Logo

अघि बढ्दै नेपाल औषधि लिमिटेड : नवनिर्मित हेमोडायलाइसिस, पानी प्रशोधन र सूक्ष्म जैविक शाखाको शुभारम्भ

अघि बढ्दै नेपाल औषधि लिमिटेड : नवनिर्मित हेमोडायलाइसिस, पानी प्रशोधन र सूक्ष्म जैविक शाखाको शुभारम्भ



काठमाडौं । नेपाल औषधि लिमिटेडले नवनिर्मित हेमोडायलाइसिस, पानी प्रशोधन र सूक्ष्म जैविक शाखाको उदघाटन गरेको छ । औषधि उत्पादनमा गुणस्तरीयता कायम गर्न अन्तरराष्ट्रिय गुणस्तरको मापदण्डअनुरुपका ती शाखा उदघाटन गरेको हो । ‘कुशल उत्पादन अभ्याससहित आत्मनिर्भरता तर्फको यात्रा’ विषयक एक कार्यक्रमकै अवसरमा बुधवार उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल औषधि लिमिटेडमा ती शाखाको उदघाटन गरे ।

laxmi

मन्त्री बडूले औषधि उत्पादनको प्रक्रियालाई गुणस्तरिय र अन्तरराष्ट्रियस्तरको मापदण्ड अनुरुप बनाउन औषधि लिमिटेडले सुरु गरेको प्रयास नेपालको औषधि उत्पादनका लागि कोसेढुंगाको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । उनले यस्ता अन्तरराष्ट्रिय गुणस्तर प्राप्त उपकरण प्रयोग गरि उत्पादन हुने औषधिले विश्वसनीयता बढाउनुका साथै नेपाली जनताले गुणस्तरीय उत्पादन पाउने र अन्तरराष्ट्रिय बजारमा प्रतिस्प्रधी बन्न सहयोगी भुमिका खेल्ने बताए ।

नवनिर्मित हेमोडाइलाइसिस शाखाले नेपालमा मृगौलारोगीको हेमोडाइलाइसिस उपचारका लागि चाहिने डायलायस्टेट (हेमोडायलाइसिस फ्लुड एण्ड पाउडर) उत्पादन गर्ने नेपाल औषधि लिमिटेडका महाप्रवन्धक मोहम्मद सफिउल्लाहले बताए । उनले दैनिक ८ सयदेखि आवश्यकता अनुसार १६ सय युनिट सम्म उक्त डायलायस्टेट उत्पादन गर्ने गरी शाखा संचालनको प्रवन्ध भएको बताए । उनले नवनिर्मित हेमोडाइलाइसिस शाखाले नेपाल सरकारको नीति बमोजिम हेमोडायलाइसिसको निशुल्क उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै नवनिर्मित पानी प्रशोधन तथा वितरण शाखाले गुणस्तरीय औषधि उत्पादनका लागि पानी प्रशोधन तथा वितरण प्रणालीलाई सहयोग पुर्याउने महाप्रवन्धक सफिउल्लाहले बताए । उनले अन्तरराष्ट्रिय स्तरको पानी प्रशोधन तथा वितरण प्रणालीमार्फत प्रतिघण्टा १ हजार लिटर शुद्ध पानी औषधिजन्य प्रयोजनका लागि उपलब्ध हुने बताए । यस्तै औषधि उत्पादन अभ्यासका लागि चाहिने न्यूनतम आवश्यकताको रुपमा परिभासित सुक्ष्म जैविक शाखाको रुपमा नवनिर्मित सुक्ष्म जैविक शाखाको पनि उदघाटन भएको छ । यस अघि नेपाल औषधि लिमिटेडमा उक्त शाखा नहुनुले यस्ता परिक्षण हुन नसकेको नेपाल औषधिलिमिटेडले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल औषधिउत्पादन संघका महासचिव विप्लव अधिकारीले राज्यले यस्ता उद्योग संचालनको लागि वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । लिमिटेडले विगतमा १ सय ४१ थरी औषधिहरु उत्पादन तथा विक्रि गर्दै आएको तर, हाल जम्मा ४ थरिका औषधिउत्पादन गर्ने अवस्थामा पुगेको भए पनि अब छिटै थप औषधि उत्पादनले नयाँ लय समात्ने लिमिटेडका अध्यक्ष चन्द्रकला पौडेलले बताईन ।

नवनिर्मित हेमोडाइलाइसिस शाखा नेपाल सरकारको सहयोगमा संचालनमा ल्याएको लिमिटेडले जानकारी दिएको छ । यस्तै नवनिर्मित पानी प्रशोधन तथा वितरण शाखा र नवनिर्मित सुक्ष्म जैविक शाखाका संचालनका लागि युएसपी संस्थाको सहयोग रहेको लिमिटेडले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL