Logo

५१ कम्पनीको शेयर कारोवारमा जोखिम रहेको बोर्डको प्रतिवेदन : इपान र सिविफिनले जनाए आपत्ति

५१ कम्पनीको शेयर कारोवारमा जोखिम रहेको बोर्डको प्रतिवेदन : इपान र सिविफिनले जनाए आपत्ति



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको शेयर कारोवारमा जोखिम रहेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

laxmi

इपानले बिहीबार एक विज्ञप्तिमार्फत जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मात्रै आम्दानी विस्तारै बढेर जाने तथा प्रतिशेयर मूल्य आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकार, नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीहरूको जस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल नगरेको बताए । बोर्डले यही असार १ गते विभिन्न ५१ वटा कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा २० वटा जलविद्युत् कम्पनी थिए । जलविद्युत क्षेत्रमा गलत भएका कुनै पनि विषयलाई सुधार गरेर जान इपान बोर्डलाई सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

सिविफिनको आपत्ति

उता बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिविफिन) नेपालले पनि नियामक निकायले कारवाही गर्ने विषयलाई नजरअन्दाज गरी शेयरमा लगानी गर्नु जोखिम रहेको भनी सार्वजनिक गरेकामा ध्यानकर्षण भएको जनाएको छ । संस्थाका प्रवक्ता भोजबहादुर शाहले जारी गरेको विज्ञप्तिमा संस्थागत पहिचान र प्रतिष्ठामा आँच नपुग्ने र लगानीकताृमा मनोवैज्ञानिक त्रास नहुने गरी बोर्डले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

सीवीफीनले धितोपत्र बोर्डले नामै तोकेर ५१ वटा सूचीकृत कम्पनीलाई जोखिमयुक्त र घुमाउरो पाराले खराब कम्पनी भनेको प्रति आपत्ति जनाएको हो ।

उसले सूचीकृत कम्पनीको सेयरमा सीमित व्यक्तिहरुबाट चलखेल भएमा आन्तरिकरुपमा सचेत गराउनु वा कारबाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको जनाएको छ । तथापि, नियामकबाट सार्वजनिक रुपमा नै सूचीकृत कम्पनीको नाम सार्वजनिक हुनुप्रति सीवीफीनले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘व्यक्ति एवं समूहबाट बजारमा गराइने होहल्ला र अस्वभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरुको कामकारबाहीको वृहत अध्ययन, अनुगमन र मूल्यांकन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिक रुपमा सचेत गराउनु वा कारबाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी ठहर्छ ।

संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौं लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारबाही अगाडी बढाउँदा समग्र लगानीकर्ताको हितमा हुनेछ ।’ धितोपत्र बोर्ड नियामकिय संस्था भएकाले बजारको सुधार र विकास एवं विस्तारका लागि आगामी दिनमा काम गर्ने विश्वास सीवीफीनले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL