Logo

२८ महिनामा २५ लाख इम्बोस्ड नम्बर प्लेट वितरण गर्ने तयारी, म्याद थपेर पुरानै कम्पनीलाई जिम्मा

२८ महिनामा २५ लाख इम्बोस्ड नम्बर प्लेट वितरण गर्ने तयारी, म्याद थपेर पुरानै कम्पनीलाई जिम्मा



काठमाडौं । सरकारले सवारी साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडानका लागि जिम्मा दिएको पुरानै कम्पनीको म्याद थप गरेको छ । यातायात व्यवस्था विभागले गत जेठ महिनामा ५ बर्षको म्याद सकिएको बंगलादेश र अमेरिकाको ज्वाईन्ट भेन्चरको कम्पनी डेकाटुर टाइगरको म्याद २८ महिना थप गरेको हो । विभागका अनुसार कम्पनीले अबको २८ महिनामा २५ लाख सानाठूला सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट छापेर जडान गर्नु पर्नेछ ।

laxmi

सरकारले विस २०७३ जेठ १७ गते डेकाटुर टाईगरसँग ५ बर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेगरी सम्झौता गरेको थियो । तर, सम्झौता भएको ५ बर्षमा विभिन्न अड्चनका कारण कम्पनीले ४ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरेको छ । यसबीचमा कम्पनीबिरुद्ध सर्वाेच्चमा इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने भन्दै रिट परेपछि लामो समय सर्वाेच्चबाट आदेश नआउँदा थप ढिलाई भएको थियो । गत बर्ष मात्रै सर्वाेच्चले अंग्रेजी भाषा नै प्रयोग गर्न सकिनेगरी आदेश दिएपछि कम्पनीले गत बर्षको साउनदेखि काम अघि बढाएको थियो ।

यातायात व्यवस्था विभागका अनुसार हालसम्म २२ देखि २३ हजार सवारीसाधनमा यस्तो इम्बोस्ड नम्बर प्लेट जडान गरिसकिएको छ । यस्तै ६० हजार बढी प्लेट छापेर तयार भइसकेको विभागका महानिर्देशक नमराज घिमिरेले बिजखबरलाई जानकारी दिए । कम्पनीसँग सम्झौता भएकै समयमा सरकारले डेकाटुर टाइगर कम्पनीलाई ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । यस्तै सम्झौतामा काम नभएपनि उक्त कम्पनीले कुल रकमको ९५ प्रतिशत अर्थात ४ अर्ब ५४ करोड २ लाख रुपैयाँ लिन पाउनेसमेत उल्लेख छ ।

कम्पनीले विस २०७४ साल भदौदेखि सम्झौताअनुरुप सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । लगभग ६ महिनासम्म कम्पनीले प्रिन्ट मेशिन राखेर निजी तथा सरकारी गरी ३ हजार ९ सय ४६ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेको थियो । तर, इम्बोस्ड नम्बर प्लेट नेपालीमा हुनुपर्ने भन्दै सर्वाेच्चमा रिट परेपछि जडान गर्ने काम स्थगित भएको थियो । करिव २ बर्षसम्म विचाराधीन रहेको मुद्दा सर्वाेच्चले सल्टाएपछि मात्रै विभागले गत बर्षको साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट वितरण गर्नेगरी सूचना निकालेको थियो । त्यसपछि पनि दोस्रो चरणको लकडाउनलगायतका बाधाका कारण इम्बोस्ड नम्बर प्लेट वितरणमा अन्यौलता हुँदै आएको थियो ।

२८ महिना थपियो म्याद

कम्पनीको म्याद गत जेठ महिनामा सकिएपछि यातायात व्यवस्था विभागले पुनः २८ महिनाका लागि म्याद थप गर्दै कम्पनीलाई नै इम्बोस्ड नम्बर प्लेट छाप्ने जिम्मा दिएको हो । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार कम्पनीलाई ५० प्रतिशत समय म्याद थप्न पाइने व्यवस्थाअनुसार म्याद थपिएको हो । यस अवधिमा कम्पनीले जसरी पनि ३५ लाख सवारीसाधनमा प्लेट जडान गर्ने प्रतिवद्धता जनाएपछि पनिे म्याद थपिएको उनले जानकारी दिए । कम्पनीले यस अवधिमा ३ सिफ्टमा काम गराएर भएपनि नम्बर प्लेट छाप्ने प्रतिवद्धता दिएको छ । विभागले पनि यस अवधिमा २५ लाख सवारीसाधनमा जसरी पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्ने रणनीति बनाएको महानिर्देशक घिमिरेले बताए ।

कसरी हुन्छ वितरण ?

यातायात व्यवस्था विभागले मंसिर १ गतेदेखि नै सबै सवारीसाधनमा जडान गर्नुपर्ने इम्बोस्ड नम्बर प्लेट भने विभागले नै जडान गरिदिनेछ । जसका लागि सेवाग्राहीले विभागको वेबसाईटमार्फत फारम भरेर आफ्नो पालो अनुसार विभागमा उपस्थित हुनुपर्छ । सेवाग्राहीले बुझाएको डकुमेन्टअनुसार विभागको डाटा मिलेमा विभागले सेवाग्राहीलाई यातायात कार्यालयले दिएको नम्बरको इम्बोस्ड नम्बर प्लेटमा पर्सनल डाटा राख्नेछ र दिनेछ ।

कति पर्छ मूल्य ?

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि सवारीसाधनलाई वर्गीकरण गरी मूल्य तोेकेको छ । विभागले २ पाँग्रे सवारीसाधनका लागि २ हजार ५ सय रुपैयाँ तोकेको छ भने ३ पाँग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै ४ पाँग्रे साना सवारीसाधनका धनीहरुले भने इम्बोस्ड नम्बर प्लेट जडान गरेवापत ३ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने हुन्छ । यस्तै ठुला सवारीसाधनका धनीहरुका लागि भने ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

विभागले उल्लेखित राजस्व बुझाउने स्थानहरुको पनि टुँगो लगाएको छ । विभागका अनुसार २ पाँग्रे सवारीसाधनको धनीहरुले तोकिएको राजस्व यातायात व्यवस्था कार्यालय गुर्जुधारामा रहेको ग्लोबल आईएमई बैंकको शाखामा विभिन्न कागजातसहित बुझाउनुपर्नेछ । यस्तै अन्य सवारीसाधनको हकमा भने ललितपुरको एकान्तकुना र यातायात व्यवस्था कार्यालयमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा जम्मा गर्न सक्नेछन् ।

कहाँबाट जडान गर्न सकिन्छ ?

सवारीधनीहरुले राजस्व बुझाएपछि आफ्ना सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरिन्छ । त्यसका लागि विभागले छुट्टाछुट्टै स्थानहरु तोकेको छ । विभागका अनुसार २ पाँग्रे सवारीसाधनका धनीहरुले आफ्ना सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न यातायात व्यवस्था कार्यालय गुर्जुधारा जानुपर्नेहुन्छ ।

यस्तै ३ पाँग्रे र साना तथा ठुला, मझौला सवारीसाधन धनीहरुले भने सवारी परिक्षण कार्यालय टेकुमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्नेछन् साथै ठुला ४ पाँग्रे सवारीसाधका लागि ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने सुविधा यातायात व्यवस्था कार्यालय टेकुमा गरिएको छ । यस्तै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम विभागको कार्यालय मीनभवनमै गरिने विभागले जानकारी दिएको छ ।

बुझाउनुपर्ने कागजात

सवारीधनीले आफ्नो सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न कर चुक्ता गरेको अनिवार्य गरिएको छ । साथै कर चुक्ता सम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेट जडानका लागि राजस्व तिरेको भौचर, अनलाईन आवेदन दिनेबेला भरेका कागजातका साथै अनलाईन आवेदनको प्रिन्ट पनि इम्बोस्ड नम्बर प्लेटसमेत बुझाउनुपर्ने हुन्छ ।

अब राजस्व पनि घरैबाट

विभागले हाल इम्बोस्ड नम्बर प्लेटका लागि फारम भर्ने सिस्टम पनि अपग्रेड गर्ने भएको छ । हाल यो सिस्टममार्फत सेवाग्राहीले डकुमेन्ट र राजस्व तिर्न सक्ने सुविधा राखिएको छैन । अब नयाँ अपग्रेड हुने सिस्टममा भने राजस्व तिर्न सक्ने र बिलबुक, भन्सारको प्रज्ञापन पत्र, लाईसेन्स, नागरिकतालगायत कागजातहरु पनि घरैबाट दिन पाईने सुविधा थपिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL