Logo

काठमाडौंमा सडकको बेहाल : प्रधानमन्त्रीकै घर जाने बाटोको अवस्था लाजमर्दाे, न प्रधानमन्त्रीले देखे न सम्बन्द्यितले हेरे

काठमाडौंमा सडकको बेहाल : प्रधानमन्त्रीकै घर जाने बाटोको अवस्था लाजमर्दाे, न प्रधानमन्त्रीले देखे न सम्बन्द्यितले हेरे



काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा बेहाल स्थिति छ । केही मुख्य सडकहरु ठीकठाक देखिएपनि धेरैजसो सडकमा भने खाल्डाखुल्डी, ढल बगेको, ढल खुल्लै रहेको, विद्युत तथा पानीका लागि खनेर यत्तिकै छाडिएको कारण काठमाडौंका सडक जोखिमपूर्ण बनेका छन् । मुख्य सडकसँगै भित्री सडक र पैदलयात्रुका लागि निर्माण गरिएको फुटपाथको त झन विजोग अवस्था छ । तर, सम्बन्धित नकायहरु भने अहिले पनि कानमा तेल हालेर बसेको देखिन्छ ।

अवस्था कतिसम्म बिग्रेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवको घर जाने सडक मार्गकै अवस्था दयनीय छ । प्रधानमन्त्री देउबा प्रायः हाल वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको भएपनि केही समय मिलाएर बुढानीलकण्ठस्थित घर गईरहन्छन् । सचिवालयका अनुसार प्रधानमन्त्री हुनुभन्दा अघि उतै बस्ने उनी प्रधानमन्त्री भएयता भने घर जाने क्रम पातलिएपनि हप्तामा ३ देखि ४ दिन भने घर जाने गरेका छन् । यसरी उनी घर जाने आउने गरेको सडकको अवस्था भने दयनीय छ । नेपाल विद्युत प्राधिकरणले विद्युतको तार भुमिगत गर्नेभन्दै डेढ बर्षअघि खनेको बाँसबारी बुढानीलकण्ठ सडक खण्डमा पानी परेको बेला हिलो र घाम लागेको बेला धुलोले ढाक्ने गरेको छ ।

विद्युत प्राधिकरणले तार अण्डरग्राउन्ड गरेर सडक त्यत्तिकै छोडिदिँदा उक्त स्थान वरपर बस्ने बासिन्दाहरु पनि हैरान भईसकेका छन् । उक्त क्षेत्रकै गणेशचोकमा किराना पसल चलाएर बस्ने सुकबहादुर डंगोल दिनभर धुलोका कारण आफु आजित भएको बताउँछन् । उनका अनुसार हप्तामा ३ देखि ४ पटक त प्रधानमन्त्रीकै सवारी उक्त बाटोबाट हुन्छ । उनले प्रधानमन्त्रीको सवारी भएको पछिल्लो ५ महिनादेखि देखिरहेका छन् भने सडकबाट धुलो उड्न थालेको डेढ बर्षभन्दा बढी भइसकेको छ । तर, यसबीचमा न कुनै निकायले सडक व्यवस्थित गर्नेगरि काम गरेको छ न प्रधानमन्त्रीले नै यसको बारेमा पहल गरेका छन् । ‘प्रधानमन्त्री प्रतिहप्ता ३ देखि ४ पटकसम्म यो बाटोबाट हिँड्नुहुन्छ,’ उनले भने, ‘वहाँ यो क्षेत्रमा प्रवेश गर्दा निदाउनुहुँदो रहेछ नभए सडक बन्थ्यो होला नी,’ डंगोलले भने

यो समस्या उनको मात्रै होईन चक्रपथ पारी बाँसबारीदेखि बुढानीलकण्ठसम्म पसल कवल र घर भएका सबैको हो । सबैले घाम लागेको बेला धुलो र पानी परेको बेला सडकभरी हिलैहिलोको पीडा बोक्नुपरेको हात्तीगौँडाका स्थानीय हरिनारायण महर्जन बताउँछन् । उनका अनुसार कहिलेकाहीँ पानी परेको बेलामा गाडीले पसल भित्रैसम्म हिलो छ्यापीदिने गथ्र्याे, हाल घाम लागेकाले पसलभरि धुलैधुल बाहेक केही हुँदैन ।

केही हप्ता अघि मात्रै बाँसबारी बुढानीलकण्ठ सडक सरोकार समितिले उक्त सडकखण्डका विभिन्न स्थानमा ब्यंग्यसहितको ब्यानरहरु बनाएर झुन्ड्याएका थिए । जसमा प्रधानमन्त्रीदेखि देशका अन्य माथिल्लो ओहोदाका कर्मचारीहरुलाईसमेत ब्यंग्यसहितका शब्दहरु राखिएका थिए । यता सडक भत्काउने र पुनः टाल्ने कार्य गरिरहेको नेपाल विद्युत प्राधिकरण भने अब उक्त सडक व्यवस्थित हुने बताउँछ । शिलान्यास गर्दा हालका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक सकेसम्म नखन्ने र खनेपनि १० दिनमै टाल्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यस्तै उनले सडक खन्नै नपर्नेगरी होरिजेन्टल ड्रिलिङ मेशिनले प्वालपारेर तार अण्डरग्राउन्डिङ गर्ने भएकाले सडक अव्यवस्थित नहुने बताएका थिए । तर, लामो समयसम्म कोरोना महामारी र यो बर्षको ठूलो बर्षाका कारण भनेबमोजिम प्रतिवद्धता पुरा गर्न नसकेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् ।

उनका अनुसार लगातारको बर्षा र कोरोना महामारीका कारण कतिपय श्रमिकहरुको स्वास्थ्य अवस्था, बर्षामा सडक पिच गर्न नहुनेलगायतका कारणहरुलाई मध्यनजर गर्दै काममा ढिलाई भएको हो । अब लगातार घाम लागेपछि तार भुमिगतसँगै सडक पिच गर्ने काम पनि तीव्र हुने उनको भनाई छ । प्राधिकरणले सडक विभागसँग समन्वय गरेर हाल उक्त क्षेत्रका खनिएका स्थानहरुमा टाल्ने काम गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विजुलीका तार भुमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त कार्यको हाल ४० प्रतिशत बढी काम सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले काठमाडौंमा रत्नपार्क वितरण केन्द्र, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा तार भुमिगत गर्ने कार्य गरिरहेको छ ।

यस्तै भक्तपुर, ललितपुर वितरण केन्द्र अन्तर्गतका स्थानमा पनि भुमिगत गर्ने कार्य अघि बढिसकेको प्राधिकरणका प्रवक्ता भट्टराईले बिजखबरलाई जानकारी दिए । उनका अनुसार उपत्यका बाहिर भरतपुर र पोखरामासमेत तार भुमिगत गर्नका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ । यसरी काठमाडौंका लत्रिएका तार व्यवस्थित गर्नका लागि सुरु गरिएको तार अण्डरग्राउन्डिङ कार्यका लागि सडक खन्ने र पुनः नपुर्ने गरेपछि सडक अव्यवस्थित बन्दै गएका छन् । जसमा काठमाडौं उपत्यकाकै बाँसबारी बुढानीलकण्ठ सडक प्रमुख हो ।

प्रतिक्रिया दिनुहोस्
MBL