Logo

राजनीतिक अन्योल र महामारीले सेयर बजारमा जोखिम, यस्ता छन् ६ कारण

राजनीतिक अन्योल र महामारीले सेयर बजारमा जोखिम, यस्ता छन् ६ कारण



काठमाडौं । हालसम्ममा तीन हजार अंकमाथि उक्लिसक्ने अनुमान गरिएको सेयर बजारको कारोबार मापक नेप्से २५/२६ सय अंक वरिपरि फन्को लगाइरहेको छ । विगत हप्तायता एकदिनबाहेक बजारमा खासै सुधार देखिएन । त्यसमा पनि केही लघुवित्तीय कम्पनीहरु र जीवन बीमा कम्पनीहरुको कारोबारले मात्र थेगिरहेको देखिएको छ । कारोबार रकम पनि ५/६ अर्ब रुपैयाँमा सीमित भएको छ ।

laxmi

महामारी फैलिने क्रमसँगै अन्य क्षेत्रमा लगानीको लागि कर्जाको माग कम हुने भएकोले अधिकांश लगानीकर्ता सेयर बजारतिरै फर्किएलान र बजार बढ्ला भन्ने अनुमान किन सही सावित हुन सकिरहेको छैन ? यहाँ केही आधारभूत र केही व्यवहारिक कारण र आँकलनहरुबारे प्रष्ट्याउने प्रयास गरिएको छ ।

पहिलो कारण : गत बर्षभन्दा यसपटक महामारीले निकै उग्र रुप लिएको छ र यो अझै भयावह बन्ने खतरा बढ्दै गएको छ । विगत एकबर्ष यता सरकारले महामारी व्यवस्थापन र खोप अभियान चलाउनेबारे खासै गम्भीर रुपमा चासो नदेखाएपछि जनतामा मनोबल खस्किएको देखिएको छ । यो महामारी खासै गम्भीर प्रकृतिको रहेनछ भन्ने लागेर गत मंसिरदेखि जनजीवन सामान्य जस्तो देखिएको थियो । तर, अन्य मुलुकहरुमा फैलिएको अर्कै भेरियन्ट र विशेषगरी छिमेकी मुलुक भारतमा यसको विकराल फैलिदो रुप देखिएपछि नेपाली जनतामा पनि त्यसको मनोवैज्ञानिक त्रास फैलिएको छ । अहिले नेपालमा पनि तीब्ररुपमा यो महामारी फैलिन थालेपछि सरकारले निषेधाज्ञा शुरु गरेको छ र जनतामा पनि अभूतपूर्व त्रासमय वातावरण पैदा भएको छ । तुरुन्तै खोप प्राप्त गर्न सक्ने गुञ्जायस पनि देखिएको छैन । यस्तो अवस्थामा उनीहरु भविष्यबारे चिन्तित देखिन थालेका छन् । बजारमा यसको ठूलो नकारात्मक प्रभाव देखिएको छ ।

दोस्रो : आगामी २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशनको प्रक्रियाका लागि राष्ट्रपतिसमक्ष निवेदन दिनासाथ राजनीतिक अस्थिरता सिर्जना हुने मात्र होइन, मुलुक राजनीतिक अन्योलताको स्थितितर्फ धकेलिएको छ । विपक्षीसँग सरकार बनाउने गणितीय क्षमता नभएको र उनले विश्वासको मत लिन नसक्ने अवस्था आएको खण्डमा मुलुक फेरि चुनावतर्फ जाने र यसले थप अस्थिरता पैदा गर्ने आशंका बढेर गएको छ । चुनाव घोषणा हुँदा यसअघि पनि घटेको बजार फेरि घट्ला भन्ने आम सेयर लगानीकर्ताहरुमा त्रास बढेको छ । चुनावभन्दा पनि यहाँ राजनीतिक प्रणाली नै धरापमा पर्न लागेको अनुमानका आधारमा लगानीकर्ताहरु बढी मात्रामा त्रसित देखिएका छन् । ठूला लगानीकर्ताहरुले अर्बौं लगानी गरिरहेकाले यस्तो अन्योलपूर्ण अवस्थामा थप लगानी नगर्ने भन्ने किंकर्तब्यविमूढको अवस्थाले कारोबार रकमलाई समेत संकुचित पारिदिएको छ ।

तेस्रो : आकर्षक त्रैमासिक रिपोर्टलाई पनि लगानीकर्ताहरुले विश्वास गर्न नसकेको अवस्था । गत चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले सामान्य अवस्थामा जस्तो गरी त्रैमासिक प्रगति प्रतिवेदन जारी गरेका छन् । अझ लघुवित्तीय संस्थाहरुले त अघिल्लो बर्षको तुलनामा दोब्बरले नाफा वृद्धि गरेको प्रतिवेदन सार्वजनिक गरेका छन् । कोभिडको महामारीका बीच आर्थिक गतिविधिहरु खुम्चिएको अवस्थामा यस्तो प्रगति कसरी हुन गयो भन्नेमा लगानीकर्ताहरु अझ अन्योलमा परेको देखियो । विगत एक बर्षदेखि मुलुक कोभिडको महामारी र राज्य व्यवस्थापनको कमजोर अवस्थाका बीच गुज्रिरहेको छ । आर्थिक गतिविधिहरुमा संकुचन आएको छ । तथ्यांक विभागले गरेको अनुमान अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन समेत घटेको छ । उद्योगधन्दाहरु राम्ररी सञ्चालनमा आउन सकिरहेका छैनन् । लाखौंको रोजगारी गुमेको अवस्था छ । नयाँ परियोजना स्थापना र नयाँ रोजगारी सिर्जना हुन नसकिरहेको अवस्था छ । यस्तो अवस्थामा अधिकांश लघुवित्तीय संस्थाहरुले नाफामा दोब्बरले बढोत्तरी गरेका छन् । यसलाई त लगानीकर्ताहरुले विश्वास गरेनन् नै कतिपय बैंकहरुले देखाएको नाफालाई पनि अप्राकृतिक टिप्पणी गर्न थालेका छन् । कर्जाको पुनर्तालिकीकरण सुविधा नदिइएको भए बैंकहरुले कोभिड प्रभावित कर्जाको लागि मात्र आफ्नो ब्यालेन्स सीटबाट अर्बौं नोक्सानी व्यवस्था छुट्याउनुपर्ने थियो । यसबर्षको निषेधाज्ञा लम्बिदै जाने हो भने बैंक तथा वित्तीय संस्थाहरुले अर्बौं रकम कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने हुनसक्छ । महामारीको असर लम्बिदै जाँदा ५ प्रतिशतको नोक्सानी व्यवस्थालाई २५ प्रतिशत पु¥याउनुपर्ने हुनसक्छ । राष्ट्र बैंकले केही लचिलो व्यवस्था गरिदिएमा मात्र यस्ता संस्थाहरु बच्न सक्नेछन् । अन्यथा चैतमा वितरणयोग्य नाफा अलि बढी भएका केहीबाहेक अन्य संस्थाले असारसम्मको नाफाबाट ठूलो अंकमा लाभांश बाँड्ने संभावना देखिदैन । यसले पनि लगानीकर्ताहरुलाई तर्साएको देखिन्छ ।

चौथो : आर्थिक गतिविधिहरुमा संकुचन आएको वर्तमान स्थिति कहाँ पुगेर थेगिने हो भन्ने अन्योल छ । महामारी अहिले नै नियन्त्रणबाहिर गैसकेको छ । चुनावको घोषणा हुने, महामारी फैलिएर लकडाउन लम्ब्याउनुपर्ने स्थिति आयो र आर्थिक गतिविधिहरु सुचारु हुन लामो समय लाग्यो भने सूचीकृत कम्पनीहरुको नाफा पनि खुम्चिने छ । यसले गर्दा लगानीकर्ताहरु भविष्यप्रति आशावादी देखिन छोडेका छन् र केही चलाख लगानीकर्ताहरु त केही समय अघिदेखि नै बाहिरिसकेका छन् । उनीहरु बजार घटेर निकै तल्लो तहमा आएपछि मात्र पुन प्रवेश गर्ने मूडमा देखिएका छन् । यसले गर्दा बजारलाई तल धकेल्न मद्दत पुर्याइरहेको छ ।

पाँचौं : पहिलाजस्तो गरी सजिलै कर्जा पाउने स्थिति पनि रहेको छैन । थप समस्या बरु कर्जामा कडाई हुन थालेको छ । आगामी दिनमा तरलताको अभाव बढ्ने र कर्जा पाउन मुस्किल हुने स्थिति देखिएको छ । निषेधाज्ञा लम्बिएकोले निर्माण व्यवसायीहरुले पनि काम पूरा गरी आफ्नो बिल भुक्तानीका लागि सरकारसँग माग गर्न सक्ने अवस्था देखिएको छैन । यसअघि भएको विकास निर्माणको खर्चको भुक्तानी असारमा मात्र हुने भएकोले त्यसअघि तरलताको स्थिति छेलोखेलो हुने देखिदैन । बैंक वित्तीय संस्थादेखि सम्पूर्ण व्यवसायीहरु नै अहिले रक्षात्मक बन्न थालिसकेका छन् । त्यसैले महामारीको अन्तिम रुप र केही दिनपछिको राजनीतिक निकासले मात्र लगानीकर्ताहरुलाई बजारमा प्रवेश गर्ने कि पर्खिने भन्ने निर्णय गर्न सजिलो बनाउनेछ । त्यसबेलासम्म बजार बढ्ने स्थिति देखिदैन । घटेर कहाँसम्म पुग्छ भन्ने अनुमान गर्न पनि राजनीतिक अवस्था, महामारीको नाकारात्मक प्रभाव, निषेधाज्ञा र आगामी बजेट तथा मौद्रिक नीतिबाट आउन सक्ने राहत तथा सुविधाहरुको घोषणालाई पर्खिनुपर्ने हुन्छ ।

छैटौं : लगानीकर्ताहरुले बजारलाई विश्वसनीय बनाउनुपर्नेमा विकृतिपूर्ण बनाएका छन् र यसको असर उनीहरुले भोग्न थालेका छन् । केही ठूला लगानीकर्ताहरुको समूह मिलेर बजारका आधारभूत सूचकलाई समेत वेवास्ता गरी नाफा नै दिन नसक्ने, वर्षौदेखि साधारण सभा नै नगरी अन्योलको अवस्थामा रहेका, नेटवर्थ ऋणात्मक भएका र आगामी कति बर्षसम्म लाभाँश दिन नसक्ने कम्पनीहरुको सेयर सबै सेयर किनिदिने (ड्राईआउट ) र माथिल्लो मूल्यमा नियन्त्रण गरी बिक्री गर्ने विकृत प्रवृत्तिलाई बढावा दिएका छन् । बिक्री चाप बढी आउने भएकोले तुलनात्मकरुपमा न्यून मूल्य भएका र दीर्घकालीनरुपमा अधिकतम प्रतिफल दिन सक्ने बैंकहरुमा न्यून चासो र अनिच्छा प्रकट गरेका कारण बजारमा केलाई विश्वास गर्ने र केलाई नगर्ने भन्ने अन्योल सिर्जना भएको छ । यसले अन्ततः बजारको विश्वसनियता धरापमा पर्न गएको छ र बजार कमजोर भएका बेला यसको बढी असर देखिने भएकोले उनीहरुलाई परोक्ष मार पर्न थालेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL