Logo

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने, पूर्वाधार हस्तान्तरण भएपछि उद्घाटन हुने

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने, पूर्वाधार हस्तान्तरण भएपछि उद्घाटन हुने



काठमाडौं । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आजभोलि नै भारत सरकारले हस्तान्तरण गर्ने गरी कार्यक्रम राखिएको थियो । अहिले मन्त्रालयस्तरमा सल्लाह गरेर केही कागजात आदानप्रदान र हस्तान्तरण गर्न बाँकी छ । उनले भने, “पूर्वाधार हस्तान्तरण भएपछि उद्घाटन हुने हो ।”

भारत सरकारले नेपाल सरकारलाई रेल सञ्चालनका लागि बनाएको सबै संरचना हस्तान्तरण गर्ने महाप्रबन्धक भट्टराईले बताए । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएका रेलको ट्र्याक, स्टेशन, भवन, आवास भवन, कम्प्युटरलगायतका सामग्री विधिवत् हस्तान्तरण हुनेछ । दुई देशबीच रेल सञ्चालनका लागि आवश्यक पर्ने अरु कागजात आदानप्रदान गर्नुपर्ने उनले बताए । भारतको सरकारी कम्पनीसँग गरेको समझदारीको कागजात पनि आदानप्रदान गर्न बाँकी छ । उनले भने, “यी तीनवटै विषयमा कागजात आदानप्रदान गर्ने कार्यक्रम थियो, सरकार परिवर्तनले गर्दा केही दिन ढिला भएको छ ।”

कम्पनीले रेल सञ्चालनका लागि आवश्यक जनशक्ति पनि तयारी गरेको छ । रेल सञ्चालनमा संलग्न जनशक्तिलाई तालिम दिइएको कम्पनीले जनाएको छ । तीन जना भारतीयले तालिम दिएका थिए भने पाँच÷छ जना भारतीय एक÷दुई दिनभित्र ल्याउन लागिएको छ । अब आउन लागेका व्यक्तिले रेलको संरचनाका बारेमा र सञ्चालन खाकाका बारेमा जानकारी गराउने उनले बताए ।

रेल सञ्चालनका लागि आवश्यक परीक्षण सकिएको छ । ‘ट्रायल ट्र्याक टेस्ट’ भइसकेको महाप्रबन्धक भट्टराईले बताए । उनका अनुसार ट्र्याक, सिग्नल काम गरे÷नगरेको हेरिएको छ । रेल सञ्चालन गर्नुभन्दा पहिले ट्र्याकमा सवारी साधन ल्याएर ठीक छ÷छैन हेर्नुपर्ने उनले बताए। ट्र्याकमा समस्या छ÷छैन भनी त्यसमा सवारी साधन दौडाएर हेरेर मात्रै जानकारी हुने उनले बताए । परीक्षणका क्रममा ‘एलाइनमेन्ट’ तलमाथि छ कि भनेर हेरिएको थियो । रेल सञ्चालनका लागि ट्र्याक उपयुक्त छ भनेर प्रमाणीकरण गर्नुपर्नेमा त्यो काम भइसकेको उनले जानकारी दिए ।

एक वर्षयता रेल सञ्चालनका विषयमा सरकारले पटक–पटक भारत सरकारसँग कुराकानी गरिरहेको छ । भारतीय पक्षले नेपालमा छिटो सञ्चालन होस् भनी घच्घच्याइरहेको कम्पनीले जनाएको छ । -रासस

प्रतिक्रिया दिनुहोस्
MBL