Logo

दशैंका लागि हवाई टिकट लिनेको चाप, एयरलाइन्स कम्पनीहरुको के छ दशैं विशेष योजना ?

दशैंका लागि हवाई टिकट लिनेको चाप, एयरलाइन्स कम्पनीहरुको के छ दशैं विशेष योजना ?



काठमाडौं । नेपालीहरुका मुख्य पर्वका रुपमा रहेका दशैं, तिहार, छठलगायत चाडपर्वहरु नजिकिँदै जाँदा काठमाडौंलगायत शहरी क्षेत्रबाट आफ्नो गाउँघर फर्किनेको लहर शुरु भएको छ । केही समययता मुख्यत काठमाडौं छाड्नेहरु बाक्लिदै गएको देखिन्छ । काठमाडौं छाडनेको दर दशैंसम्म बढिरहने भएकाले यो समयमा यातायात तथा हवाई व्यवसायी विशेष रणनीतिका साथ योजना बनाइरहेका हुन्छन् । दशैंलाई लक्ष्य गर्दै यातायात व्यवसायीहरुले असोज दोश्रो सातादेखि बसको अग्रिम टिकट खुलाउने तयारी गरिरहेका छन् ।

तर, दशैंका लागि पछिल्लो समय हवाई यात्रा धेरैको रोजाईमा पर्न थालेको छ । एयरलाइन्स कम्पनीहरुले दशंैंका लागि भनेर अग्रिम हवाई टिकट नखुलाएपनि अहिले नै दशैंको आसपासमा हवाई टिकट लिनेहरुको चाप बढेको एयरलाइन्स कम्पनीहरु बताउँछन् । अग्रिम हवाई टिकट नखुलाएपनि एयरलाइन्स कम्पनीहरुले दशैंकै लागि भन्दै नयाँ भाडादर भने कायम गरिसकेका छन् ।

हाल दशैंका लागि अग्रिम टिकट लिनेहरुको संख्या बढेको बुद्ध एयरका मार्केटिङ म्यानेजर रुपेश जोशी बताउँछन् । जोशीका अनुसार अहिलेपनि काठमाडौंबाट अन्य स्थानमा होस या अन्य स्थानबाट काठमाडौं भित्रिनेमा होस यात्रुसंख्या उच्च रहने गरेको छ । बुद्ध एयरका प्रायः सबै गन्तब्यमा यात्रु चाप रहेको जोशी बताउँछन् ।

अहिले नै यात्रुको टिकटमा देखिएको चापका कारण दशैंमा यात्रुहरुले हवाई टिकट पाउन मुश्किल पर्नसक्ने श्री एयरलाईन्सका प्रवक्ता अनिल मानन्धर बताउँछन् । उनका अनुसार हाल दशैंका लागि भनेर तोकिएका निश्चित कोटाहरु पूरा हुन लागिसकेको अवस्था छ । ‘हामीले दशैंकै लागि भनेर अग्रिम टिकट भने खोल्दैनौं,’ उनले भने, ‘तर दशैं वरिपरिका लागि आवश्यक टिकटहरुको मूल्य भने केही फरक हुन्छ ।’ उनले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मूल्यभन्दा बढी मूल्य नपर्नेगरी दशैंका लागि टिकटको मूल्य केहि तलमाथि गर्ने गरेको बताए ।

एयरलाईन्स कम्पनीहरुले दशैंकै लागि भनेर अग्रिम टिकट बुकिङ भनेर खोल्ने गरेका छैनन् । तर, अग्रिम टिकट लिनेहरुले जुनसुकै बेलामा पनि टिकट काटेर राखिराख्न सकिने अवस्था छ । श्री एयरलाईन्सका प्रवक्ता मानन्धरका अनुसार यात्रुहरुले ५ देखि ६ महिना अघिदेखि नै टिकट काट्न सकिने व्यवस्था पनि छ । तर, त्यसबेलासम्म उडानको समयतालिका भने तलमाथि पर्नसक्ने सम्भावना भने रहन्छ ।

दशैंको अवसरमा काठमाडौंलगायत शहरहरुबाट बाहिर जानका लागि टिकट केही महंगो भएपनि फर्किने गन्तब्यबाट काठमाडौंका लागि भने टिकट अत्यन्त सस्तो हुनेगरेको बुद्ध एयरका मार्केटिङ म्यानेजर जोशी बताँछन् । ‘हामीले काठमाडौंबाट बाहिर जानेहरुका लागि मात्रै टिकटमा केही मूल्य थप्ने गरेका छौं,’ उनले भने, ‘तर, क्यानले तोकेको मूल्यभन्दा माथि भने जाँदैनौं ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुका लागि विभिन्न स्थानको हवाई भाडा उच्चतम र न्यूनतम भनेर तोकिदिएको छ ।

पछिल्लो समय सडकहरुमा पहिरो, जामलगायत समस्याले हवाईयात्रुहरु बढेको पनि उनले बताए । उनका अनुसार हाल सबैजसो उडानहरुमा फुल अकुपेन्सी छ । बुद्ध एयरले हाल दैनिक आन्तरिक र बाह्य गरी १६ गन्तब्यमा १ सय बढी उडान गरिरहेको छ । प्रायः सबै उडानहरु फुल अकुपेन्सीसहित उडान भइरहेको कम्पनीले जानकारी दिएको छ । केही दिन अघिमात्रै सुरु गरिएको पोखरा–नेपालगंज उडानमा भने यात्रुका लागि टिकटै नपाउने अवस्था आएकोसमेत कम्पनीको भनाई छ ।

यति एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौला भने यो दशैंमा अघिल्ला दशैंहरुको तुलनामा कमै चाप हुने बताउँछन् । उनका अनुसार यो दशैंमा विद्यार्थीलगायत पहिले नै गन्तब्यमा पुगिसकेको र त्यति यात्रुहरु नहुने भएपछि धेरै चाप नहुने उनको भनाई छ । यस्तै दशैंका लागि भन्दै यति एयरलाईन्समा २० देखि २० प्रतिशतसम्म टिकट बुकिङ भईसकेको पनि उनले बताए ।

हाल अनलाईनमार्फत टिकट लिनेको संख्या बढिरहेकाले कतिखेर कति जनाले टिकट लिन्छन भन्ने पनि भर नहुने उनको भनाई छ । यति एयरलाईन्सले हाल काठमाडौंबाट प्रत्येक दिन २१ उडान गरिरहेको छ । तर, दशैंमा भने थप ४ उडान थप गरेर दैनिक २५ उडान पुर्याउने योजना बनाएको बर्तौलाले बताए । उनका अनुसार उडान थप अनुमतिका लागि क्यानमा सिफारिस गरिएको छ । यस्तै असोज १ गतेदेखि सेवा सुरु गरेको गुण एयरलाईन्सले पनि दशैंका लागि अग्रिम टिकट लिनेको संख्या बढिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL