Logo

खानामा पनि बिदेशकै भर, पाँच प्रमुख कृषि उपज आयातका लागि ६ महिनामै बाहिरियो ४३ अर्ब

खानामा पनि बिदेशकै भर, पाँच प्रमुख कृषि उपज आयातका लागि ६ महिनामै बाहिरियो ४३ अर्ब



काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत बढी हिस्सा कृषि क्षेत्रले ओगटेको छ । अझै पनि ६५ प्रतिशत बढी रोजगारी कृषि क्षेत्रमै भएकाले पनि नेपाल कृषि प्रधान देशका रुपमा चिनिँदै आएको छ । नेपालको पहिचान कृषि प्रधान देशका रुपमा रहेको भएपनि कृषि उपजको आयातको तथ्यांकले नै नेपाललाई गिज्याईरहेको देखिन्छ ।

laxmi

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिनाको तथ्यांक हेर्ने हो भने पनि यस अवधिमा ४२ अर्ब ७२ करोड ४५ लाख रुपैयाँ बढीको १ करोड १३ लाख क्विन्टल प्रमुख खाद्यान्न भित्रिएको छ । विसं २०४० को दशकमा धान, मकै, गहुँलगायतका प्रमुख खाद्यान्न निर्यात गरिरहेको नेपालले पछिल्लो समय भने यस्ता उपजहरु उच्च मात्रामा आयात गर्ने गरेको छ । नेपालका छिमेकी देश भारत र चीनबाट मात्रै नभई बोलिभियादेखि मेक्सिकोसम्मका देशहरुबाट नेपालमा यस्तो खाद्यान्न आयात हुने गरेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालले १७ अर्ब ६ करोड रुपैयाँ बढीको ३२ करोड ८९ लाख १९ हजार किलो चामल आयात गरेको छ । नेपालले यस अवधिमा विभिन्न ३ शीर्षकमा आयात गरेको चामल भारत, चीन, भियतनाम, अष्ट्रेलिया, जापान, कोरिया, अमेरिकालगायत १२ देशबाट चामल आयात गरेको छ । यस्तै नेपालले यसै अवधिमा १० अर्ब ७ करोड रुपैयाँ बढीको ३४ करोड ७० लाख किलो धान आयात गरेको छ । नेपालका प्रमुख खाद्यान्न बालीमा पर्ने धान र चामल नै बाहिरी देशबाट अर्बाैको आयात हुनुले नेपालमा खाद्यान्नको उत्पादन नहुनु नै देखाउँछ ।

यतिमात्रै नभई नेपालले गहुँ, जौ, कोदो, फापर, चीनु, जुनेलो र मकै पनि आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा अपहेलना गरिएको चीनु र जुनेलोसमेत नेपालले पछिल्लो ६ महिनामा क्रमशः साढे ११ हजार र ५ सय ४८ किलो आयात गरेको देखिन्छ । यस्तै नेपालले यस अवधिमा १ करोड ११ लाख रुपैयाँ बढीको ३ लाख २७ हजार किलो कोदो आयात गरेको छ । साथै यस अवधिमा जौ ३ लाख ७० हजार किलो र ओट्स ५२ हजार किलो आयात भएको तथ्यांकमा देखिन्छ । नेपालमा धेरै आयात हुने खाद्यान्नको दोस्रो र तेस्रो स्थानमा परेका मकै र गहुँको आयात पछिल्लो ६ महिनामा क्रमशः ३३ करोड ५२ लाख ३७ हजार र १० करोड ७५ लाख १८ हजार किलो आयात भएको देखिन्छ । यी दुई प्रमुख खाद्यान्न खरिदमा नेपालको ६ महिनामा १५ अर्ब १८ करोड रुपैयाँ बढी बाहिरिएको छ ।

यी देशबाट आउँछ नेपालमा खाद्यान्न

खाद्यान्न उत्पादनमा ह्रास आउँदा नेपालले विभिन्न देशबाट आयात गरी खपतको जोहो गर्ने गरेको छ । पछिल्लो ६ महिनामा नेपालमा आयात भएका प्रमुख खाद्यान्नहरु पनि मुख्य गरी भारत र चीनबाट आएको देखिन्छ । त्यसबाहेकका देशहरुमा मेक्सिको, टकी अमेरिकालगायतका देशबाट पनि खाद्यान्न आउने गरेको तथ्यांकले देखाउँछ ।

नेपालले चालु आवको ६ महिनामा अमेरिकाबाट मात्रै जौ र ३ लाख ८ हजार किलो मकै आयात गरेको छ । यस्तै अमेरिकाबाटै नेपालले २२ लाख ५९ हजार किलो चामलसमेत आयात गरेको छ । यता दक्षिण अफ्रिका, टर्की, ईन्डोनेसिया, क्यानडा, ब्राजिल, अर्जेन्टीनालगायतका देशबाट पनि नेपालमा मकै आयात भएको देखिन्छ । नेपालले पछिल्लो ६ महिनामा भारतबाट मात्रै २१ हजार रुपैयाँ बराबरको १ सय २५ किलो फापर आयात गरेको छ ।

किन बढ्दैछ खाद्यान्नकै आयात ?

कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान २६ दशमलव ५० प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा हाल ६५ प्रतिशत बढी नेपाली आवद्ध छन् । कृषि तथा पशुपन्छी मन्त्रालयकका अनुसा नेपालमा खेतीयोग्य जमिन ४० लाख हेक्टर छ । ४० लाख हेक्टर खेतीयोग्य जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा मात्र खेती गरिएको छ । कृषिको क्षेत्रफललाई मात्र नियाल्दा हिमाली क्षेत्रमा ३५ प्रतिशत, पहाडी क्षेत्रमा ४२ प्रतिशत र तराई क्षेत्रमा २३ प्रतिशत मात्र जमिन छ । यसबाट आव २०७७÷७८ मा कुल १ करोड ९ लाख २६ हजार ३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो । नेपालमा प्रतिवर्ष चामल, मकै, गहुँ, कोदो, जौ, फापर गरी ६१ लाख मेट्रिक टन आवश्यक पर्दछ ।

उक्त तथ्यांक हेर्दा खाद्यान्न उत्पादन अधिक नै देखिन्छ तर आवश्यक भण्डारण र बजारको व्यवस्थापन नहुँदा उत्पादनकै समयमा खलाबाटै अन्न भारत जाने र पछि खाद्यान्न अभाव हुने समयमा भारतबाटै खरिद गरेर खानुपर्ने अवस्था आएको कृषिविज्ञ केशव आचार्य बताउँछन् । उनका अनुसार कुल खेतियोग्य जमिनको लगभग २० देखि २५ प्रतिशत बाँझै छ । मानिस कामको सिलसिलामा जहाँ गयो त्यही बस्नाले खेतियोग्य जमिन बाँझै रहने अवस्था आएको छ ।

कृषि उत्पादनभन्दा वैदेशिक रोजगारीमा सुख देख्नेहरू बढेर गएपछि विदेश जाने युवाको ताँती बढ्दो छ भने कृषि उत्पादन घटिरहेको देख्न सकिन्छ । नेपालमा पञ्चायतको अन्त्य हुँदासम्मै नेपाली अन्न भारतलगायतका देशमा निर्यात हुने गरेको थियो । त्यसबेला अन्न निर्यात कम्पनी खोल्ने सुरसारसमेत चलेको थियो । तर, त्यसयता जनसंख्या बढेसँगै बाँझो जमिनको भाग पनि बढ्यो । जसका कारण प्रमुख खाद्य बाली नै कम उत्पादन हुन थाल्दा निर्यातको सट्टा आयात गरेर खानुपर्ने अवस्था आएको देखिन्छ ।

६ महिनामा धेरै आयात भएका प्रमुख ५ खाद्यान्न

खाद्यान्न
परिमाण (मेट्रिक टनमा)
रकम (रु)
धान, चामल६,७५,९४३२७ अर्ब १३ करोड
मकै३,३५,२३७११ अर्ब ७१ करोड
गहुँ१,०७,५७०३ अर्ब ४६ करोड
जौ३७०१ करोड ३९ लाख
कोदो३२७१ करोड ११ लाख

प्रतिक्रिया दिनुहोस्
MBL