Logo

चक्रपथको दोस्रो खण्ड विस्तारमा ढिलाई र अन्यौल : दोष चीनको कि नेपालको ?

चक्रपथको दोस्रो खण्ड विस्तारमा ढिलाई र अन्यौल : दोष चीनको कि नेपालको ?



काठमाडौं । पछिल्लो ३ बर्षयता चक्रपथ विस्तारको दोस्रो खण्डको काम अन्यौलतामै रुमल्लिरहेको छ । चक्रपथ विस्तार आयोजना अन्तर्गत कोटेश्वर–कलंकी पहिलो खण्डको जिम्मा पाएर काम सम्पन्न गरेको चिनियाँ ठेकेदार कम्पनीले नै दोस्रो खण्डको विस्तार गर्ने सम्झौता भएको थियो । पहिलो खण्डको विस्तार सम्झौताकै समयमा पहिलो खण्डको काम सम्पन्न भएलगत्तै कलंकीदेखि महाराजगञ्ज चोकसम्म दोस्रो खण्डको काम सुरु गर्नेगरी सम्झौता भएको थियो । पहिलो खण्डको काम भने विस २०७५ पुषमै सम्पन्न भएपनि हालसम्म दोस्रो खण्डको विस्तार कार्य अघि बढेको छैन् ।

laxmi

पहिलो खण्डको सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने बेलामा चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सनले नेपाली पक्षलाई पहिले साईट क्लियर गर्न आग्रह गरेको थियो । तर, नेपाली पक्षले हालसम्म पनि उक्त क्षेत्रको साईट क्लियर गर्न नसक्दा चिनियाँ पक्षले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)समेत बनाउन सकेको छैन ।

सडक विभाग मातहतको चक्रपथ विस्तार आयोजनामा पछिल्लो ३ बर्षमा ४ जना आयोजना प्रमुख परिवर्तन भईसकेका छन् । अहिलेसम्म दोश्रो खण्ड अन्तर्गत पर्ने सडक छेउछाउका धेरै रुखविरुवाहरु काटिसकिएको छ भने सडक क्षेत्रमा पर्ने रुखविरुवाहरु पनि हटाईसकिएको छ । तर, अझै साईट क्लियर हुन केहि दिन लाग्ने आयोजना प्रमुख मेघराज मसासिनीले बताए । उनका अनुसार स्वयम्भु र सानोभर्याङमा रहेका विजुलीका २ ठूला चारखुट्टे पोल सार्ने काम हाल भईरहेको छ । यो सारेसँगै काम अघि बढ्ने उनले बताए ।

आयोजनाले चक्रपथ विस्तार गर्नका लागि भन्दै विस २०७५ मै साईट क्लियरिङको काम अघि बढाएपनि यसबीच धेरै स्थानमा झमेला उत्पन्न भएको बताउँछ । स्वयम्भुको मन्दिर, महाराजगंज चोकको घरलगायतका बिषयहरु अझै समाधान हुन सकेका छैनन् । यसमा चिनियाँ पक्षले कम्प्रमाईज गरेर स्युचाटारदेखि बसुन्धारासम्म मात्रै हाल चक्रपथ विस्तारको काम गर्ने आयोजनाले जानकारी दिएको छ । यस्तै स्वयम्भुमा पनि सडक विस्तार पछि वैकल्पिक विधिको प्रयोग गरी काम गर्नेगरी तयारी भएको आयोजना प्रमुख मसासिनीले बताए ।

उनका अनुसार स्वयम्भु र महाराजगंज क्षेत्रमा भने हाल चिनियाँले कम्प्रमाईज गरेर काम गर्नुपर्छ । अर्थात महाराजगंज चोकमा घर नहटाउँदासम्म काम नगर्ने र स्वयम्भुमा कुनै संरचना नभत्कात्काई विस्तार गरिने छ । अन्य क्षेत्रमा सडक विस्तारको काम हुँदै गर्दा यी दुई क्षेत्रका विवाद समाधान भएपछि यी क्षेत्रमा र महाराजगंज चावहिल सडकको विस्तार पनि चिनियाँ पक्षबाटै गराउने तयारी भइरहेको प्रमुख मरासीनीको भनाई छ । हाल साईट क्लियरका धेरैजसो कामहरु सम्पन्न भईसकेको आयोजनाको दाबी छ ।

पछिल्लो ३ बर्षमा आयोजनाले दुबैतर्फ ३१–३१ मिटरभित्र पर्ने घरटहरा, विजुलीका पोल, खानेपानी र ढलको पाईप र रुख हटाउने काम सम्पन्न गरिसकेको छ । झण्डै २२ सय रुख, ५ सय विजुलीका पोल र सोही अनुसार घरटहरा हटाएको आयोजना जानकारी दिएको छ । यता चिनियाँ पक्षले भने पुरै साईट क्लियर नहुँदा पहिलो खण्डको जस्तै समस्या व्यहोर्नुपर्ने बताउँदै साईट क्लियर गरेपछि मात्रै डीपीआर बनाएर काम अघि बढाउने बताउँदै आएको छ । पहिलो खण्डको विस्तारका क्रममा साईट क्लियर नभएकै काम अघि बढाउँदा धेरै झमेला व्यहोर्नुपरेको चिनियाँ पक्षको अनुभव छ ।

सानोभर्याङ र स्वयम्भुमा रहेका विजुलीका पोल हटाउन अझै करिव १ महिनाजति लाग्ने आयोजना प्रमुख मरासीनीले बिजखबरलाई बताए । ‘हामीले पोल हटाउन विद्युत प्राधिकरणमा पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘पोल हटाएर तार सार्न कम्तिमा पनि २० दिन त लाग्नेछ यसरी समग्रमा पुरै साईट क्लियर गर्न १ महिना लाग्ने देखिन्छ ।’

यता साईट क्लियर हुनेवित्तिकै चिनियाँ टोलीलाई काम अघि बढाउन पनि पत्राचार भईसकेको उनले बताए । करिव २ महिना अघि सडक भ्रमणका लागि आएको चिनियाँ टोलीले विजुलीका पोल हटाउन आग्रह गरेको थियो । ‘छिटो काठमाडौं आएर काम गर्न वहाँहरु (चिनियाँ टोली)पनि आतुर हुनुहुन्छ,’ उनले भने, ‘यसरी हेर्दा आगामी चैतको अन्तिम हप्तादेखि काम सुरु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL