Logo

प्रत्येक स्थानीय तहसम्म ब्रोडब्याण्ड इन्टरनेट विस्तारमा ८८ प्रतिशत प्रगति, अप्टिकल फाइबर विस्तारमा भने ढिलाई

प्रत्येक स्थानीय तहसम्म ब्रोडब्याण्ड इन्टरनेट विस्तारमा ८८ प्रतिशत प्रगति, अप्टिकल फाइबर विस्तारमा भने ढिलाई



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पछिललो समय महत्वकाँक्षी लक्ष्यका रुपमा प्रत्येक स्थानीय तहसम्म ब्रोडब्याण्ड इन्टरनेट विस्तार र जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार अघि बढाएको छ । दूरसंचार विकास कोषको परिचालन गरी मुयी ख्य २ परियोजना अघि बढाइएको हो । यी दुई परियोजनाअन्तरगत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विच्छ्याउने, प्रत्येक स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम मुख्य रुपमा भइरहेका छन् ।

१५ अर्ब बढी रकम परिचालन गरी नेपाललाई आगामी २ बर्षभित्र पूर्ण डिजिटलाईज्ड गर्नेगरी अघि बढाईएका यी परियोजनाको कार्यप्रगति पनि उल्लेख्य रुपमा भएको देखिन्छ । यी दुई परियोजनामध्ये पहिलो परियोजना अर्थात ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने परियोजनाका प्रगति ८८ प्रतिशत बढी भएको प्राधिकरणले जानकारी दिएको छ ।

कुल ५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको उक्त परियोजनाको जेठ मसान्तसम्म वित्तीय प्रगति ५३ दशमलव ४६ प्रतिशत भएको छ । जसमार्फत ३ अर्ब ३ करोड ३८ लाख रुपैयाँ खर्च भईसकेको छ ।

प्राधिकरणका अनुसार सबै जिल्ला सदरमुकामसम्म पुर्याउनुपर्ने अप्टिकल फाइबर परियोजनाको कार्यप्रगति केहि ढिलो भएपनि सबै स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने परियोजनाको कार्यप्रगति भने उल्लेख्य भएको देखिन्छ ।

प्राधिकरणका अनुसार सबै स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने परियोजनाको १५ प्याकेजमार्फत ६० जिल्लाका तोकिएबमोजिम शतप्रतिशत स्थानमा इन्टरनेट पुर्याइएको छ भने अन्य १० जिल्लाका तोकिएबमोजिमका ५० प्रतिशत स्थानमा यो विस्तार गरिएको छ । यस्तै अर्को प्याकेजका ४ जिल्लामा भने नेटवर्क र कनेक्टीभीटीको काम अघि बढाईएको छ ।

यो परियोजनामार्फत देशभरका १५ हजार ९ सय ८२ साइटमा इन्टरनेट जडान गर्नुपर्ने थियो । जसमध्ये हालसम्म १४ हजार १ सय २८ साइटमा इन्टरनेट जडान हुँदा १ हजार ८ सय ५४ साईट अझै बाँकी छन् । यसरी इन्टरनेट जडान गर्नूपर्ने स्थानहरु भने सामुदायिक स्वास्थ्य चौकि, माध्यामीक विद्यालय, वडा कार्यालयहरु तोकिएका थिए ।

जसमध्ये हालसम्म ९४ प्रतिशत स्थानीय निकायका कार्यालय, ८८ प्रतिशत वडा कार्यालय, ८८ प्रतिशत माध्यामिक विद्यालय र ८८ प्रतिशत स्वास्थ्य संस्थामा इन्टरनेट जडान भईसकेको छ ।

यस्तै दोस्रो परियोजनाअन्तर्गत रहेको मध्यपहाडी लोकमार्गमा विछ्याउनुपर्ने अप्टिकल फाईबरको कार्यप्रगति भने सुस्त देखिएको छ । ९ अर्ब ८९ करोड १७ करोड रुपैयाँ बराबरको उक्त परियोजना करिव ३ बर्षअघि नै ठेक्का लागेपनि हालसम्म प्याकेज १ को काम मात्रै केही अघि बढेपनि अन्य २ प्याकेजको प्रगति भने सन्तोषजनक देखिएको छैन् ।

यो परियोजनाअन्तरगत नेपाल टेलिकमले पाएको प्याकेज १ अन्तर्गत जम्मा ९ सय ७९ किलोमिटर क्षेत्रमा मात्रै फाईवर विछ्याउने काम भएको छ । कुल २१ सय ७९ किलोमिटर क्षेत्रमा जडान गर्नुपर्ने उक्त प्याकेजअन्तर्गत ४४ दशमलव ९९ प्रतिशत कार्यप्रगति भएको हो । यस्तै प्याकेज ३ अन्तर्गत रहेको गण्डकी र लुम्बिनी प्रदेशमा विछ्याउनुपर्ने परियोजना अन्तर्गत युनाईटेड टेलिकमले उक्त जिम्मा पाएको थियो ।

उक्त प्याकेजको कार्यप्रगति भनेबमोजिम नभएपछि प्राधिकरणले कम्पनीसँगको सम्झौता रद्ध गरेको थियो । तर, युनाईटेड टेलिकमले प्राधिकरणको उक्त कदमविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । पुनः प्राधिकरण उक्त रिटविरुद्ध भ्याकेटमा हालेपछि सर्वोच्चबाट पुनः कुनै निर्णय नआउँदासम्म कार्य अघि नबढाउन अन्तरिम आदेश दिएको छ । जसका कारण हालसम्म पनि उक्त प्याकेजअन्तर्गत अप्टिकल फाईबर विछ्याउने काम अघि बढ्न सकेको छैन ।

यस्तै तेस्रो प्याकेजअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने नेपाल टेलिकमले काम अघि बढाएको छ । उक्त प्याकेज पनि यसअघि स्मार्ट टेलिकमले पाएको थियो । तर, भनेबमोजिम काम नभएपछि स्मार्टबाट परियोजना खोसेर नेपाल टेलिकमलाई दिईएको थियो । नेपाल टेलिकमले हाल उक्त प्याकेजमा अप्टिकल फाईबर विछ्याउन आवश्यक अध्ययन अघि बढाईसकेको जानकारी दिएको छ ।

हालसम्म अप्टिकल फाईबरको वित्तीय प्रगति अग्रिम भुक्तानीमार्फत ६१ करोड ५५ लाख र भन्सार महशुलमार्फत १२ करोड ८० लाख २० हजार रुपैयाँ भुक्तानी भईसकेको छ । यस्तै काम नगरेको युनाईटेड टेलिकमलाई पनि अग्रिम भुक्तानीवापतको ४० करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL