Logo

समन्वय अभावले विजुलीको तार भूमिगत गर्ने कार्य प्रभावित, प्राधिकरण र सडक विभाग आरोप प्रत्यारोपमा व्यस्त

समन्वय अभावले विजुलीको तार भूमिगत गर्ने कार्य प्रभावित, प्राधिकरण र सडक विभाग आरोप प्रत्यारोपमा व्यस्त



काठमाडौं । शहरी सौन्दर्य र सुरक्षाको लागि भन्दै नेपाल विद्युत प्राधिकरणले शुरु गरेको विजुलीको तार भूमिगत (अण्डरग्राउण्डिङ) गर्ने कार्य प्रभावित भएको छ । दुई सरकारी निकायबीच समन्यन हुन नसक्दा शहरी सौन्दर्य र सुरक्षाको लागि भन्दै शुरु भएको विद्युतीय केवल भूमिगत गर्ने काम अलपत्र हुँदा थप असुरक्षा र धूलोमैलो बढेको छ । सडक विभागसँग सहमति हुन नसक्दा भित्रि सडकहरुमा काम सम्पन्न भएपनि मुख्य सडकहरुमा भने अझै काम अघि बढाउन नसकिएको प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

उपत्यकाका हरेक स्थानका विद्युतीय तारहरुलाई अन्डरग्राउन्ड गर्नेगरी अघि बढेको काममा सडक विभागले सहमति नदिँदा काम रोकिएको जस्तै भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रमा काम भइसकेपनि मुख्य सडकहरुमा भने विभागले सहमति दिएको छैन ।

हाल प्राधिकरणले महाराजगंज वितरण केन्द्रको काम लगभग सम्पन्न गरेको र अन्य स्थानमा पनि सम्पन्न हुन लागेको जानकारी दिएको छ । किर्तिपुर, चावहिललगायतका क्षेत्रमा काम धमाधम भईरहेको छ । यता एयरपोर्टदेखि माइतीतघर, सिंहदरबार, त्रिपुरेश्वर, थापाथली, रत्नपार्क एरिया, जमल, पुतलीसडकलगायतका सडकहरुमा अझै विजुलीका तारहरु भूमिगत हुन सकेको छैन् ।

सडक विभागले दिएन सहमति

काठमाडौंका भित्रि सडक तथा गल्लीहरुमा विजुलीका तार भूमिगत गर्ने कार्य करिव–करिव सम्पन्न भइसकेको छ । महाराजगंज वितरण केन्द्र अन्तर्गत त रिङरोड क्षेत्रबाहेकका सबै स्थानमा काम सम्पन्न भईसकेको प्राधिकरणका उप कार्यकारी निर्देशक तारा प्रधानले बताए । उनका अनुसार अन्य क्षेत्रमा काम अन्तिम चरणमा पुगेपनि मुख्य सडकमा भने सडक विभागको सहमति नहुँदा काम अघि बढाउन नसकिएको हो ।

नेपाल विद्युत प्राधिकरणले विस २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए । सो कार्य शिलान्यास हुँदाखेरी सडक विभागले सबै सडकमा प्राधिकरणलाई तार भूमिगत गर्न सहमति दिएपनि बीचमा मुख्य सडकहरुमा भने पहिलेको सहमतिले काम नगर्ने र पुनः सहमति लिनुपर्ने बताउँदै आएको छ ।

किन दिएन विभागले सहमति ?

नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने कार्यको थालनी गर्नका लागि सडक विभागसँग सहमति गरेको थियो । सहमतिमा होरिजेन्टल मेसिनको प्रयोग गरी तार भूमिगत गर्ने, सडक खनेको १० दिनमै पुरेर सफा गरिदिने, चाँडै मर्मत गर्नेलगायतका शर्तहरु राखिएको थियो । प्राधिकरणले उक्त सर्तहरुसहित सहमति गरेको थियो । पछि तार भूमिगत गर्दै जाँदा तार सडकमा अलपत्र छोडिदिने, फूटपाथ अव्यवस्थित गरिदिने, सडक मर्मत महिनौंसम्म नगर्नेलगायतका क्रियाकलापहरु बढेपछि मुख्य सडकमा सहमति दिन नसकिएको सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल बताउँछन् । उनका अनुसार यस्ता सर्तहरुमा विद्युत प्राधिकरणले उचित ध्यान नदिँदा सडक विभागले गाली खानुपर्ने अवस्था आएको छ ।

यदि मुख्य सडकमै यहि हालत हुँदा झन् धेरै अप्ठ्यारो अवस्था सिर्जना हुने भएकाले यो बिषय हाल छलफलमै रहेको उनले बताए । ‘हामीले पहिले त सहमति दिएकै हौं,’ उनले भने, ‘तर हामीले तोकेका सर्तहरु पुरा नगरेकाले सर्त पुरा गराउने गरी सहमति गर्ने तयारी भइरहेको छ ।’ उनका अनुसार तार भूमिगत गर्ने कार्य पुर्ण रुपमा नरोक्ने तर सर्त पुरा गरेर काम अघि बढाउन प्राधिकरणले सक्नेछ । सडक विभागले पुरानै सर्तहरुसहित ब्लक बाई ब्लक गरेर खन्ने, एक ब्लक सकेर सडक पुरिसकेपछि अर्काे ब्लक खन्ने, सडकमा फोहोर नर्गर्नेलगायतका बँुदाहरुमा छलफल गरिरहेको छ ।

यसबाहेक पनि विभागले अन्य केही सर्त राखेकाले सहमति जुट्न नसकेको प्राधिकरणका उपकार्यकारी निर्देशक तारा प्रधान बताउँछन् । काठमाडौं बाहिर पनि सडक विस्तार भईरहेका स्थानहरुमा विजुलीका पोलहरु सार्नुपर्ने सर्तसमेत विभागले प्राधिकरणसमक्ष राखेको छ । जसका कारण सहमति जुट्न केही समय लागिरहेको उनको भनाई छ । ‘सडक विभागले विभिन्न सर्तहरुसहित मुख्य सडकहरुमा तार भूमिगत गर्न दिने बताएको छ,’ उनले भने, ‘ती सर्तहरुसहित अर्काे एउटा सर्त तोकेकाले सहमतिमा केही ढिलाई भएको हो ।’

यी सर्तहरु पुरा गर्न प्राधिकरण मञ्जुर भएमा सडक विभागले प्राधिकरणलाई मुख्य सडकहरुमा पनि तार भूमिगत गर्ने सहमति दिनेछ । त्यसपछि मात्रै माथि उल्लेखित सडकहरुमा तार भूमिगत गर्ने कार्य अघि बढ्ने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘विभाग र हामीबीच मुख्य सडकहरुमा तार भूमिगत गर्ने कार्यका लागि सहमति जुटाउन विभिन्न चरणमा छलफल भइरहेको छ’ उनले भने, ‘अबको केही दिनमा सहमति जुट्नेछ र काम अघि बढ्नेछ ।’

प्राधिकरणले विजुलीका तारका कारण शहरी सौन्दर्यतामा खलल पुगेको भन्दै तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । काम अघि बढाएको २ बर्ष वितिसकेपछि मुख्य सडकमा तार भूमिगत गर्ने कार्यमा अड्चन आएको हो । जसको कारण प्राधिकरणलाई नै मान्न सकिने सडक विभागका प्रवक्ता नेपाल बताउँछन् । प्राधिकरणले हाल काठमाडौंका कलंकी, रत्नपार्क, महाराजगंज, चावहिल, भक्तपुर र ललितपुर वितरण केन्द्रअन्तर्गतका स्थानमा पनि विद्युतीय तार भूमिगत गर्ने कार्य अघि बढाएको छ । यस्तै उपत्यका बाहिर भरतपुर र पोखरामासमेत तार भूमिगत गर्नका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL