Logo

बिरामी भन्छन् ‘सिटामोल छैन’, उत्पादक भन्छन् ‘ब्राण्डको पछि लाग्दा अनावश्यक भ्रम’

बिरामी भन्छन् ‘सिटामोल छैन’, उत्पादक भन्छन् ‘ब्राण्डको पछि लाग्दा अनावश्यक भ्रम’



काडमाडौं । पछिल्लो समय सामाजिक संजालमा हल्ला भएजस्तो बजारमा प्यारासिटामोल अभाव नभएको नेपालका औषधि उत्पादकहरुले बताएका छन् । नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै सिटामोल अभाव भन्दै हल्ला गरिएपनि वास्तविकतामा त्यस्तो अभाव नभएको नेपालका औषधि उत्पादकहरु बताउँछन् ।

अहिले मानिसहरुमा सिटामोल र प्यारासिटामोलको भ्रमका कारण बजारमा सिटामोल अभाव भएको भन्दै बढी हल्ला गरिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं क्वेष्ट फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठ बताउँछन् । ‘अहिले नेपालमा २ दर्जनभन्दा बढी कम्पनीले प्यारासिटामोल उत्पादन गर्दै आएका छन्,’ उनले भने, ‘जसमध्ये नेपाल औषधिले उत्पादन गरेको प्यारासिटामोल अभाव भएको होला तर निजी औषधि उत्पादकहरुले उत्पादन गर्ने प्यारासिटामोल अभाव भएको छैन ।’ अहिले मानिसहरु जेनेरिक नेमभन्दा पनि ब्राण्ड नेमको पछि लाग्दा बजार आवश्यकभन्दा बढी हल्ला फैलिएको उनको भनाई थियो ।

तर प्यारासिटामोलमा २०६४ सालदेखि नै सरकारले मुल्यमा कार्टेलिङ गरेका कारण निजी औषधि उत्पादकहरुले ठूलो मात्रामा उत्पादन भने नगरेको उनको तर्क छ । ‘अहिले नेपालमा एकचक्की प्यारासिटामोल उत्पादन गर्दा १.४० रुपैयाँ पर्छ,’ उनले भने, ‘तर सरकारले यसको अधिकतम मुल्य १ रुपैयाँ निर्धारण गरिदिएको छ ।’ सरकारले हरेक बस्तुको मुल्य बढ्दा १५ बर्ष अघि तय भएको प्यारासिटामोलको मुल्यमा अहिलेसम्म हेरफेर नगर्दा निजी औषधि उत्पादकहरु भने समस्यामा परेको उनको तर्क थियो ।

यस्तै नेपाल औषधि उत्पादक संघका अध्यक्ष तथा लोमस फर्मास्युटिकल्सका निर्देशक प्रजवल जंग पाण्डेले पनि अहिले हल्ला भएजस्तो प्यारासिटामोलको अभाव हुने अवस्था नरहेको बताउँछन् । तर पछिल्लो समय बढ्दो कोभिडका कारण बढी माग हुँदा केहीहदसम्म माग र पूर्तिको चक्र भने नमिलेको हुनसक्ने उनको भनाई छ । ‘नेपालमा करिव डेढ दर्जन कम्पनीले प्यारासिटामोल आयात गर्दै आएका थिए तर तर आयाति प्यारासिटामोलको मुल्य भारतमै १.७० भारु पर्ने र नेपालमा ल्याएर १ रुपैयाँमा बिक्री गर्नुपर्ने भएकाले आयात बन्द भएको छ,’ उनले भने, ‘तर नेपाली औषधि उत्पादकहरुले व्यवसाय भन्दा पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्यारासिटामोल उत्पादन गर्दै माग अनुरुप बजारमा पठाइरहेका छन् ।’ साथै अहिले पनि लोमशले मात्रै मासिक ३० देखि ४० लाख ट्याब्लेट प्यारासिटामोल उत्पादन गरी बजारमा पठाईरहेको उनले जानकारी दिए ।

यसैगरी नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफुल्लाले भने केही दिनयता बजारमा सिटामोल अभाव भैरहेको गुनासो आएको बताएका छन् । ‘नेपाल औषधिले २ दिनमा साढे ६ लाख ट्याब्लेट सिटामोल उत्पादन गरेर बजारमा पठाइरहेको छ,’ उनले भने, ‘अहिले कतिपयले गलत मनशाय राखेर होल्ड गरेको पनि हुनसक्छ त्यसैले आजदेखि हरेक हस्पताल बाहिरका औषधि पसलहरुमा डाइरेक्ट सप्लाई गर्दै छौं ।’ साथै प्यारासिटामोल मात्रै उत्पादन गर्दा सरकारी मुल्यमा बेच्नु बाध्यता रहेको र प्यारासिटामोलमा थप केही राखेर उत्पादन गर्दा बढी मुल्य लिन पाईने भएकाले पनि कतिपय उत्पादकले त्यसरी उत्पादन गरिदिँदा अभाव हुन पुगेको उनको तर्क छ । आजदेखि नेपाल औषधिको उत्पादन वितरणलाई प्रभावकारी बनाईएको र केही दिनभित्रै सिटामोल अभावको समस्या समाधान हुने उनको तर्क छ ।

सरकारी मुल्य अनुसार अहिले प्यारासिटामोलको मुल्य प्रति ट्याब्लेट ७४ पैसा रहेको छ । तर अहिलेको कतिपयले कृतिम अभाव देखाएर मुल्य बढाउन चलखेल गरेको हुनसक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । साथै पछिल्लो समय निजी औषधि उत्पादक, सरकारी स्वामित्वको नेपाल औषधि र विक्रेताको मिलेमतोमा बजारमा कृतिम अभाव गराउने काम भैरहेको नेपाल उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । ‘नेपाल औषधिले पनि अर्थ मन्त्रालयले मागे अनुरुप अनुदान दिएन भनेर आफ्नो उत्पादन क्षमता घटाएको छ भने निजी औषधि उत्पादकहरुले अहिलेको अवस्थामा मुल्य बढाउन कम औषधि उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘साथै होलसेल र खुद्रा पसलले पनि उच्च माग हुँदा बढी मुल्यमा बिक्री गर्न अहिलेलाई कृतिम अभाव गरी होल्ड गरेका छन् ।’ जसका कारण बजारमा तत्काललाई प्यारासिटामोल अभाव देखिएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL