Logo

झन् महंगियो डलर : नेपाली मुद्राको अवमूल्यन हुँदा आयातमा दबाब, उपभोग्य वस्तुको मूल्य थप आकाशिने

झन् महंगियो डलर : नेपाली मुद्राको अवमूल्यन हुँदा आयातमा दबाब, उपभोग्य वस्तुको मूल्य थप आकाशिने



काठमाडौं । घट्दो वैदेशिक मुद्रा संचिति र बढ्दो आयातका कारण दवाबमा परेको नेपाली अर्थतन्त्र झन् दबावमा पर्ने देखिएको छ । पछिल्लो समय विश्व बजारमा डलरको मूल्य लगातार उकालो लागिरहँदा यसले विश्वभर विभिन्न असर पारेकै छ । तर, नेपालका लागि भने डलरको मूल्य उकालो लाग्दा थप चिन्ता बढेको छ ।

laxmi

आयातमुखी अर्थतन्त्र भएको नेपालका लागि डलरको मूल्य बढ्नु भनेको आयातमा थप विदेशी मुद्रा बाहिरिनु हो । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार नेपालमा डलरको मूल्य १ सय २५ रुपैयाँ ०८ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । अर्थात १ सय २५ रुपैयाँ खर्च गरेपछि मात्रै एक डलर पाईनेछ । यसले नेपाली मुद्राको अवमूल्यन उच्च रुपमा भएको देखाउँछ । उसो त अमेरिकी फेडरल रिजर्भ बैंकले व्याजदर बढाउँदा विश्वका धेरै देशहरुको मुद्रा अवमूल्य भएको अवस्था छ । भारतकै कुरा गर्दा पनि फेडले डलरको व्याजदर बढाईदिँदा भारतमा भएको लगानीसमेत अमेरिकामा गएर डिपोजिट भएको डलर संचितिमा दबाव परेको छ ।

नेपाली मुद्रा सीधै भारतीय मुद्रासँग सम्बन्धित भएकाले पनि लगातार नेपाली मुद्राको अवमूल्यन भइरहेको विज्ञहरु बताउँछन् । नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्राको अवमूल्यन हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्ने नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल बताउँछन् । उनका अनुसार कोरोना महामारीले थिलथिलो बनाएको विश्व अर्थतन्त्रमा पछिल्लो समय रुस र युक्रेन युद्धले झन धेरै पीडा थपिदियो । यही बीचमा अमेरिकाको फेडरल रिजर्भ बैंकले औसत व्याजदर ०.५ प्रतिशतले बढाइदियो र विश्व अर्थतन्त्रमै यसले असर गरिरहेको छ । डलरको मूल्य निरन्तर उकालो लागेकै कारण व्यापारचक्र नै विथोलिएको व्यवसायी बताउँछन् ।

उच्च मूल्यवृद्धि

विश्व बजारमा डलरको मूल्य बढनु र अभावकै कारण धेरैजसो वस्तुको मूल्य पनि कम्तिमा १० देखि १२ डलरसम्मले बढेको बताइएको छ । पछिल्लो समय विश्वका केही राष्ट्रहरुले वस्तु निर्यातमा गरेको कडाई र डलरको मूल्यको प्रत्यक्ष असर भान्सासम्मै परेको छ । नेपालजस्ता आयातमुखी अर्थतन्त्र भएका राष्ट्रमा त मुद्रास्फिति उच्च रुपमा बढ्दा मध्यम र न्यून आय भएका नागरिक पिल्सिएको विश्व बैंकको एक प्रतिवेदनले औंल्याएको छ ।

हाल विश्वबजारमा दैनिक उपभोग्य खाद्य वस्तु, कच्चा तेल, खानेतेललगायतको मूल्य लगातार वृद्धि भइरहेको छ । डलरकै कारण लजिस्टिक सेवा, ढुवानीको भाडा बढेको छ भने वस्तुको मूल्य डलरमा तिर्नुपर्दा वस्तुको लागत मूल्य पनि उच्च वृद्धि भएको छ । यसरी नेपाल भित्रिने वस्तुमा बढेको मूल्य झन् भन्सारमा लगाइने अन्तशुल्क र भन्सार शुल्कका कारण झन धेरै महंगिने चेम्बरका वरिष्ठ उपाध्यक्ष अग्रवाल बताउँछन् । सरकारले सार्वजनिक गरेको आगामी आबको बजेटमार्फत नै धेरैजसो वस्तुमा अन्तशुल्क र भन्सार राजस्व वृद्धि भएकाले वस्तुको मूल्य अझै बढ्ने निश्चित छ ।

अझ बजेटमार्फत सरकारले राजस्वको लक्ष्य पनि कुल गार्हस्थ उत्पादनको २५.५५ प्रतिशत र कुल बजेटको ६९ प्रतिशत तय गरेको छ । यसरी राजस्वको लक्ष्य तोकिनु भनेको प्रत्यक्ष रुपमा वस्तुको मूल्य नै बढ्नु हो । एकातिर डलरको मूल्य र अर्कातिर सरकारको राजस्व लक्ष्यका कारण न्यून र मध्यम आय भएका नागरिकहरुले उपभोग्य वस्तु खरिद गर्नै नसक्ने अवस्था आउने उनको भनाई छ ।

डलरको मूल्य बढ्दा फाईदा पनि हुन्छ ?

सामान्यतया निर्यातमुखी अर्थतन्त्र भएका देशमा डलरको मूल्य बढ्दा फाईदा नै हुन्छ । कम लागतका वस्तुहरुको मूल्य बढी पाईँदा फाईदा नै हुन्छ । तर, नेपालजस्ता आयातमुखी अर्थतन्त्र भएका देशमा भने विदेशी वस्तु खरिद गर्दा खर्च गर्ने डलरको मूल्य बढी पर्दा यसको प्रत्यक्ष असर वैदेशिक मुद्रा संचितिमा पर्छ । नेपालको निर्यात आयातको तुलनामा ज्यादै न्यून छ ।

अर्थात कुल वैदेशिक व्यापारको ९० प्रतिशत आयात हुँदा धौधौ १० प्रतिशत निर्यातको हिस्सा हुन्छ । यस्तो अवस्थामा डलरको मूल्य बढ्दा आयातित वस्तुको मूल्य पनि बढेर नेपाली मुद्राको अवमूल्यन जारी रहन्छ । तर, नेपालको अर्थतन्त्र रेमिट्यान्समा पनि आधारित भएकाले नेपालबाट विदेशमा काम गर्न गएका नागरिकहरुका लागि भने फाईदै हुनेछ । उनीहरुले कम डलर पठाउँदा पनि नेपालमा धेरै पैसा पाउने भएपछि फाईदा हुने अग्रवाल बताउँछन् । सन २०१८ को जनवरीमा नेपालमा डलरको मूल्य प्रतिडलर १ सय १ रुपैयाँ थियो । त्यसयता हालसम्म आईपुग्दा नेपाली मुद्राको २५ रुपैयाँले अवमूल्यन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL