Logo

फोरजीका कारण किन खस्किँदैछ टेलिकमको सेवा, के गर्दैछ टेलिकम ?

फोरजीका कारण किन खस्किँदैछ टेलिकमको सेवा, के गर्दैछ टेलिकम ?



काठमाडौं । नेपाल टेलिकमले अहिले पछिल्लो पुस्ताको ‘फाइभजी’ सेवा विस्तारका लागि गृहकार्य गरिरहेको छ । टेलिकमले फोरजी सेवा देशभर विस्तार गरेको घोषणा गरेसँगै फाइभजी परिक्षणको पनि अनुमति पाईसकेको छ ।

laxmi

टेलिकमका अनुसार देशभर फोरजी विस्तारसँगै सबै नागरिकले चाहेबमोजिमको दूरसंचार सेवा उपभोग गर्न पाएका छन् । भलै, गुणस्तरमा केही कमी कमजोरी भएपनि सेवा भने सबै क्षेत्रमा पुगेको टेलिकमले आफ्नो घोषणामा उल्लेख गरेको छ । सोहीअनुसार टेलिकमले पाँचौ पुष्ताको फाईभजी परिक्षणको तयारी पनि उत्तिकै मात्रामा गरिरहेका छन् ।

तर, विकट मानिने कर्णालीको माथिल्लो भेग, सोलुखुम्बु र ओखलढुंगाका प्राय स्थानहरुमा फोरजी विस्तार भएदेखि नै त्यहाँका सेवाग्राहीले पहिले पाउँदै आएको दूरसंचार सेवाबाटै बञ्चित हुनपरिहेको अवस्था छ । पछिल्लो ३ महिना यता कर्णालीका हिमाली र पहाडी जिल्ला र सोलुखुम्बु र ओखलढुंगामा दूरसंचार सेवा नै प्रभावित बनेको छ ।

फोरजी सेवा विस्तारसँगै कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा भ्वाईस सेवा डाउन भएको नेपाल टेलिकम कालीकोट जिल्ला कार्यालयका प्राविधिक टोपराज न्यौपाने बताउँछन् । उनका अनुसार हाल उक्त स्थानका सेवाग्राहीहरुले न राम्रोसँग डाटा सेवाको प्रयोग गरेर इन्टरनेट चलाउन पाएका छन् न भ्वाईस सेवा नै गुणस्तरीय पाएका छन् ।

काठमाडौंबाट कालीकोटस्थित प्राविधिकलाई यसको बारेमा बुझ्नकै लागि फोन सम्पर्क गर्दा पनि लगातार ३ पटकको प्रयासपछि मात्रै सफल भयो । सम्पर्क भइसकेपछि पनि बेलाबेलामा बोलेको नबुझिने, बेलाबेलामा फोन सम्पर्क आफै टुट्ने समस्या आइरह्यो । यस्तै समस्या सोलुखुम्बु र ओखलढुंगामा पनि देखियो । यहाँ पनि कर्णालीकै जस्तो समस्याका कारण पछिल्लो ३ महिनादेखि दूरसंचार सेवा राम्रोसँग लिन नपाएको गुनासो छ । पछिललो ३ महिनादेखि ओखलढुंगाका विभिन्न ग्रामीण क्षेत्रहरुमा भनेबमोजिमको सेवा नपाईएको गुनासो आएपनि हाल भने त्यो गुनासो केही घटेको त्यहाँस्थित प्राविधिक बताउँछन् । तर यस्तो समस्या यी क्षेत्रमा मात्रै नभई अन्य स्थानमा पनि रहेको देखिन्छ ।

किन आयो समस्या ?

नेपाल टेलिकमले पुरानै क्षमताका बीटीएस टावरहरुमा नयाँ भ्वाईस ओभर एलटीइ (भिओएलटीइ) फोरजी सेवा संचालनमा ल्याएपछि यो समस्या उत्पन्न भएको हो । नेपाल दूरसंचार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक तथा संचार तथा सूचना प्रविधि विज्ञ आनन्दराज खनाल भीओएलटीइमार्फत भ्वाइस र डाटाको एकैपटक सेवा लिन सकिने भएपछि डाटाले बढी ब्याण्डविथ खपत गर्दा भ्वाइसमा समस्या आउने बताउँछन् । उनका अनुसार नेपाल टेलिकमले पछिल्लो समय विस्तार गरेको भीओएलटीइ फोरजी सेवामार्फत एकैचोटी ंभ्वाइस तथा डाटा सेवा प्रयोग गर्न मिल्ने गरी फोरजी सेवा विस्तार गरेको हो ।

सोहीअनुसार डाटा र भ्वाईस सेवा एउटै व्याण्डविथमा चल्दा भ्वाइसमा गडबडी भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पुष्टि गरे । उनका अुनसार हाल डाटासँगै भ्वाइस सेवा पनि विना रोकावट अनुभव गर्न पाइने गरी भीओएलटीइ फोरजी सेवा विस्तार गरिएको हो । टेलिकमले यसअघि ग्रामीण तथा दुर्गम भेगमा सेवाग्राहीको घनत्व अनुसार व्याण्डवीथको क्षमता विस्तार गरेको र हाल जनघनत्वसँगै प्रयोगकर्ता बढेकाले यस्तो समस्या आएको उनी बताउँछन् । उनका अनुसार यसअघि टेलिकमले ग्रामिण क्षेत्रहरुमा १० देखि ३० एमबीपीएस क्षमताको सेवा पुग्नेगरी रेडियो लिंकहरुको उपकरण जडान गरेको थियो । उक्त उपकरणहरुले हाल बढेका प्रयोगकर्ता र डाटाको खपतलाई नधानेका कारण यो समस्या धेरै स्थानमा आएको हो ।

के छ समाधान ?

नेपालका विभिन्न ग्रामीण भेगमा फोरजी विस्तासँगै उत्पन्न भएको समस्यालाई न्यूनीकरण गर्न टेलिकमले कार्य अघि बढाईसकेको छ । हाल फोरजी जडान गरिएका बीटीएस टावरहरुको क्षमता विस्तार नगरी यो समस्या समाधान नहुने भएपछि यसको काम अघि बढेको प्राधिकरणका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन् । पुराना क्षमतामा फोरजी विस्तार गरिएका विटीएस टावरहरुको क्षमता विस्तार गरेपछि मात्रै यो समस्या समाधान हुन्छ । जसका लागि टावरमा जडान गरिने रिपिटरको क्षमता विस्तार गर्न नयाँ उपकरणहरु विदेशबाट आयात गर्नुपर्ने भएकाले केही ढिलाई भएको प्रबन्ध निर्देशक अधिकारीले बिजखबरलाई बताए ।

कर्णालीलगायतका अन्य विकट क्षेत्रमा आएको समस्याका लागि गत बर्षको फागुन महिनामै नेपालमा नयाँ उपकरणहरु आईसकेको उनी बताउँछन् । ‘हामीले पनि समस्याको गुनासो बढिरहेकै कारण यसमा विशेष ध्यान दिएर काम गरिरहेका छौं,’ उनले भने, ‘नेपालमा नयाँ उपकरणहरु गत फागुन महिनामै आईपुगिसकेका थिए तर, बीचमा कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि सम्बन्धीत स्थानसम्म प्राविधिक र उपकरण पनि पुर्याउन सकिएन ।’

सम्बन्धित स्थानमा हालसम्म उपकरणहरु पुगिसकेपनि प्राविधिकहरु भने पुगिनसकेको कालिकोट जिल्ला कार्यालयका निमित्त प्रमुख प्रेमसिंह विष्ट बताउँछन् । उनका अनुसार कर्णाली भेगका माथिल्लो जिल्लाका लागि भने दैलेखको रानीमत्तादेखि नै टावरको क्षमता विस्तार गर्दै जानुपर्नेछ । जसको काम हाल भईरहेका छ ।

यस्तै यता ओखलढुंगामा पनि यस्तो समस्या छ । सदरमुकाममा सेवा रामै्र भएपनि यहाँका ग्रामीण भेगमा भने सेवाको गुणस्तर वृद्धि गर्न उपकरण र प्राविधिककै कमी छ । जुन पुर्ति हुने चरणमा रहेको ओखलढुंगा टेलिकम कार्यालयका प्राविधिक बताउँछन् । तर ओखलढुंगा र सोलुखुम्बुमा भने अबको केही महिनामै अप्टिकल फाईबरको कनेक्सन पुगिसक्ने भएपछि त्यहाँको समस्या केही महिनामै अन्त्य हुने टेलिकमका प्रवन्ध निर्देशक अधिकारी बताउँछन ।

नेपाल टेलिकमले गत बर्षको माघमा देशभर आफ्नो फोरजी सेवा विस्तार गरेको घोषणा गरेको थियो । त्यसको केही समयपछि अर्थात अबको केही महिनापछि टेलिकमले देशका विभिन्न ४ स्थानमा पाँचौ पुस्ताको फाईभजी परिक्षण गर्ने अनुमति पाएको छ । र यसको तयारी पनि भइसकेको टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL