Logo

अन्तर्राष्ट्रिय रूपमा कार्गो ढुवानी शूल्क बढ्यो, नेपालमा महँगी थप बढने

अन्तर्राष्ट्रिय रूपमा कार्गो ढुवानी शूल्क बढ्यो, नेपालमा महँगी थप बढने



काठमाडौं । अन्तर्राष्ट्रिय रूपमा कार्गो ढुवानी महँगो भएको छ । नगद संकटको सामना गरिरहेको संसारको सबैभन्दा महत्त्वपूर्ण जलमार्ग स्वेज नहर प्राधिकरणले टोल शूल्क बढाएको छ। यो टोल स्वेज नहर हुँदै जाने जहाजहरूमा लगाइन्छ। जसमा दश प्रतिशतसम्म शूल्क बढेको छ । यो निर्णय मार्च १ अर्थात बुधबारदेखि लागू भएको छ। नेपाल प्रायः सबै वस्तुको आयातमा निर्भर रहेका कारण नेपालमा धेरै वस्तुको मूल्यवृद्धि हुने जानकार बताउँछन् ।

laxmi

पछिल्लो समय ईन्धनको शुल्क अचाक्ली बढेपछि स्वतः लजिस्टीक तथा सिपिङ चार्ज बढिरहेको छ । त्यसमाथी युरोपलाई एशियासँग जोड्ने स्वेज नहरमा टोल चार्ज बढेपछि भने नेपाली उपभोक्तालाई यसको भार अझ धेरै पर्ने क्वालिटी फ्रेट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजन शर्मा बताउँछन् ।

उनका अनुसार अन्तराष्ट्रिय बजारमा फ्रेट चार्ज बढेपछि नेपाली फ्रेट सर्भिस प्रोभाईडरहरुले पनि यसको शुल्क बढाउनुपर्छ । त्यसो हुँदा नेपालमा आयात हुने सबैजसो वस्तुहरुको मूल्य उच्च बढ्नेछ र अन्तत्वगत्वा यसको प्रत्यक्ष असर उपभोक्तालाई नै पर्नेछ ।
‘नेपालले धेरैजसो वस्तु युरोपका देशहरुबाट आयात गर्छ,’ उनले भने, ‘स्वेज नहरमा फ्रेट चार्ज बढ्दा उताबाट नेपाल आउने वस्तुको मूल्य स्वभाविकैले बढ्नेछ ।’

यता नेपाल फ्रेट फरवाडर्स एशोसिएसनका अध्यक्ष मनोज अधिकारी पनि यसले नेपाली बजारलाई असर पार्ने बताउँछन् । उनका अनुसार कुनै अन्तरराष्ट्रिय पोर्टमा शुल्क बढेपछि त्यसको असर विश्वभर र खासगरी उक्त पोर्टमार्फत वस्तु पुग्ने स्थानसम्म असर पर्छ । स्वेज नहरमा फ्रेट चार्ज १० प्रतिशतले बढेपछि यसको असर नेपाली बजारमा सजिलै पुग्ने उनको भनाई छ ।

संसारको सबैभन्दा महत्त्वपूर्ण जलमार्ग

स्वेज नहर संसारको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरू मध्ये एक हो। त्यसैले अधिकांश देशका कार्गो जहाज यही रुटबाट गुज्रने गर्छन् । यस जलमार्गबाट ​​गुज्रने जहाजहरूको लागि टोलमा वृद्धि हुनु भनेको कन्टेनर यातायातको शुल्कमा वृद्धि हो ।

ट्रान्जिट शुल्क १० प्रतिशतले वृद्धि

स्वेज नहर प्राधिकरणले मंगलबार आफ्नो वेबसाइटमा शुल्क वृद्धिको घोषणा गरेको हो । प्राधिकरणले नहर सेवाको विकास र सुधारलाई उद्धृत गर्दै विश्व व्यापारमा भएको उल्लेख्य वृद्धिसँगै महसुल वृद्धि भएको बताएको छ । विज्ञप्तिअनुसार तरल पेट्रोलियम ग्यास, केमिकल ट्याङ्कर र अन्य तरल पदार्थ बल्क ट्याङ्करको ट्रान्जिट शुल्क १० प्रतिशतले बढेको छ ।


यस्तै सवारी साधन, प्राकृतिक ग्यास, सामान्य कार्गो र बहुउद्देश्यीय जहाजको ट्रान्जिट शुल्क सात प्रतिशतले बढाइएको छ । यसबाहेक तेल तथा अन्य ट्याङ्कर तथा ड्राई कार्गो जहाजको ढुवानीमा पनि ५ प्रतिशत महसुल बढाइनेछ ।

हाल स्वेज नहर फराकिलो बनाउने काम भइरहेको छ । स्वेज नहरका अधिकारीहरूले जलमार्गको दक्षिणी भाग फराकिलो र गहिरो बनाउन मार्च २०२१ देखि काम गरिरहेका छन् । अन्तराष्ट्रिय समाचार माध्यमका समाचारमा आधारित

प्रतिक्रिया दिनुहोस्
MBL