Logo

एक बर्षमा साढे १३ लाख बढी सिडिएमए प्रयोगकर्ता विस्थापित, स्मार्ट टेलिकमका डाटा प्रयोगकर्ता पनि घटे

एक बर्षमा साढे १३ लाख बढी सिडिएमए प्रयोगकर्ता विस्थापित, स्मार्ट टेलिकमका डाटा प्रयोगकर्ता पनि घटे



काठमाडौं । पछिल्लो एक बर्षमा नेपालमा १३ लाख ६३ हजार बढी–कोड डिभिजन मल्टीपल एक्सेस (सिडिएमए) फोनका प्रयोगकर्ता घटेका छन् । नेपाल टेलिकमको पुरानो प्रविधि विस्थापन गरी नयाँ प्रविधिमा स्थानान्तरण गर्ने उद्देष्यअनुरुप सिडिएमए प्रयोगकर्ता ठूलो संख्यामा घटेका हुन् ।

laxmi

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा गत बर्षको जेठ महिनासम्म सिडिएमए प्रयोगकर्ताको संख्या १६ लाख ८२ हजार ४ सय ७१ थियो । यो बर्षको जेठ महिनासम्म अर्थात १ बर्षमा यो संख्या घटेर ३ लाख १९ हजार ४ सय ४८ मा सीमित भएको छ ।

नेपाल टेलिकमले पछिल्लो समय तारसहितको सेवालाई विस्थापन गरेर अप्टिकल फाईबरमार्फत सेवा दिने अभियान नै चलाएको छ । जसको फलस्वरुप टेलिकमको पब्लिक स्विच टेलिफोन नेटवर्क (पीएसटीएन)का सेवाग्राही पनि घटेका छन् । गत बर्षको जेठ महिनाको तुलनामा नेपाल टेलिकमले प्रदान गरिरहेको पीएसटीएन सेवाका प्रयोगकर्ता ९२ हजार ४ सय ९८ जनाले घटेका छन् । दूरसंचार प्राधिकरणका अनुसार गत बर्षको जेठ महिनामा टेलिकमको पीएसटीएन सेवा प्रयोग गर्नेको संख्या ६ लाख ६१ हजार ६ सय ४० थियो ।

यस्तै नेपाल टेलिकमले इन्टरनेट सेवामा पनि यसअघि दिँदै आएको वाईम्याक्स, ईभिडिओ र एडिएसएल सेवा पनि विस्थापनको बाटोमा रहेको जानकारी दिएको छ । टेलिकमका अनुसार तामाको तारबाट दिईने यस्तो सेवाले पछिल्लो समय ग्राहकको माग धान्न नसकेपछि नयाँ प्रविधि अप्टिकल फाईबरबाट पुराना सेवा विस्थापन गर्न लागिएको हो ।

प्राधिकरणले उपलब्ध गराएको तथ्याकअनुसार गत बर्षको जेठको तुलनामा टेलिकमले प्रदान गर्ने एडीएसएलका ग्राहकहरु यो बर्षको जेठमा १ सय ६२ हजारले घटेका छन् । यसको सट्टामा टेलिकमले हाल नयाँ प्रविधि फाईबर टु दी होम (एफटीटीएच) सेवाको विस्तार गरिरहेको छ । प्रयोगकर्ताले एउटै फाईबरबाट फोन, इन्टरनेट र भिडियो सेवा लिन पाउने भएपछि पुुराना सेवाहरु विस्थापित हुने बाटोमा छन् । हाल नेपाल टेलिकमले मोबाईल टेलिफोन सेवाका लागि फोरजी र पछिल्लो पुस्ताको फाईभ जीलाई प्राथमिकतामा राखेको छ । यस्तै फिक्स्ड टेलिफोनमा भने एफटीटीएचको विस्तार गरिरहेको छ ।

यसरी पुरानो प्रविधिका टेलिफोन सेवाहरु पुर्ण रुपमा विस्थापन गर्नकै लागि टेलिकमले विभिन्न स्किमहरु पनि सार्वजनिक गरिसकेको छ । सिडीएमए सेवालाई भने यसै बर्षभित्र विस्थापन गरिसक्ने गरि कार्य भइरहेकोे टेलिकमले जानकारी दिएको छ । यसरी सिडीएमए पुर्ण रुपमा विस्थापन हुँदा अझै नयाँ सेवा नपुगेका पहाडी तथा हिमाली जिल्लाका सेवाग्राहीहरु भने मर्कामा पर्ने देखिन्छ । हाल कर्णालीका कतिपय स्थान र अन्य पहाडी र हिमाली जिल्लाहरुका बासिन्दाले सिडिएमए सेवा प्रयोग गरिरहेका छन् ।

ब्रोडब्याण्ड सेवामा पनि पुरानो तामाको तारसहितको प्रविधि विस्थापन गर्नेगरी ल्याईएको एफटीटीएच प्रयोगकर्ताको संख्या मात्रै हाल ५ लाख ५६ हजार ५ सय ८८ पुगेको छ । एफटीटीएच सेवा अन्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु (आइएसपी)ले पनि उपलब्ध गराईरहेका छन् । उनीहरुले उपलब्ध गराउने एफटीटीएचमा भने भिडियो र डाटा मात्रै प्रयोग गर्न पाईन्छ, फोन भने प्रयोग गर्न सकिने सेवा छैन । हाल आइएसपीहरुले प्रदान गर्ने फाईबर सेवामार्फत इन्टरनेट चलाउनेको संख्या ६२ लाख ९६ हजार पुगेको छ ।

नयाँ प्रविधिहरुको विस्तारसँगै सम्बन्धित कम्पनीहरुले पुरानो प्रविधिलाई विस्थापन गर्दै जाँदा पुरानो सेवा टुजी र थ्रिजी पनि धरापमा रहेको देखिन्छ । नेपाल टेलिकमले भने फोरजी र फाइभ जी सेवा विस्तार गरेपनि टुजी र थ्रिजी सेवा पनि यथावतै राख्ने बताउँदै आएको छ । नेपाल टेलिकमलगायत अन्य सेवाप्रदायकहरुले नेपालभर फोरजी सेवा पुर्याउको घोषणा गरेपनि नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा अझै टुजी र थ्रिजीको प्रयोग उत्तिकै रुपमा भएको देखिन्छ ।

काठमाडौं उपत्यकामै पनि कहिलेकाहीँ फोरजीको सट्टा थ्रिजी सेवा उपयोग भइरहने गरेको छ । हाल नेपाल टेलिकम, निजी दूरसंचार सेवाप्रदायक एनसेल अजियाटा र स्मार्ट टेलिकमका गरी थ्रिजी प्रयोगकर्ता १ करोड २० लाख ५२ हजार ६७५ छ । जुन गत बर्षको जेठ महिनाको तुलनामा ६ लाख ११ हजारले बढी हो ।

फोरजीमा भएन सोचेअनुसार प्रगति

सरकारले गत बर्ष नै एक बर्षभित्रै देशका सबै स्थानमा फोरजी सेवा विस्तार गरिसक्ने बताएको थियो । सोही अनुसार निजी सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना फोरजीका ग्राहकहरु तिव्र वृद्धि गरेपनि नेपाल टेलिकमले भने सोचेअनुसार बढाउन सकेको छैन । गत बर्ष नै ७७ जिल्लामै फोरजी सेवा पुर्याईसकेको घोषणा गरेको टेलिकमका फोरजी प्रयोगकर्ता हाल २७ लाख ७ हजार मात्रै छन् । यता एनसेलले भने हालसम्म आफ्नो फोरजी प्रयोगकर्ता ४८ लाख ५ हजार पुर्याएको छ । पछिल्लो १ बर्षमा एनसेलले आफ्ना फोरजी प्रयोगकर्ता ११ लाख २० हजारले बढाउँदा नेपाल टेलिकमले १८ लाख ६४ हजारले बढाएको छ ।

स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता घटे

२ दूरसंचार सेवाप्रदायक कम्पनीहरुले आफ्ना फोरजी प्रयोगकर्ता बढाएपनि पछिल्लो एक बर्षमा स्मार्ट टेलिकमका भने प्रयोगकर्ता घटेका छन् । गत बर्षको तुलनामा आफ्ना भ्वाईस सेवा प्रयोगकर्ताको संख्या १ लाख ९२ हजारले बढाएर २३ लाख ३३ हजार पुर्याएको स्मार्ट टेलिकमकम ब्रोडब्याण्ड सेवा उपभोग गर्ने ग्राहकको संख्या भने घटेको पाईएको हो ।

नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकअनुसार गत जेठको तुलनामा स्मार्ट टेलिकमको मोबाईल ब्रोडब्याण्ड सेवा प्रयोगकर्ताको संख्या ३० हजार ८३० ले घटेको छ । कम्पनीका फोरजी ग्राहकको संख्या पनि यही हो । हाल कम्पनीको फोरजी चलाउनेको संख्या १ लाख ५१ हजार ७ सय १५ पुगेको छ ।

नेपाल दूरसंचार प्राधिकरणको तथ्यांक अनुसार गत जेठसम्म नेपालमा ३ करोड ९५ लाख २६ हजार ८ सय ८१ जनासम्म टेलिफोन सेवा पुगेको छ । जसमध्ये ५२ प्रतिशत हिस्सा नेपाल टेलिकमको छ भने ४१ प्रतिशत हिस्सा एनसेलको छ । यस्ते ५ दशमलव ९० प्रतिशत हिस्सा स्मार्ट टेलिकमको छ ।

गत जेठ महिनासम्म २ करोड ७७ लाख ६ हजार ७ सय ११ जना नागरिकसम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगिसकेको छ । यो सेवा विस्तारमा पनि सबैभन्दा बढी हिस्सा मोबाइल ब्रोडब्याण्डको देखिन्छ । प्राधिकरणका अनुसार ब्रोडब्याण्ड सेवामा ७२ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्याण्डको हुँदा २७ प्रतिशत हिस्सा फिक्स्ड केवल लाइनको छ । जसमा इन्टरनेट सेवा प्रदायकहरु पनि पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL