Logo

नेपालको आफ्नै भू-उपग्रह राख्न परामर्शका लागि ४ कम्पनी सर्टलिष्टमा, फ्रान्सेलीदेखि अमेरिकी कम्पनीसम्मको प्रतिस्पर्धा

नेपालको आफ्नै भू-उपग्रह राख्न परामर्शका लागि ४ कम्पनी सर्टलिष्टमा, फ्रान्सेलीदेखि अमेरिकी कम्पनीसम्मको प्रतिस्पर्धा



काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह प्रक्षेपणसम्बन्धी नीतिनिर्माण, व्यवस्थापन बारेमा कन्सल्टेसन सेवाका लागि ४ अन्तरराष्ट्रिय कम्पनी संक्षिप्त सूची (सर्टलिष्ट)मा परेका छन् । यसअघि पनि प्राधिकरणले गत बर्ष पुषमा नै ग्लोबल टेण्डर आह्वान गरेको थियो ।

laxmi

उक्त टेण्डरमा विभिन्न ९ कम्पनीले आवेदन दिएकामा ५ कम्पनीलाई संक्षिप्त सूचीमा समावेश गरिएको थियो । तर, प्राधिकणले उक्त ५ कम्पनी रेस्पोन्सिभ नभएको भन्दै उक्त टेण्डर नै रद्ध गरेर असोज ५ मा पुनः आशयपत्र माग गरेको थियो । उक्त आशयपत्रमा आवेदन दिएकामध्ये अन्तरराष्ट्रिय ४ कम्पनी संक्षिप्त सूचीमा परेका छन् ।

प्राधिकरणको संक्षिप्त सूचीमा फ्रान्सेली कम्पनी युरोकन्सल्ट, टर्किस कम्पनी टर्कस्याट टीटीजी, अमेरिकाको एसथ्रीटेल ईंक र थाईल्याण्डको थाईकम पब्लीक कम्पनी छानिएका हुन् । उक्त कम्पनीहरुलाई १ महिनाको समय दिएर आर्थिक र प्राविधिक प्रस्ताव माग गरिने र सोपश्चात कुनै एक कम्पनीलाई छनोट गर्ने प्राधिरकणको तयारी छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार सर्टलिस्टमा परेका ४ कम्पनीमध्ये उनीहरुको अनुभव र आर्थिक, प्राविधिक प्रस्तावका आधारमा पुनः छनोट प्रक्रिया अघि बढ्नेछ ।

यसरी छनोट भएको कम्पनीले अन्तरराष्ट्रिय दूरसंचार संगठन (आईटीयु)ले उपलब्ध गराएको नेपालको स्पेसमा भू–उपग्रह पठाउनेसम्बन्धी अध्ययन र परामर्शको काम गर्नेछ । प्राधिकरणका अनुसार उक्त परामर्शभित्र रहेर कम्पनीले यससम्बन्धी नियमन तथा सुरक्षासम्बन्धी नीति, विजनेस मोडालिटी, तथा संचालनबारे अध्ययन गर्नेछ । यसरी अध्ययन गरिसकेपछि उक्त कम्पनीले भु उपग्रह प्रक्षेपणमासमेत प्राविधिक सहयोगहरु गर्नुपर्ने उल्लेख छ ।

नेपालले आफ्नै भुउपग्रह स्थापना गर्नका लागि भू–उपग्रह नीति २०७७ ल्याईसकेको छ । जसमा सन २०२२ भित्रै अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह प्रक्षेपण गरी संचालनमा ल्याईने उल्लेख छ । नेपालले हाल विभिन्न विदेशी भु उपग्रहहरुको प्रयोग गरी दूरसंचार तथा टेलिभिज सेवा प्रशारण गरिहेको छ । जसका कारण नेपालले भू–उपग्रह शुल्कवापत अर्बाै रुपैयाँ विदेश पठाईरहेको छ ।

नेपालले आफ्नै भू–उपग्रह राखेको खण्डमा विदेशी भु उपग्रह प्रयोगवापत विदेशिने अर्बाै रुपैयाँ नेपालमै रहने बताइएको छ । यस्तै नेपालको आफ्नै भू–उपग्रह भएको खण्डमा नेपालका दुर्गम भेगहरुमा पनि संचार सेवाको सरल पहुँच पुर्याउन सकिने, राष्ट्रिय सुरक्षालगायतका विषयमा विशेष विकास हुनेलगायतका फाईदारहे रहेका छन् ।

आइटीयुले नेपाललाई १२३.३ डिग्री पूर्वी देशान्तरको अर्विटल स्लटमा सी ब्याण्डमा ३०० मेगाहर्ज र केयु ब्याण्डमा ५०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डविथ उपलब्ध गराएको छ । आईटीयुले उपलब्ध गराएको उक्त ब्याण्डविथ सदुपयोग हुन नसकेकाले भौगोलिक रुपमा विकट रहेका क्षेत्रमा दूरसंचार तथा प्रशारण सेवा विस्तार गर्ने तथा विपदको समयमा उपयुक्त संचार प्रविधिको प्रयोग कार्य गर्ने कार्यमा कठिनाई भईरहेको छ । नेपालले आफ्नै भू–उपग्रह राखेको खण्डमा यी समस्यासमेत हल हुने भू–उपग्रह नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL