Logo

अर्थमन्त्री शर्मा र कोरियाली राजदुत सुकबीच भेटवार्ता, भाषा परीक्षा उत्तीर्ण गरेका युवालाई कोरिया जाने वातावरण बनाइदिन आग्रह

अर्थमन्त्री शर्मा र कोरियाली राजदुत सुकबीच भेटवार्ता, भाषा परीक्षा उत्तीर्ण गरेका युवालाई कोरिया जाने वातावरण बनाइदिन आग्रह



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङग सुकबीच भेटवार्ता भएको छ ।

laxmi

बुधवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरे ।

“इपिएस अन्तरगत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु ।” मन्त्री शर्माले भने । 

जवाफमा राजदुत सुकले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै राजदुत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए । 

भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे ।

कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना गर्दैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ । 

मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोशिस गरिने बताए । 

भेटको क्रममा राजदुत सुकले कोरियाली लगानी रहेको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाई बारे चासो राखे । आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए ।   

यस विषयमा मन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकताको क्षेत्र भएकोले काममा गति दिनेतर्फ पहल गर्ने जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्
MBL