Logo

नर्थ समिट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

नर्थ समिट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल



काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

उक्त सम्झौता पत्रमा जेठ २३ गतेका दिन हस्ताक्षर गरीएको हो । नर्थ समिट हाइड्राले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८ लाख ४० हजार कित्ताको प्रतिसेयर अंकित मुल्य १०० रूपैयाँका दरले हुन आउने रकम ३८ करोड ४० लाख बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

सम्झौता समारोहमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रोको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

नर्थ समिट हाइड्रोले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मे.वा. क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, सेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्