Logo

गभर्नरले भने–अनावश्यक आयात रोक्न ब्याजदर बढाइएको हो, विदेशी मुद्रा संचिति घट्नु खतरा

गभर्नरले भने–अनावश्यक आयात रोक्न ब्याजदर बढाइएको हो, विदेशी मुद्रा संचिति घट्नु खतरा



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक आयात रोक्नका लागि कर्जाको ब्याजदर बढाउनु परेको बताएका छन् । अहिले धेरैजसो उद्योगी व्यवसायीले निक्षेपमा ब्याजदर बढाउँदा निक्षेप संकलन भएन यो गलत भयो भन्दै आउनुभएको छ,’ गभर्नर अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा भने, ‘पक्कै पनि ब्याजदर बढ्दा निक्षेप बढेको छैन तर, हामीलाई आवश्यक आयात रोक्नका लागि पनि ब्याजदर बढाउनुपर्ने आवश्यकता देखियो ।’

laxmi

पछिल्लो समय नेपालीहरु जतिपनि मूल्य तिरेर बस्तु खरिद गर्नका लागि तयार भएको भन्दै त्यसैलाई निरुत्साहित गर्नका लागि ब्याजदर वृद्धि आवश्यक रहेको उनको तर्क थियो । पछिल्लो समय आवश्यक रुपमा उपभोग बढिरहेको बताउँदै उनले अबका दिनमा पनि यसलाई निरुत्साहित गर्न सकिएन भने ठूलो समस्या आईपर्ने बताए ।

‘हामीले कुनै निश्चित क्षेत्र हेरे नीति निर्माण गरेका हुँदैनौं, समग्र राष्ट्र हितमा नीति नियम ल्याएका हुन्छौं,’ उनले भने, ‘अहिलेको संकटमा उद्योगी व्यवसायीले पनि आफ्नो नाफा भन्दा पनि राष्ट्रहितलाई सिरोधार्य गरेर काम गर्नुपर्ने अवस्था आएको छ ।’

अहिले देशभित्रै भएको कर्जा प्रबाहभन्दा पनि तरलता बाहिरिने क्रम बढेकाले समस्या आएको समेत उनले जानकारी दिए । ‘नेपालभित्रै जुन क्षेत्रमा कर्जा प्रबाह भएपनि बैंकले त्यसको नियमन गर्छ भने सम्बन्धित व्यक्तिको सम्पति लिलाम गरेर भएपनि कर्जा असुली गर्छ त्यसमा कुनै समस्या भएन,’ कार्यक्रममा उनले भने, ‘तर अहिले आयातको नाममा जसरी पैसा बाहिरिएको छ त्यो रकम कसरी फिर्ता ल्याउन सकिन्छ ?’

चालू आर्थिक बर्षको ९ महिनामा विदेशी मुद्रा संचितीमा २ खर्ब ३८ अर्ब रुपैयाँले गिरावट आएको र यो हाम्रा लागि खतराको संकेत भएको समेत गभर्नर अधिकारीले बताए । तर, राष्ट्र बैंकले आयात लिएको कडाई नीतिले पुसयता केही सुधार आएको समेत उनले जानकारी दिए । राष्ट्र बैकले लिएको नीतिले केही काम गरेको जानकारी दिँदै यसमा सबै पक्षको साथ र सहयोय चाहिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL