Logo

निर्यातका लागि झन्झटिलो बन्दै समुद्री बाटो, संचालनमा आउला त एयर कार्गाे ?

निर्यातका लागि झन्झटिलो बन्दै समुद्री बाटो, संचालनमा आउला त एयर कार्गाे ?



काठमाडौं । कोराना महामारीले विथोलेको विश्व व्यापार चक्र बल्ल लयमा फर्किँदै छ । यस्तो बेलामा विश्वभर वस्तुको माग उच्च छ । वस्तु आपुर्तिका लागि सिपिङ कम्पनीहरुलाई भ्याईनभ्याई छ । यस्तो बेलामा कन्टेनरको माग उच्च भएपछि सिपिङ कम्पनीहरुले फ्रेट चार्ज त बढाएका छन् । यसको प्रत्यक्ष असर वस्तुको मूल्यमा त परिहाल्छ तर, बढी असर नेपाली निर्यातकर्ताका लागि परेको उद्योगीहरु बताउँछन् ।

laxmi

पछिल्लो समय बढेको फ्रेट चार्जका कारण वस्तुको लागत मूल्य बढेको र अन्तरराष्ट्रिय बजारमा प्रतिश्पर्धा गर्नै असहज भएको छ । यति मात्रै होईन विश्वबजारमा वस्तुको माग अत्याधिक भएपछि नेपाली निर्यातकर्ताहरुले वस्तु निर्यातका लागि कन्टेनरसमेत पाउन नसकेको गुनासो पनि बढ्दै गएको छ । यीनै समस्याको समाधानका लागि भन्दै नेपाली निर्यातकर्ताहरुले एयर कार्गाेको आवश्यकता औंल्याएका छन् ।

पछिल्लो समय नेपाली निर्यातकर्ताहरुलाई सिपिङ कम्पनीहरुले हेर्ने नजरमा नै परिवर्तन गरेकाले नेपालको आफ्नै एयर कार्गाे आवश्यक रहेको नेपाल निर्यात परिषदका अध्यक्ष रेशम पोख्रेल बताउँछन् । नेपालमा वस्तु उत्पादन ज्यादै न्युन हुन्छ । त्यसैमाथि सिपिङ कम्पनीले आवश्यक कन्टेनर दिँदैनन् र दिएपनि वस्तु गन्तव्यमा पुग्न महिनौं लाग्छ जसका कारण नेपाली वस्तु निर्यात न्युन छ ।

यस्तै बेलामा फ्रेट चार्ज पनि बढ्दा झन धेरै सास्ती थपिएको पोख्रेलले बताए । तर, यस्तो बेलामा नेपाल सरकारले नै ढिलोचाँडो कम्तिमा एउटा अन्तरराष्ट्रिय एयर कार्गाेको व्यवस्था गर्नुपर्ने उनले बताए । ‘नेपाली उत्पादन अमेरिका पुग्न मात्रै कम्तिमा ७० दिन लाग्छ, त्यहाँ पुग्दासम्म कि वस्तु एक्सपायर हुन्छ, कि वस्तु त्यहाँ पुग्दासम्म त्यसको ट्रन्ड नै बदलिसकेको हुन्छ,’ उनले भने, ‘यस्तो समस्या समाधानका लागि हामीलाई कम्तिमा एउटा भएपनि एयर कार्गाे जहाज आवश्यक छ ।’

उनले एयर कार्गाेको व्यवस्था भए नेपाली उत्पादन चाँडोभन्दा चाँडो, छिटो छरितो गन्तव्यमा पुर्याउन सकिने र अन्तरराष्ट्रिय बजारसँग प्रतिश्पर्धा गर्न सकिने बताए । नेपालले अमेरिकालगायतका देशमा तयारी पोशाक, छुर्पी, चिया, गर्लैचा, पश्मिनालगायतका वस्तुहरु निकासी गर्दै आईरहेको छ ।

यस्ता उत्पादन अन्य देशमा पनि हुने र उत्पादन हुनेवित्तिकै निश्चित गन्तव्यमा पुग्ने भएपछि उचित मूल्य र बजार पाउँछन् । तर, नेपाली उत्पादन भने समुद्री बाटो हुँदै जाँदा समय लाग्छ र निश्चित गन्तव्यसम्म पुग्दा त्यसको ट्रेन्ड नै परिवर्तन भईसकेको हुन्छ । तयारी पोशाककै कुरा गर्दा हालको ट्रेन्डलाई हेरेर तयार पारिएको पोशाक अमेरिका पुग्दा त्यो ट्रेन्ड वा फेसन नै पुरानो भईसक्छ र नेपाली तयारी पोशाकले भनेबमोजिमको मूल्य नपाउने नेपाल तयारी पोशाक संघका अध्यक्ष चण्डी प्रसाद अर्याल बताउँछन् ।

यस्तै नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यान पनि नेपालका लागि निर्यात व्यवसाय ज्यादै अप्ठ्यारो भएको भन्दै यसको समाधानका लागि एयर कार्गाे आवश्यक भएको बताउँछन् । उनका अनुसार कुनै उत्पादन विदेश पठाउँदाका प्रक्रिया, शुल्कलगायत क्रियाकलापहरु ज्यादै झन्झटिला छन् । उनी नेपालले कम्तिमा ए ओटा एयर कार्गाे जहाजको व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन् ।

पछिल्लो समय लगातार बढ्दो आयात र यसले निम्त्याएको वैदेशिक मुद्रा संचितिको गिरावटमा सरकारले उच्च ध्यान दिएको छ । नेपालमा वैदेशिक मुद्रा संचितिमा योगदान दिने निर्यात व्यवसायलाई भने उचित ध्यान दिनकै लागि एयर कार्गाेको आवश्यकता रहेको उद्योगी, व्यवसायीहरु बताउँछन् । नेपालले चालु आर्थिक बर्षको ९ महिनामा विभिन्न देशहरुमा १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको निर्यात व्यापार भएको छ । यो कुल वैदेशिक व्यापारको ९ दशमलव ८७ प्रतिशत हो । बाँकी ९० दशमलव १३ प्रतिशत हिस्सा आयात व्यापारको छ ।

यसरी वैदेशिक व्यापारमा देखिएको असन्तुलनले शोधनान्तर स्थितिमा असर परेको र वैदेशिक मुद्रा संचितिमा दवाव परेको नेपाल राष्ट्र बैंकले जनाउँदै आएको छ । तर, यसको समाधानका लागि नेपालमै वस्तु उत्पादन गरेर आयात घटाउने र सो वस्तुको निर्यात प्रोत्साहन गर्नुपर्ने उद्योगीहरु बताउँछन् ।

नेपाली उत्पादकहरुले प्यासेन्जर फ्लाईटमा कहिलेकाहीँ स्पेस पाए छिटो सामान विदेश पुयाएने गरेका छन् । धेरैजसो प्यासेन्जर फ्लाईट यात्रुका ब्यागेजले नै भरिने भएपछि धेरै वस्तु निर्यात गर्न असज हुँदै आएको छ । यसका बिषयमा धेरै पहिलेदेखि नै कुरा राखेपनि सरकारले नसुनेको निर्यातकर्ताहरु बताउँछन् । नेपालको आफ्नै कार्गाे फ्लाईट छैन । विदेशी फ्लाईट पनि धेरै सामान भएमात्रै लिने सर्तमा आउँदैनन् । यस्तो हुँदा निर्यातकर्ताहरु आफुले उत्पादन गरेका वस्तुहरु समुद्रीबाट बाट पठाउन बाध्य हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL