Logo

बुटवलमा औद्योगिक क्षेत्रको करिब चार सय बिगाहा जग्गा अतिक्रमण, प्रशासन भने मौन

बुटवलमा औद्योगिक क्षेत्रको करिब चार सय बिगाहा जग्गा अतिक्रमण, प्रशासन भने मौन



काठमाडौं । रुपन्देहीको मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । बुटवल उपमहानगरपालिका–१७ मोतीपुरमा औद्योगिक क्षेत्रको चार सय बिगाहा जग्गा अहिले नै अतिक्रमण भैसकेको पाइएको छ ।

औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीले पाउने भन्दै रकम उठाएर आफुखुसी कित्ताकाँट चलिरहँदा पनि प्रशासन भने मौन छ । एमाले बुटवल उपमहानगर कमिटीले विज्ञप्ती नै जारी गरेर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुँदा पनि प्रशासन मौन बसेकोमा आपत्ति जनाएको छ । एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले जारी गरेको विज्ञप्तीमा औद्योगिक क्षेत्र स्थापना रोक्ने उद्देश्यले अतिक्रमण भइरहेको र यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने कुनै पनि सार्वजनिक जग्गा कब्जा गर्न नदिने बताए । यसका लागि राजनीतिक दलहरूसँग छलफल र समन्वय भइरहेको उनले बताए । उनले मोतिपुर क्षेत्रमा भइरहेको अवान्छित गतिविधिलाई छिट्टै अन्त्य गरिने उल्लेख गरे । त्यहाँ भइरहेको टहरा पटकपटक हटाइएको छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बुटवलका प्रमुख निमेश अधिकारीले मोतीपुर क्षेत्रमा अतिक्रमणका गतिविधि बढ्दै जाँदा त्यस क्षेत्रको विकासमै असर पुग्ने चिन्ता व्यक्त गरे । औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणलगायतका बाँकी काम अघि बढाउन राजनीतिक दल तथा यहाँ संघ–संस्थाहरूको साथ आवश्यक रहेको उनले बताए ।

गत २१ फागुनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल तथा उद्योग मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । स्थानीयको विरोधका बाबजुद सुरक्षा घेरामा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अवरोध सिर्जना हुँदा योजना अलपत्र पर्ने जोखिम बढेको छ । 

साविकको बुटवल नगरपालिका, टिकुलीगढ़ गाविस, आनन्दवन गाविस र फर्साटिकर गाविसका केही भाग (हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका) चार किल्ला तोकी आठ सय १३ बिगाहामा मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । यसैगरी १२ वैशाख ०७३ मो रुपन्देहीको मोतीपुरसहित बाँकेको नौबस्तालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL