Logo

नागढुंगा–नौबिसे सुरुङमार्गमा ३२ प्रतिशत प्रगति : मुख्य सुरुङ ५ सय मिटर र इभ्याकुएसन टनेल १ किलोमिटर खनियो

नागढुंगा–नौबिसे सुरुङमार्गमा ३२ प्रतिशत प्रगति : मुख्य सुरुङ ५ सय मिटर र इभ्याकुएसन टनेल १ किलोमिटर खनियो



काठमाडौं । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङमार्गमा हालसम्म ३२ प्रतिशत प्रगति हासिल भएको छ । सुरुङमार्ग निर्माण गरिरहेको नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार हालसम्म १ हजार ७ सय ६२ मिटर सुरुङ खनिसकिएको छ । कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको हो । आयोजनाले दिएको जानकारी अनुसार आईतबार साँझसम्म मुख्य सुरुङमार्ग ५ सय ४१ मिटर खनिसकिएको छ । आयोजनाका निर्देशक नरेशमान शाक्यका यता इभ्याकुएसन सुरुङ भने १ हजार ५७ मिटर खनिसकिएको छ ।

आयोजनाले मुख्य सुरुङमार्ग खन्नेकाम इभ्याकुएसन टनेलभन्दा केही पछि का शुरु भएकाले यसको काम पनि केही कम नै भएको हो । आयोजनाले सुरुङमार्ग धादिङ र काठमाडौं दुवैतर्फबाट खनिरहेको छ । जसमध्ये धादिङतर्फबाट मुख्य र इभ्याकुएसन दुवै गरी ८ सय २७ मिटर खनिसक्दा काठमाडौंतर्फबाट भने ९ सय ३५ मिटर खनिसकिएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ सालको कात्तिकमै उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास गरेको ४२ महिनाभित्र निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने भएपनि विभिन्न कारणले निर्माण धकेलिएर गत बर्षमात्रै सुरु भएको थियो । गत बर्ष निर्माण सुरु गर्दा आयोजनाले भनेबमोजिम समयमै सुरुङमार्ग बनाउने काम सम्पन्न गर्ने बताएको थियो । सुरुङमार्ग निर्माण थालेको करिव १ बर्ष र शिलान्यास गरेको २ बर्ष पुग्दा काम भने ३२ प्रतिशतसम्म भएको छ ।

कोरोना महामारी, श्रमिकलाई कोरोना संक्रमणलगायतका समस्याले काममा केही बाधा ल्याएपनि आयोजना तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्न तीब्र रुपमा काम गरिरहेको आयोजना प्रमुख शाक्यले बिजखबरलाई बताए । उनका अनुसार कोरोना महामारीमा सुरुङमार्गमा काम गर्ने केही मजदुरलाई कोरोना संक्रमण भएपछि निर्माणस्थलमै आईसोलेसन बनाएर राखिएको थियो । यस्तै दशैंमा पनि श्रमिकलाई ४ दिनमात्रै विदा दिएर काम तीव्ररुपमा अघि बढिरहेको उनले बताए ।

आगामी बर्षको पुषसम्म निर्माण गरिसक्नुपर्ने उक्त सुरुङमार्गका लागि एप्रोच सडक बनाउने, कल्भर्टलगायत बनाउने काम पनि सँगसँगै भइरहेको उनले जानकारी दिए । जापानी सहयोग नियोग जाईकाको ऋण सहयोगमा निर्माण हुने उक्त सुरुङमार्ग २.३८ किलोमिटर लम्बाइ र २ लेन अर्थात ९.५ मिटर चौडाईको हुनेछ । जापानी सहयोग नियोग जाइकाको सहयोगमा सडक विभागले ०६९ माघदेखि ०७२ सम्ममा विभिन्न चरणको सर्वेक्षणका आधारमा सुरुङमार्ग निर्माणका लागि अध्ययन गरेको थियो ।

सुरुङमार्गका लागि जाइकाले १७ अर्ब सहुलियत ऋण दिएको छ । त्यसमा नेपाल सरकारले ४ अर्ब लगानी गरेर करिब २१ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । जापानले उक्त सुरुङमा लागि शून्य दशमलव १ प्रतिशत सहुलियत ब्याजमा ऋण सहयोग गरेको छ । जापानलाई नेपालले यो ऋण ४० वर्षभित्रमा तिर्नुपर्नेे शर्त छ ।

सुरुङमार्गको ठेक्का जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा पाएको थियो । आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २ दशमलव ३० किमि र धादिङतर्फ धुनिबेँसीको सिस्ने खोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । हाल एप्रोच सडकको काम पनि अघि बढिरहेको आयोजनाले जानकारी दिएको छ । यसरी एप्रोच सडक र सुरुङका कारण नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा आधा घण्टा बचत हुने बताईएको छ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिने आयोजनाले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL