Logo

स्वदेशी लगानी खस्किदा निषेधाज्ञामै भित्रियो १२ अर्ब बढी वैदेशिक लगानी, सिंगापुरबाट मात्रै १० अर्ब बढी भित्रियो

स्वदेशी लगानी खस्किदा निषेधाज्ञामै भित्रियो १२ अर्ब बढी वैदेशिक लगानी, सिंगापुरबाट मात्रै १० अर्ब बढी भित्रियो



काठमाडौं । नेपालमा कोरोना महामारीको दोस्रो लहर फैलिएपछि सरकारले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गर्यो । अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेगरि लागु गरिएको जारी निषेधाज्ञामा सरकारी कार्यालयहरुमा समेत सीमित कर्मचारीहरु राखेर काम हुँदैै आएको छ ।

laxmi

निषेधाञाका कारण समग्र क्षेत्र ठप्प भएको यस्तो अवस्थामा पनि सरकारी निकाय उद्योग विभागले भने १२ अर्ब बढीको वैदेशिक लगानीका परियोजना स्वीकृत गरेको छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गत बैशाख १६ यता मात्रै विभिन्न १७ ओटा परियोजनामार्फत १२ अर्ब ११ करोड ७४ लाख रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको हो ।

जम्मा ३ देशबाट मात्रै लगानीको प्रतिवद्धता आएको यस अवधिमा सबैभन्दा बढी लगानीको प्रतिवद्धता सिंगापुरबाट आएको देखिन्छ । विभागका अनुसार सिंगापुरबाट जम्मा ५ ओटा उद्योग परियोजनामार्फत १० अर्ब ३१ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको हो ।

यस्तै यो अवधिमा धेरै परियोजनामार्फत लगानी भित्र्याउने देश चीन रहेको छ । चीनबाट यो अवधिमा १५ साना परियोजनामार्फत जम्मा १ अर्ब ७५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस्तै अफगानिस्तानबाट भने जम्मा एक उद्योग परियोजनामार्फत लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार अफगानिस्तानी कम्पनीले ५० करोड रुपैयाँको कुल पूँजी राखेर उक्त परियोजना विभागमा दर्ता गराएको थियो । जसमार्फत ४२ जनाले राजगारी पाउने बताइएको छ । तिनै देशका परियोजनामार्फत आएको उक्त लगानीको परियोजनामा ६ सय ५ जनाले रोजगारी पाउने बताईएको छ ।

गत बर्षको यही अवधिमा अर्थात गत बर्षको लकडाउनको लगभग २ महिनामा नेपालमा १ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ । यसरी तथ्यांकलाई तुलना गरेर हेर्दा निषेधाज्ञाको समयमा गत बर्षको लकडाउनको तुलनामा लगानी प्रतिवद्धता १० अर्बले बढेको देखिन्छ ।

चालु बर्षको गत बैशाख १६ यता नेपालमा स्वदेशी लगानीका भने जम्मा ५ उद्योग परियोजनामार्फत २ अर्ब ५३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । विभागले उर्जामुलक र उत्पादनमुलक गरी जम्मा २ प्रकारका उद्योगमार्फत आएको उक्त लगानी प्रतिवद्धता स्विकृत गरेको हो ।

विदेशी लगानी प्रतिवद्धता १२ अर्ब बढीको आएपनि स्वदेशी लगानी प्रतिवद्धतामा ठूलो गिरावट आएको उक्त तथ्यांकले देखाएको छ । तर गत बर्षको लकडाउनमा यहि समयमा नेपालमा ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

गत बर्षको लकडाउनमा उद्योग विभागबाट हुने कामहरु अनलाइनबाट मात्रै गरिएको थियो । तर, यो बर्षको निषेधाज्ञामा भने शारीरिक उपस्थितिमै काम गर्न सम्भव भएकाले यो बढेको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा पनि विभाग पूर्ण रुपमा बन्द थिएन । कर्मचारीहरु कार्यालय आइराखेकाले लगानी स्वीकृत पोहोरको भन्दा बढी भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL