Logo

चौतर्फी विरोधपछि विभागको स्पष्टीकरण : मंसीरयता दर्ता भएकामा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य

चौतर्फी विरोधपछि विभागको स्पष्टीकरण : मंसीरयता दर्ता भएकामा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य



काठमाडौं । यातायात व्यवस्था विभागले पछिल्लो समय चर्चाको बिषय बनाईएको इम्बोस्ड नम्बर प्लेटसम्बन्धी स्पष्टीकरण दिएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले पछिल्लो समय असार १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनलाई अनिवार्य नभएको बताएका हुन् । पछिल्लो समय सडकदेखि सदनसम्मै यसको चर्काे विरोध हुन थालेपछि विभागले स्पष्टीकरण दिएको हो ।

गत कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचना अनुसार मंसीर १ गतेदेखि दर्ता भएका नयाँ सवारीसाधनमा मात्रै नम्बर प्लेट जडान गर्न अनिवार्य गरिएको बिजखबरसँगको कुराकानीमा उनले बताए । त्यसमा पनि देशभर दर्ता भएकालाई नभई वागमती र गण्डकी प्रदेशमा मात्रै यस्तो अनिवार्य गरिएको उनले बताए । उनका अनुसार पछिल्लो समय विभागको एउटा सूचनालाई लिएर बहस भईरहेको र खास त्यो सूचना मान्छेहरुले नबुझ्दा समस्या उत्पन्न भएको हो ।

गत कात्तिक २२ गतेको राजपत्रमा सूचना निकाल्दै पहिलो चरणमा मंसीर १ गतेदेखि नयाँ दर्ता हुने सवारीसाधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरिएको थियो । तर, बागमती र गण्डकी प्रदेशका यातायात कार्यालयहरुमा आवश्यक पूर्वाधार पुर्याईसकेपनि हालसम्म राजपत्रमै प्रकाशित सूचनाकोसमेत कार्यान्वयन नभएपछि विभागले सूचना निकाल्नुपरेको उनको भनाई छ । ती प्रदेशका कार्यालयहरुले सूचनाको अवज्ञा गरेपछि बाध्य भएर विभागले उक्त सूचना जारी गरेको हो ।

अहिलेको जस्तो हल्लाखल्ला राजपत्रमा सूचना प्रकाशित हुने बेला भएको थिएन । अर्थात त्यतिखेरै मंसीर १ गतेदेखि नयाँ सवारीसाधनलाई, फागुन १ देखि नामसारी हुने सवारीलाई र जेठ १ गतेदेखि नविकरण हुने सवारीसाधनलाई पनि अनिवार्य इम्बोस्ड नम्बर प्लेटमा लैजाने निर्णय गरिएको थियो ।


तर, पछिल्लो समय विभागले बागमती र गण्डकी प्रदेशका निश्चित यातायात कार्यालय तोकेरै उक्त कार्यालयमा दर्ता भएका नयाँ सवारीसाधनमा असार १ गतेभित्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने बताएको छ । यो सूचना सबै सवारीसाधनका लागि नभई नयाँ दर्ता हुने करिव ३ देखि ४ हजार सवारीसाधनका लागि मात्रै भएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । ‘हामीले जारी गरेको सूचनालाई उल्टो रुपमा बुझियो र हल्लाखल्ला मच्चाईयो,’ उनले भने, ‘हामीले त पहिलो चरणमा नयाँ दर्ता भएका सवारीसाधनलाई मात्रै अनिवार्य गर्न लागेका हौं, यस्ता सवारीसाधन जम्मा ३ देखि ४ हजार मात्रै छन् ।’

यस्तो छ विभागले सार्वजनिक गरेको सूचना

महानिर्देशक घिमिरेले विभागले जारी गरेको सूचनाको स्पष्टीकरण दिनका लागि आजै प्रेस नोट सार्वजनिक गर्ने जानकारी दिए । विभागले हालसम्म करिव २५ हजार सार्वजनिक सवारीसाधनमा उक्त इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकाका ९५ प्रतिशत सवारीसाधन छन् भने बाँकी अन्य क्षेत्रका छन् । यस्तै गण्डकी प्रदेशमा दर्ता भएका करिव ३ सय सवारीसाधनमा मात्रै यस्तो इम्बोस्ड नम्बर प्लेट जडान गरिएको महानिर्देशक घिमिरेले बिजखबरलाई बताए । उनका अनुसार विभागमा हाल करिव २ लाख ५० हजार इम्बोस्ड नम्बर प्लेट छापेर तयारी अवस्थामा छन् ।

२०७२ सालमै सरकारले सवारी साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडानका लागि जिम्मा दिएकोमा काम सम्पन्न नभएपछि पुरानै कम्पनीको म्याद गत बर्षको जेठमा थप भएको थियो । यातायात व्यवस्था विभागले एक बर्षअघि ५ बर्षको म्याद सकिएको बंगलादेश र अमेरिकाको ज्वाईन्ट भेन्चर कम्पनी डेकाटुर टाइगरको म्याद २८ महिना थप गरेको थियो । म्याद थप भएकै १ बर्ष वित्यो बाँकी १६ महिनामा २५ लाख इम्बोस्ड नम्बर प्लेट वितरण गर्नुपर्ने बाध्यता विभागलाई छ ।

सरकारले विसं २०७३ जेठ १७ गते डेकाटुर टाईगरसँग ५ बर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेगरी सम्झौता गरेको थियो । तर, सम्झौता भएको ५ बर्षमा विभिन्न अड्चनका कारण कम्पनीले ४ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकेको थियो । त्यसपश्चात गत जेठमा म्याद थपिएपछि विभागले यातायात कार्यालयमा करिव २१ हजार बढी इम्बोस्ड नम्बर प्लेट पठाएर जडान पनि भईसकेका छन् ।

पछिल्लो ६ बर्षको अन्तरालमा इम्बोस्ड नम्बर प्लेट छाप्ने कम्पनीबिरुद्ध सर्वाेच्चमा इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने भन्दै रिट परेपछि लामो समय सर्वाेच्चबाट आदेश नआउँदा थप ढिलाई भएको थियो । अघिल्लो बर्ष २०७७ मा मात्रै सर्वाेच्चले अंग्रेजी भाषा नै प्रयोग गर्न सकिनेगरी आदेश दिएपछि कम्पनीले २०७७ साउनदेखि अंग्रेजीमै नम्बर प्लेट छाप्ने काम अघि बढाएको थियो ।

कसरी हुन्छ वितरण ?

सवारीसाधनमा जडान गर्नुपर्ने इम्बोस्ड नम्बर प्लेट यातायात व्यवस्था कार्यालयमा जडान हुन्छ । जसका लागि सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाईटमार्फत फारम भरेर आफ्नो पालो अनुसार कार्यालयमा उपस्थित हुनुपर्छ । सेवाग्राहीले बुझाएको डकुमेन्टअनुसार विभागको डाटा मिलेमा कार्यालयले सेवाग्राहीलाई यातायात कार्यालयले इम्बोस्ड नम्बर प्लेटमा पर्सनल डाटा राख्नेछ र जडान गरिदिनेछ ।

कति पर्छ मूल्य ?

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि सवारीसाधनलाई वर्गीकरण गरी मूल्य तोेकेको छ । विभागले २ पाँग्रे सवारीसाधनका लागि २ हजार ५ सय रुपैयाँ तोकेको छ भने ३ पाँग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै ४ पाँग्रे साना सवारीसाधनका धनीहरुले भने इम्बोस्ड नम्बर प्लेट जडान गरेवापत ३ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने हुन्छ । यस्तै ठुला सवारीसाधनका धनीहरुका लागि भने ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

बुझाउनुपर्ने कागजात

सवारीधनीले आफ्नो सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न कर चुक्ता गरेको अनिवार्य गरिएको छ । साथै कर चुक्ता सम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेट जडानका लागि राजस्व तिरेको भौचर, अनलाईन आवेदन दिनेबेला भरेका कागजातका साथै अनलाईन आवेदनको प्रिन्ट पनि इम्बोस्ड नम्बर प्लेटसमेत बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL