्यारो अवस्थामा ग्राहक सुरक्षामा ध्यान पुर्याउनु जरुरी रहेको बताए । लघुवित्त सोसीयल बिजनेसको रुपमा लिनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा लघुवित्तका जानकार डा. नरहरी ढकालले अहिले लघुवित्त क्षेत्रमा आएका समस्या अनुशासनहीनताको पराकाष्टाले निम्तिएको बताए । उनले लघुवित्तको वास्तविक मर्मवारे जानकारी न्युन रहेको तर्फ इंगित गर्दै यसको मर्म अनुरुप अगाडी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा छलफलको क्रममा लघुवित्तलाई गरिबमुखि बनाउन नीति निर्माणमा ध्यान दिनुपर्नेमा केहि संचालकले जोड दिएका थिए ।

लघुवित्त जानकार डा. मानबहादुर विश्वकर्माले राष्ट्र बैंक प्रवद्र्धनात्मक भन्दा नियन्त्रणमुखी भएको धारणा व्यक्त गरे । उनले स्थानिय उत्पादन बढाउन लघुवित्तको भुमिका रहने र यसले व्यापारघाटा घटाउन सहयोग पुर्याउने बताए । यसका साथै सिंगल डिजिटको व्याज कायम गर्न सक्ने अवस्था भइदिए साना ग्राहक लाभांम्वित हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL