Logo

चिनियाँ लगानीको हब बन्दै नेपाल : सबैभन्दा बढी लगानी पर्यटनमा, काठमाडौंमा आकर्षण

चिनियाँ लगानीको हब बन्दै नेपाल : सबैभन्दा बढी लगानी पर्यटनमा, काठमाडौंमा आकर्षण



काठमाडौं । नेपाल चिनियाँ लगानीकर्ताका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । पछिल्ला केही वर्षयता नेपालमा वैदेशिक लगानी भित्र्याउनेमा चिनियाँ लगानीकर्ता अग्रस्थानमा रहँदै आएका छन् । उद्योग विभागको पछिल्लो ४ महिनाको तथ्यांकलाई आधार मान्दा केही वर्षमा नेपालमा चिनियाँ लगानीका विभिन्न परियोजनाहरुको बाक्लो उपस्थिति हुनेछ ।

laxmi

अझ काठमाडौं उपत्यकामा चिनियाँ लगानीका होटल तथा रेष्टुरेन्ट टन्नै सञ्चालनमा आउनेछन् । अझ अचम्मलाग्दो के छ भने कोरोनाकालमा सबैभन्दा बढी प्रभावित मानिएको होटल तथा रेष्टुरेन्ट क्षेत्रमा पछिल्लो ४ महिनामा मात्रै सोचेभन्दा धेरै लगानी प्रतिवद्धता आएको छ । विभागको तथ्यांकअनुसार गत बैशाख १ गतेयता मात्रै पर्यटन क्षेत्रमा विभिन्न ३७ उद्योगमार्फत ५ अर्ब ६० करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको छ ।

अघिल्लो बर्षदेखि विश्वभर फैलिएको कोरोना महामारी र कोरोनाकै कारण सृजित बन्दाबन्दीका कारण पर्यटकीय व्यवसायमा ठूलो असर परेको अवस्था छ । कोरोनाकै कारण नेपालका करिव ५० प्रतिशतभन्दा धेरै साना तथा मझौला होटललगायत पर्यटन व्यवसाय बन्द भएको आँकलन गरिएको छ भने स्थिति सामान्य हुने आशमा बसेका व्यवसायीहरुले अझै राहतको श्वास फेर्न सकेका छैनन् ।

तर, कोरोना महामारी सुरु भएपछि नेपालमा लकडाउनको घोषणा भएयता क्षेत्रका हिसावले सबैभन्दा धेरै वैदेशिक लगानी आउने क्षेत्र नै पर्यटन क्षेत्र रहेको छ । नेपालमा विस २०७६ साल चैत २६ गतेदेखि लकडाउनको घोषणा गरिएको थियो । त्यसयता मात्रै नेपालमा ४५ अर्ब ५४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा सबैभन्दा धेरै लगानी भित्र्याउने क्षेत्र भने पर्यटन क्षेत्र रहेको छ । उद्योग विभागका अनुसार यस अवधिमा पर्यटन क्षेत्रमा मात्रै २३ अर्ब ३७ करोड ३५ लाख बढीको लगानी प्रतिवद्धता आएको छ ।

पछिल्लो ४ महिनाकै तथ्यांक हेर्दा पनि विभिन्न ३७ उद्योगमार्फत ५ अर्ब ६० करोडको लगानी प्रतिवद्धता आएको हो । त्यसमा पनि कुल ३७ परियोजनामध्ये ३३ परियोजना चिनियाँ छन् । अन्य ४ परियोजना भने अमेरिका, भारत, भियतनाम अष्ट्रेलियाका १–१ ओटा छन् ।

चिनियाँ लगानीका साना परियोजना धेरै

उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो ४ महिनामा चिनियाँ लगानीका साना होटल तथा रेष्टुरेन्टबाट धेरै लगानी प्रतिवद्धता आएको देखिन्छ । यस अवधिमा विभिन्न २३ ओटा होटल तथा रेष्टुरेन्टमार्फत २ अर्ब ६० करोडको लगानी प्रतिवद्धता आएको छ । साथै, विभिन्न १३ ओटा मझौला लगानीका होटल तथा रेष्टुरेन्ट विभागमा दर्ता भएका छन् भने ठूलो लगानीको एउटा मात्रै ५० करोड रुपैयाँ लगानीको होटल दर्ता भएको छ ।

औद्योगिक व्यवसाय ऐन २०७३ ले १० करोड रुपैयाँसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, १० करोड देखि २५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र २५ करोड माथी स्थिर पूँजी भएका उद्योगलाई ठुलो उद्योगकको रुपमा वर्गीकरण गरेको छ ।

काठमाडौंमा केन्द्रित चिनियाँ लगानी

उद्योग विभागका अनुसार पछिल्लो ४ महिनामा प्रतिवद्धता आएका धेरै उद्योगकहरु काठमाडौं केन्द्रित छन् । चीनबाट आएका लगानी प्रतिवद्धताका ३३ परियोजनामध्ये सबै काठमाडौंमा केन्द्रित छन् । भारतबाट आएको ठुला लगानीको एक होटल परियोजनाबाहेक अन्य भियतनाम, अमेरिका र अष्ट्रेलियाबाट आएका १–१ परियोजना पनि काठमाडौंमै संचालन गर्नेगरी विभागमा दर्ता भएका हुन् ।

किन ओईरियो लगानी ?

कोरोना महामारीका कारण सबैभन्दा प्रभावित क्षेत्र होटल क्षेत्र भएपनि ्सबैभन्दा धेरै वैदेशिक लगानी यसै क्षेत्रमा आउनुले भविष्यमा नेपालमा पर्यटनको उच्च सम्भावना रहेको देखिनु नै भएको व्यवसायी बताउँछन् । लगानीकर्ताहरुले कोरोना महामारीको अहिलेको शून्य समयलाई उपयोग गर्दै धमाधम उद्योग दर्ता गरेर निर्माण प्रक्रिया पनि सुरु गरिसकेको विभागस्थित योजना, अनुगमन तथा औद्योगिक तथ्यांक शाखाका एक अधिकारीले बताए । उनका अनुसार विदेशी लगानीकर्ताले नै कोरोनाको समयलाई फुर्सदको समय मानेर पछि पुरानै अवस्था फर्किने आशसहित लगानी गरेको देखिन्छ ।

हाल दर्ता गरी संचालनका लागि तयारी गर्ने र कोरोना महामारीको अन्त्य भएसँगै संचालन गर्ने योजनासहित यो क्षेत्रमा लगानी प्रतिवद्धता ओइरिएको हुनसक्ने उनी अनुमान गर्छन । उनले पछिल्लो समय होटल क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा पनि लगानी प्रतिवद्धतामा लगातार सुधार हुँदै गएको बताए । कोरोना महामारीलाई ब्याकसाईडमा राखेर उद्योगमा लगानी प्रतिवद्धता जाहेर गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको उनले जानकारी दिए ।

के छ नेपाली व्यवसायीको अवस्था ?

कोरोना महामारीमा थलिएको नेपाली अर्थतन्त्रमा सबैभन्दा धेरै प्रभावित क्षेत्रको रुपमा पर्यटन क्षेत्रलाई लिइन्छ । कोरोनाकै कारण पर्यटन क्षेत्रका धेरै व्यवसायीले व्यवसायबाटै पलायन पनि हुनुपर्याे । कोरोनाकै कारण अझै पनि यो क्षेत्र पुरानो लयमा फर्किन नसकेको होटल एशोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । उनले उद्योग विभागमा कोरोना महामारीताका दर्ता भएको होटलहरु कागजमै सीमित हुने बताए ।

‘नेपालमा बर्षाैँदेखि लगानी गरेर संचालन गरिरहेका होटल त पुराना अवस्थामा आउन नसकेको बेला विदेशी लगानी कसले ल्याउँछ ?,’ उनले प्रश्न गरे, ‘सरकारी तथ्यांकमा देखाउनलाई या लाइसेन्स लिएर होल्ड गर्ने उद्देश्यसहित यस क्षेत्रमा विदेशी लगानीको प्रतिवद्धता आएको होला ।’ उनले हाल होटल क्षेत्रमा कोरोना महामारीका कारण धेरैको लगानी डुबिसकेको र धेरै पलायन भएको प्रसँग जोड्दै नयाँ लगानीकर्ता आउनु हाँस्यास्पद रहेको बताए । अझै कोरोना महामारीको प्रकोपबाट बाहिर आउन नसकिरहेको अवस्थामा व्यवसायीहरुले जेनतेन मात्रै होटल तथा रेष्टुरेन्ट खोलेर संचालन गरिरहेका छन् ।

तर, पछिल्लो समय कोरोनाविरुद्धको खोपलाई तीव्रता दिइएका कारण केही महिना या बर्षमा पर्यटन क्षेत्र पनि पुरानै अवस्थामा आएपछि होटल क्षेत्र पनि पुरानो लयमा फर्किन सक्ने उनको आँकलन छ । ‘सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ, यसले नागरिकको मनोबल उच्च राख्नेछ र मानिसहरु घुम्न निस्किनेछन्,’ उनले भने, ‘यसकै आधारमा भन्दा आगामी दशैँपछि भने पर्यटन व्यवसाय केही सक्रिय हुनसक्ने सम्भावना छ ।’

सरकारी नीति कार्यान्वयनमा समस्या

सरकारले गत आर्थिक बर्षदेखि नै होटल तथा पर्यटन क्षेत्रलाई अति प्रभावित क्षेत्रको रुपमा परिभाषित गरेको छ । यसका लागि भन्दै विभिन्न छुट, सहुलियतलगायतका व्यवस्था कागजमा गरेपनि व्यवहारमा नउतारेको शाह बताउँछन् । उनका अुनसार गत बर्ष पुनर्कर्जा र ब्याजदरमा छुटलगायतका घोषणा गरिए पनि सीमित व्यवसायीले मात्रै त्यसबाट लाभ लिएका छन् । यस्तै चालु आवको मौद्रिक नीति र एकीकृत निर्देशिकामा समेटिएका छुट तथा सहुलियत पनि कागजमै सीमिति हुने अवस्था रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL