Logo

मदिरा कारोबारी अग्रवाल भाग्दा ५ बैंकको कमाईमा असर, दोस्रो त्रैमासमा १ अर्ब प्रोभिजन

मदिरा कारोबारी अग्रवाल भाग्दा ५ बैंकको कमाईमा असर, दोस्रो त्रैमासमा १ अर्ब प्रोभिजन



काठमाडौं । विभिन्न ५ वाणिज्य बैंकहरुले चालू आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दा थप १ अर्ब रुपैयाँ प्रोभिजन गर्नुपर्ने भएको छ । वाणिज्य बैंकहरुले कर्जा लगानी गरेका मदिरा कारोबारी अमित अग्रवाल र अमित अग्रवाल भाग्दा उनीहरुलाई प्रबाह गरेको कर्जा र सोको ब्याज वापतको थप १ अर्ब रुपैयाँभन्दा बढी रकम प्राभिजन गर्नुपर्ने भएको हो ।

laxmi

नेपालमा ३ दशकदेखि मदिरा कारोबार गर्दै आएका अग्रवाल दाजुभाई गत हप्ता एउटा नोट लेख्दै नेपालबाट वेपत्ता थिए । उनीहरु भागेसँगै कर्जा दिएका इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बंगलादेश बैंकले उनीहरुलाई दिएको कर्जा वापतको रकम प्रोभिजन गर्नुपर्ने भएको हो । स्रोतका अनुसार मदिरा कारोबारी अग्रवाल दाजुभाईको कम्पनीको नाममा सबैभन्दा बढी इन्भेष्टमेन्ट बैंकले कर्जा दिएको छ । सो बैंकले उनीहरुबाट सावा र ब्याज गरी ३२ करोड रुपैयाँभन्दा बढी असुल गर्नुपर्ने सम्बद्ध स्रोतको भनाई छ । तर, सो बैंकले धितोको आधारमा भन्दा पनि हाइपोथेटिकल कर्जा दिएका कारण उठ्ने सम्भावना ज्यादै न्यून रहेको छ । जसका कारण बैंकलाई ठूलो धक्का लाग्ने सम्बद्ध स्रोतको भनाई छ ।

यसैगरी दोस्रोमा मेगा बैंकको करिव २५ करोड रुपैयाँ लगानी रहेको छ । सो बैंकको पनि धितोमा र हाईपोथेटिक कर्जा प्रबाह गरेका कारण धितोले मात्रै सबै कर्जा रिकभरी नहुने सम्बद्ध स्रोतको भनाई रहेको छ । यसैगरी सावा र ब्याज गरी २२ करोड रुपैयाँ लगानी गरेको एभरेष्ट बैंक र १८ करोड रुपैयाँ लगानी गरेको ग्लोबल आईएमई बैंकको भने अन्य बैंकको तुलनामा धितो बढी रहेको बुझिएको छ । यद्यपि सबै बैंकले राष्ट्र बैंकको नियम अनुसार ऋणी भागेपछि तत्काल उक्त कर्जालाई प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । यसैगरी सो बैंकलाई नेपाल बंगलादेश बैंकले पनि लगानी गरेको बुझिएको छ । तर, सो बैंकले कति लगानी गरेको छ भन्ने यकिन हुन आएको छैन ।

अग्रवाल दाजुभाईको नाममा कर्जा प्रबाह गरेका सबै बैंकले उनीहरु भागेसँगै सो बराबरको रकम तत्काल प्रोभिजन गर्नुपर्ने नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले जानकारी दिए । ‘राष्ट्र बैंकको एकीकृत निर्देशनको बुदाँ नम्बर २ अनुसार ऋणी भागेका तुरुन्तै उनीहरुलाई दिएको कर्जा वापतको रकम प्रोभिजन गर्नुपर्छ, हामीले यस विषयमा सुक्ष्म तरिकाबाट अध्ययन गरिरहेका छौं,’ उनले भने ।

यता बैंकहरुले भने अग्रवाल दाजुभाई भागेसँगै ऋण असुलीका लागि सुचना प्रकाशित गर्न थालेका छन् । ऋण नतिरि अग्रवाल दाजुभाई भागेपछि मुचुल्का उठाउन व्यस्त भएका बैंकहरुले ३५ दिने सुचना निकालेरै ऋण असुली प्रक्रिया अघि बढाएका हुन् ।

नेपालमा अग्रवाल दाजुभाईले अमिअभि ट्रेडिङ, अलायन्स डिस्ट्रिब्युटर्स, ग्रीनलाइन, ग्रीनलाईन टुलगायतका कम्पनी खोलेर मदिरा आयात तथा विक्री गर्दै आएका थिए । उनीहरु भाग्दा बैंक, सहकारी, मिटरब्याजी र उनीहरुको घर तथा जग्गा खरिदका लागि बैंना गरेका व्यक्तिहरुको समेत गरी २ अर्ब रुपैयाँ डुब्ने देखिएको छ । तर, उनीहरुले कतिपय बैंकमा धितो राखेका कारण त्यस्ता कर्जा भने असुली हुने देखिएको छ । तर बैंकहरुले पनि एउटै धितोमा मल्टिपल कर्जा दिएका कारण उनीहरुले लिएको कर्जा मध्ये ५० प्रतिशतमात्रै रिकभरी हुने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL