Logo

छ अर्बको आयोजनामा विजुलीका दुईवटा पोलको बाधा, ठेकेदारले सरकारलाई नटेर्दा चक्रपथ विस्तार रोकियो

छ अर्बको आयोजनामा विजुलीका दुईवटा पोलको बाधा, ठेकेदारले सरकारलाई नटेर्दा चक्रपथ विस्तार रोकियो



काठमाडौं । नेपालमा पूर्वाधार विकासको काममा कस्ता–कस्ता समस्या आउँछन् भन्ने उदाहरण पछिल्लो समय चक्रपथ विस्तार आयोजनालाई हेरे पुग्छ । समयमै काम भएको भए सम्पन्न भइसक्नुपर्ने चक्रपथ बिस्तारको दोस्रो खण्डअन्तर्गत कलंकीदेखि धोबीखोलासम्मको सडक विस्तार परियोजना विजुलीका २ पोलका कारण अघि बढन सकेको छैन् ।

laxmi

सो सडक विस्तारको जिम्मेवारी लिएको चिनियाँ टोलीले विस्तार गर्नुपर्ने सडक वरिपरिका साईट क्लियर गरेपछि मात्रै विस्तार कार्य अघि बढाउने बताएपनि करिव ३ सय मिटरभित्रमा पर्ने दुईवटा पोल नेपालले हटाउन नसक्दा समस्या आएको हो । पहिलो चरणको काम सम्पन्न गरेर दोस्रो चरणको डिजाइन गर्ने भन्दै चिनियाँ टोली अढाई बर्ष अघि नै चीन गएको थियो । यसबीचमा नेपाल सरकारले उक्त क्षेत्रमा साईट क्लियरको काम गरेमा विस्तृत डिजाईनसँगै काम अघि बढाउने भनेको थियो । चिनियाँ पक्षले साईटको एक ठाउँमा पोल नसारेकै कारण काम गर्न नमानेको आयोजना प्रमुख अर्जुन सुवालले जानकारी दिए । उनका अनुसार, सवै साईट क्लियर भईसकेपनि बसुन्धारामा रहेका विजुलीका पोलहरु नसार्दा काम अघि बढन सकेको छैन् ।

नेपाल विद्युत प्राधिकरणले पोल सार्ने ठेक्का लगाएको ठेकदारले काममा आनाकानी गर्दै चाँडो नगरिदिँदा यसमा ढिलाई भएको उनले बताए । ‘हामीले उक्त क्षेत्रको पोल हटाउन धेरैपटक नेपाल विद्युत प्राधिकरणमा र स्वयं ठेकेदारसँगै पनि ताकेता गरिसकेका छों,’ उनले भने, ‘तर ठेकेदार कम्पनीले कहिले तार छैन भन्ने, कहिले अनेक बहाना बनाएर काम गर्न सकिएन भन्नेलगायतका व्यवहार देखाउँदै आएको छ ।’ विजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदार कम्पनीले नयाँ पोल हालिसकेको भएपनि तार भने नयाँ पोलमा स्थानान्तरण गरेको छैन । तार स्थानान्तरण नगरेसम्म पुरानो पोल हटाउन पाईँदैन ।
चिनियाँ टोलीका एक अधिकारी नेपाली पक्षले साईट क्लियर भएको जानकारी गराएपछि साईट भ्रमणमा आएका बेला ती पोल नहटेको देखेपछि समस्या भएको हो । साईट भिजिट गर्दा क्लियर गर्न बाँकी २ पोल देखेका कारण टोलीले पोल नहट्दासम्म नआउने बताएको सुवालले जानकारी दिए । सडक विभागले विभिन्न मन्त्रालय र निकायको समन्वयमा कलंकी देखि धोबीघाटसम्म सडक क्षेत्रमा पर्ने रुखविरुवा, पानी र ढलका पाईप, विजुलीका पोल, घरटहरालगायत हटाईसकेको छ । तर, उक्त सडकको मूख्य समस्या भने स्वयम्भुको मूर्ति र नारायाणगोपाल चोकका १९ घर बाँकी नै छन् । स्वयम्भुमा रहेका बुद्धका मुर्तिहरु सर्भिस लेनभित्र पर्ने भएपछि भत्काउनुपर्ने भएपनि स्थानीयलेसंरचना मास्न नहुने भन्दै विरोध जनाएपछि त्यो समस्या यथावतै छ ।

यो समस्या सर्भिस लेनभित्रको भएकाले नेपाल सरकारको जिम्मामा परेका कारण चिनियाँ टोलीलाई बीचको सडक बनाउन बाधा पुग्दैन । तर, सर्भिस लेन निर्माणका लागि भने चिनियाँ पक्षको काम हुँदै गर्दा बीचमा छलफल गरी निर्णय निकाल्ने योजना रहेको आयोजना प्रमुख सुवालले बिजखबरलाई जानकारी दिए । यस्तै दोस्रो समस्याको रुपमा रहेको चक्रपथका १९ ओटा घर भएको क्षेत्रमा भने चिनियाँ टोलीले कुनै कार्य नगर्नेगरी सडक विस्तारको कार्य गर्ने बताइएको छ । उक्त चोकमा रहेका घर भत्काउन समस्या भएको र घरधनीले मुवाब्जासमेत लिन नमानेपछि समस्या कायमै रहेको छ । घरधनीले मुआव्जा लिन नमानेपछि सरकारले अन्य कुनै नयाँ निर्णय गरेर उक्त क्षेत्रबाट १९ घर हटाउने तयारी गरेकोसमेत उनले बताए ।

‘हामीले उक्त क्षेत्रका घर हटाउने गरी जग्गा मुआव्जा बाहेकको एक्सन लिनेगरी निर्णयको खाका मन्त्रालयमा पठाएका छौं,’ उनले भने, ‘तर मन्त्रालयले निर्णय स्वीकृत नगर्दासम्म त्यसको बारेमा केही भन्न सकिँदैन ।’ चिनियाँ टोलीले काम गर्दै गर्दा यो क्षेत्रमा पनि नेपाल सरकारले कुनै वैकल्पिक बाटोबाट निर्णय गरी पछि सडक विस्तार गर्ने योजना बनाएको सडक विभागका प्रवक्ता शिव प्रसाद नेपालले जानकारी दिए । चक्रपथको पहिलो खण्ड अन्तर्गत कोटेश्वर कलंकी विस्तार सम्पन्न गर्दासम्म पनि उक्त क्षेत्रमा साईट क्लियर भइसकेको अवस्था थिएन । सो समयमा पनि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले पहिलो खण्डर विस्तार ताका साईट क्लियर गर्न लगाउँदै आफ्नो काम गरेको थियो ।

सोहीप्रकारको समस्या पुनः नदोहोरियोस भन्दै साईट क्लियरपछि मात्रै दोस्रो खण्डको काम अघि बढाउने चिनियाँ पक्षले बताएको थियो । करिव ६ अर्ब लागत अनुमान गरिएको दोस्रो खण्डको साईट क्लियर र जग्गाको मुआव्जा दिने खर्च नेपाल सरकारले गर्नेछ भने सडक विस्तारको खर्च चिनियाँ सरकारको हुनेछ । चिनियाँ पक्षले विस्तार थालेको २ बर्षभित्रमा ११ दशमलव ६ किलोमिटर उक्त खण्ड सम्पन्न गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL