Logo

देशभर उत्साहपूर्ण रुपमा मतदान हुँदै, साँझ ५ बजेसम्म मतदान गर्न सकिने

देशभर उत्साहपूर्ण रुपमा मतदान हुँदै, साँझ ५ बजेसम्म मतदान गर्न सकिने



काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आज महत्वपूर्ण दिन हो ।

निर्वाचनकै इतिहासमा पहिलोपटक मतदाताको रुपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले पनि मतदान गर्ने अवसर पाएका छन् । “यो दिनलाई राष्ट्रिय उत्सवका रुपमा ग्रहण गरी सबै मतदाताले आ–आफ्नो मताधिकार प्रयोग गर्नुहुन अपिल गर्दछु ।” प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भनेका छन् ।

प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो । कानुनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अधिकार निर्वाचनले प्रदान गर्छ । उनले पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न आह्वान गरेका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्ति एवं मन्त्रिपरिषद् सदस्यले सन्देश र अपिल जारी गर्दै लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचन भएकाले आफ्नो मताधिकारको सदुपयोग गर्न आह्वान गरेका छन् ।

मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ र स्वतन्त्रबाट उठेका ३५ सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले ३४ हजार ८३१ पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन् । यसपटक निर्वाचनका लागि भनेर दर्ता भएका ७९ राजनीतिक दलमध्ये ६५ राजनीतिक दल चुनावी मैदानमा छन् । कूल ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् ।

मतदानको दिन पालना गर्नुपर्ने आचरण

निर्वाचन आचारसंहिता, २०७८ ले मतदानको दिन आज मतदान केन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ सङ्गठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । अचारसंहितामा उल्लेख भएअनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा व्याच लगाउन पाउने छैनन् ।

राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको साङ्केतिक पोसाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन हुँदैन । कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवं आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न पनि नहुने व्यवस्था गरेको छ ।

यसैगरी मतदाताले मतदानकेन्द्रमा मतदान गर्न जाँदा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटरजस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनिने कुनै वस्तु लैजान पाउने छैनन् । कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार पैmलाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन नहुने आचारसंहितामा उल्लेख छ ।

कसैको दल वा उम्मेदवारको झण्डा वा चिह्न अङ्कित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने तथा कसैको पक्ष विपक्षमा सामाजिक सञ्जालमार्फत कुनै कुरा प्रकाशन प्रसारण र सम्प्रेषण गर्न नहुने व्यवस्था आचरसंहितामा छ । आयोगले आज मतदानस्थल तथा मतदान केन्द्रमा उपरोक्त व्यवस्था कडाइसाथ कार्यान्वयन गर्न÷गराउन सबै मतदान अधिकृतलगायत मतदान कार्यमा खटिने कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई अनुरोध गरेको छ ।

मतदान गर्न जाँदा पालना गर्नुपर्ने आचरण

मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्नसक्ने आयोगले जानकारी गराएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाणपूर्जाको सक्कल प्रमाणको आधारमा मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिकरूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था गरेको छ तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिन स्पष्ट निर्देशन आयोगबाट छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै अवाञ्छित कार्य कहीँकतैबाट भएमा कानुनबमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

निर्धक्क भएर भोट हाल्न अनुरोध

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्धक्कका साथ भोट हाल्न निर्वाचन आयोगले आम मतदातामा अनुरोध गरेको छ ।मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गरिएको छ । निर्धक्क भएर मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदातालाई आग्रह गरे।

निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले उत्साहजनक सहयोग गरिरहेको र आगामी दिनमा पनि सो सहयोगको अपेक्षा रहेको आयोगको भनाइ छ । शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउनमा मिडियाको भूमिका महत्वपूर्ण रहने छ । आयोगका प्रवक्ता पौडेलले बालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको बताए ।

बलियो छ सुरक्षा प्रबन्ध

एकैसाथ देशभर सुरु भएको स्थानीय तहको निर्वाचनको मतदानको दिन आज सरकारले बलियो सुरक्षा प्रबन्ध गरेको छ । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्थासहित सुरक्षा व्यवस्था गरी चुस्त र भरपर्दो बनाइएको छ । मुलुकभर दुई लाख ६० हजार बढी सुरक्षाकर्मीले निर्वाचनको पहरा दिइरहेका छन् । उनीहरुले एकीकृत र छुट्टाछुट्टै निर्वाचन सुरक्षा रणनीति निर्माण गरेर चुस्त सुरक्षा व्यवस्था मिलाएकाले मतदान शान्तिपूर्ण रुपमा सुरु भएको छ ।

ती सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण शक्ति परिचालन भएको जनाउँदै कुनै अवाञ्छित घटना भएमा वा हुने सङ्केत मिलेमा नजिकका प्रहरी कार्यालयमा सूचना दिनसमेत आह्वान गरिएको छ । गृहमन्त्रालयले एक सूचना जारी गरी सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्कका साथ मतदानमा सहभागी हुन अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL