Logo

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा, कस-कसले दिन पाउँछन् आवेदन ?

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा, कस-कसले दिन पाउँछन् आवेदन ?



काठमाडौं । सुपर मादी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो ।

laxmi

कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।

यी बाहेक बाँकी रहेको शेयरमध्ये ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिने कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । यो आईपीओ विक्री अवधि छिटोमा माघ १२ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २३ गतेसम्म विक्री अवधि लम्बिने जानकारी कम्पनीले दिएको छ ।

पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको तथ्याङ्कलाई हेर्दा छिटो अवधि माघ १२ गतेसम्म मात्र कम्पनीको आईपीओ विक्रीमा रहने निश्चित छ ।

यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले विक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी रेटिङ प्रदान गरेको छ ।

यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदिको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । २०७५ साल जेठ ८ गतेदेखि निरन्तर रुपमा यस आयोजनको निर्माण कार्य भरहेको छ ।

२०७८ साल जेठ २८ गतेदेखि यो आयोजनाबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य लिईएको भएपनि विश्वव्यापी रुपमा फैलिएको कोभिड तथा बाढी पहिरोका कारण हालसम्म यस आयोजनाको ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको व्याज सहित १८ करोड ९७ लाख ७२ हजार ७२७ रूपैयाँ हुने अनुमान गरिएको छ । कुल लागत भने ८ अर्ब ३५ करोड रूपैयाँ पुग्ने अनुमान कम्पनीको छ ।

कम्पनीको अधिकृत पूँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी पनि २ अर्ब १० करोड रूपैयाँनै छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब ७८ करोड ५० लाख कायम रहेको छ । सर्वसाधारण तर्फको शेयर बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रूपैयाँ कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL