Logo

रुस-युक्रेन संकट : नेपालमा बियरको उत्पादन प्रभावित हुन सक्ने, मूल्य वृद्धिको सम्भावना

रुस-युक्रेन संकट : नेपालमा बियरको उत्पादन प्रभावित हुन सक्ने, मूल्य वृद्धिको सम्भावना



काठमाडौं । रुस र युक्रेनबीचको संकट गहिरिदै जाँदा बियर कम्पनीहरूको समस्या बढेको छ । बियर कम्पनीहरूका लागि सबैभन्दा बढी बियर उत्पादन र बिक्री हुने गर्मीको सिजन सुरु हुनै लाग्दा शुरु भएको रुस–युक्रेन द्धन्द्धले समस्या उब्जाएको हो । बियर जौबाट बनाइन्छ र युक्रेन विश्वमा सबैभन्दा बढी जौ उत्पादन गर्ने शीर्ष पाँच देशहरूमा पर्छ । युक्रेनमा जारी युद्धका कारण विश्वभर जौको आपूर्ति प्रभावित हुन सक्ने विज्ञहरू बताउँछन् । यसले बियरको मूल्य बढाउन सक्छ ।

laxmi

कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि बियर कम्पनीको बिक्री प्रभावित भएको र यो वर्ष राम्रो बिक्री हुने अपेक्षा गरिएको थियो । तर युक्रेनमा चलिरहेको लडाइँले कम्पनीहरूको ब्यापार योजना प्रभावित हुन सक्छ । नेपालमा हाल एक दर्जनभन्दा बढी बियर कम्पनीहरुले बियर उत्पादन गर्दै आएका छन् । युक्रेनी संकटले नेपालमा समेत आपूर्ति श्रृंखलालाई असर गर्ने खतरा छ ।

यति ब्रुअरीका प्रबन्ध निर्देशक अरुण केसीका अनुसार रुस–युक्रेन संकट लम्बिए बियरका लागि आवश्यक जौको मूल्यवृद्धि भई असर पर्न सक्छ । केसीले अहिले नै नेपाली बजारमा त्यसको असर नदेखिएको तर, त्यसैलाई आधार बनाएर कालोबजारी हुनसक्ने सम्भावना उच्च रहेको बताए ।

मूल्य कहिले बढ्छ

युक्रेन संकटले यस क्षेत्रमा मार्जिन दबाब बढने उद्योगीहरु बताउँछन् । ‘जौको मूल्यमा उल्लेख्य वृद्धि भएको छ र युक्रेनको संकट लामो समयसम्म बढ्यो भने मूल्य बढन सक्छ,’ उनले भने । बियर कम्पनीहरूले तुरुन्तै मूल्य बढाउने कि हेर्न बाँकी छ । मार्चदेखि जुलाईसम्मको अवधिमा बियर कम्पनीहरूले आफ्नो वार्षिक बिक्रीको ४० देखि ४५ प्रतिशत हिस्सा को व्यवसाय गर्छन ।

बियर कम्पनीहरूले हरेक आर्थिक वर्षमा आफ्नो बिक्री ३० देखि ४० प्रतिशतले बढ्ने प्रक्षेपण गर्दै आएका छन् । कोरोना महामारीसँग सम्बन्धित प्रतिबन्धका कारण विगत दुई वर्षदेखि रेस्टुरेन्ट, बार र क्लबहरू बन्द अवस्थामा रहेका कारण व्यापार प्रभावित भएको थियो । देशमा सबैभन्दा धेरै बियर बिक्री हुने ठाउँमा रेस्टुरेन्ट, बार र क्लबहरू नै हुन् ।

मूल्य किन बढ्छ

युक्रेन संकटका कारण विश्वभर जौको आपूर्ति अवरुद्ध हुने भएकाले विश्व बजारमा यसको भाउ बढ्ने निश्चित छ । जसको प्रभाव नेपालमा पनि जौको मूल्य स्वाभाविक रूपमा बढ्ने छ । यसले बियरको मूल्य पनि बढाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL