Logo

घट्दो बजारमा मार्जिन कलको प्रेसर, बियरिस ट्रेण्डमा यसरी च्यापिँदै छन् लगानीकर्ता

घट्दो बजारमा मार्जिन कलको प्रेसर, बियरिस ट्रेण्डमा यसरी च्यापिँदै छन् लगानीकर्ता



काठमाडौं । पछिल्लो समयको लगातारको घट्दो बजारमा लगानीकर्तामाथि मार्जिन कलको प्रेस बढ्न थालेको छ । सेयर मुल्य लगातार घटेर लगानीकर्ताले आफ्नो पोर्टफोलियोको ३० देखि ५० प्रतिशतसम्म गुमाउन पुग्दा बैंकहरुले मार्जिन कलको प्रेसर हान्न थालेका हुन् ।

laxmi

सामान्यतय धितोमा राखेको सेयर मुल्य २० प्रतिशतभन्दा बढीले घटेमा बैंकहरुले मार्जिन कल गर्न थाल्छन् । तर, पछिल्लो समय कतिपय सेयरको मुल्य ५० प्रतिशतसम्म घटेकाले बैंकहरुले मार्जिन कल गर्न थालेका हुन् । बजार लगातार घट्दै वियरिस ट्रेण्डमा गएको बजार कुन विन्दुसम्म घट्ने हो भन्न नसकिने अवस्था रहेको सम्बद्ध विश्लेषकहरुले बताउँछन् ।

नेप्से परिसुचक ३२ सय अंक पुगेर घट्न सुरु गरेको बजारमा अहिले धेरै लगानीकर्ताहरु चेपुवामा परेका छन् । विशेषगरी नेप्से परिसुचक ३ हजार अंक आसपासमा हुँदा प्रवेश गरेका लगानीकर्ताहरु बढी मारमा परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

घट्दो बजारमा आफु सुरक्षित हुनका लागि पछिल्लो समय बैंकले दैनिक रुपमा लगानीकर्तालाई मार्जिन कलका लागि फोन गर्न थालेका छन् । ‘अहिले बजार खुल्ने वित्तिकै बैंकबाट मार्जिन कलको लागि फोन आउन थालेको छ,’ एक लगानीकर्ताले भने, ‘उक्त प्रेसर थेग्न नसकेर पनि लगानीकर्ताले आफुसँग भएको सेयर जतिमा खरिदकर्ता पाउँछन सोही मुल्यमा बिक्री गर्न थालेका छन् ।’ बढ्दो ब्याज, थप लगानीका लागि बैंकबाट कर्जा नपाईने तथा मार्जिन कलको प्रेसर थेग्न नसकेर पनि लगानीकर्ताहरुले सस्तो मुल्यमै भएपनि सेयर बिक्री गरेर बाहिरिन बाध्य भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘एकातिर दैनिक रुपमा आफ्नो पोर्टफोलियो घटिरहेको छ भने अर्कोतर्फ बैंकबाट पनि उत्तिकै दबाब आउन थालेको छ,’ एक लगानीकर्ताले भने, ‘अहिले सेयर बजारमा आफैले गरेको लगानी आफ्नै लगानी अभिसाप भएको छ ।’ पछिल्लो समय लगानीकर्ताहरु आर्थिक र मानसिक तनावमा भएको समेत ती लगानीकर्ताले जानकारी दिए ।

पछिल्लो समय नेप्से परिसुक दैनिक रुपमा उच्च अंकले घटेका कारण लगानीकर्ताहरु ‘स्टप लस’ गर्ने अवस्थामा समेत नभएको अर्का एक लगानीकर्ताले जानकारी दिए । ‘धेरैजसो लगानीकर्ताको सेयर मुल्य ५० प्रतिशतले घटिसकेको छ,’ ती लगानीकर्ताले भने, ‘आज वा भोलि गरेर बजार बढ्ने आसमा कुर्दै जाँदा झन बढीले सेयर मुल्य घट्दा लगानीकर्ताहरु आफुसँग भएको सेयर समेत बिक्री गरेर निस्कन सक्ने अवस्थामा छैनन् ।’

बजार दैनिका रुपमा ओरालो लाग्दा बजारमा खरिदकर्ता समेत भेटिन छाडेका छन् । दैनिक २२ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार हुने नेप्सेमा अहिले दैनिक डेढ अर्ब रुपैयाँको पनि कारोबार हुन छाडेको छ ।

पछिल्लो समय विशेषगरी फाइनान्स, जलविद्युत, विकास बैंक लगायतका कम्पनीहरुको सेयर मुल्यमा उच्च गिरावट आएको छ । बढ्दो बजार पनि कम सेयर भएका यिनै कम्पनीको सेयरमा लगानीकर्ताले बढी खेलेका थिए । यसैगरी बजारमा बीमामा लगानी गर्नेले पनि सोही अनुपात गुमाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL