Logo

ठूला लगानीकर्ताको विश्लेषण-‘बजार ३/१ को फर्मुलामा अघि बढेको छ, तत्काललाई यी ४ कारणले गर्दा घट्यो’

ठूला लगानीकर्ताको विश्लेषण-‘बजार ३/१ को फर्मुलामा अघि बढेको छ, तत्काललाई यी ४ कारणले गर्दा घट्यो’



काठमाडौं । सेयर बजारमा ठूला लगानीकर्ता एवं विश्लेषक राजेन्द्र खेतानले बजार ३ स्टेप अघि र १ स्टेप पछिको फर्मुलामा चलेका कारण अहिले घट्न पुगेको बताएका छन् । ‘बजार दीर्घकालीन रूपमा दिगो भएर बढ्नका लागि जहिले पनि ३ स्टेप माथि उक्लेर एक स्टेप तल झर्नुपर्छ,’ उनले भने, ‘३२ अंकबाट २२ सय अंकमा झरेको बजार पुनः बढेर २९ अंक पुगेको थियो अहिले १ स्टेप फल भएको हो ।’

laxmi

बजार लगातार मात्र बढिरहँदा दिगो र म्याच्योर्ड नहुने भन्दै ३ स्टेप अप र १ स्टेप फलको फर्मुलामा अघि बढ्नुपर्ने उनी बताउँछन् । यस अघि पनि ११ सय अंकबाट बढ्न सुरु गरेको बजार ३२ सय अंक पुगेर २२ सयमा सोही फर्मुला अन्तरगत झरेको र अहिले घटाई पनि त्यसैको निरन्तरता भएको उनको तर्क छ । तर पछिल्लो सयम एक्कासी बजारमा गिरावट आउनुमा विभिन्न ४ कारण रहेको उनको तर्क छ ।

१. पुस समान्तमा तानिएको बजारमा करेक्सन

खेतान पुस मसान्तमा वित्तीय संस्थाले बढी नाफा देखाउन तथा कर्जा लिएका व्यक्तिले मार्जिन कलको प्रेसरबाट बच्चका लागि बढाइएको बजारमा माघ लागेपछि केही करेक्सन आएको बताउँछन् । पुसमा बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर तथा पोर्टफोलियो म्यानेजरलाई समेत बढी नाफा देखाउनका लागि केही हदसम्म बजार तानेका हुन्छन् । तर त्यसरी तानिएको बजार लामोसमयसम्म टिक्न नसक्दा केही करेक्सन आउनु स्वभाविक रहेको उनको तर्क छ । जसअनुरुप क्वाटर इन्डमा बजार बढ्ने र त्यसपछि सामान्य करेन्स आउने गरेको हुन्छ ।

२. माघ लागेपछिको बढ्दो ब्याजदरको त्रास

माघ लागेपछि बैंकहरुले सार्वजनिक गर्ने आधादर ०.५ प्रतिशतदेखि १.५ प्रतिशतसम्म बढेको र जसका कारण कर्जाको ब्याज बढन् गई त्यसले समेत लगानीकर्ताको मनोविज्ञानमा केही असर गरेको छ । ‘सेयर बजारमा लगानीगर्दा दैनिक १० प्रतिशतसम्म आम्दानी गर्न सकिन्छ,’ खेतानले भने, ‘तर लगानीकर्ताहरु वार्षिक रुपमा १–२ प्रतिशत ब्याज बढ्दा त्यसैलाई आधार बनाएर बजारबाट बाहिरिहेका हुन्छन् ।’ जुन कुरा सेयर बजारको लगानीको सिद्धान्तअनुरुप नभएको समेत उनको तर्क छ ।

३. स्थानीय चुनाव ६ महिना पछि धकेलिने संकेत

गत हप्ता लगानीकर्ताहरु बैशाखकै स्थानीय निकायको चुनाव हुने भन्दै बजार प्रवेशलाई तीब्र बनाएका थिए । यदि बैशाखकै चुनाव हुँदा बजारमा ठूलो मात्रामा पैसा आउने र त्यसले गर्दा बजारले नयाँ उचाई कायम गर्ने धेरैको आँकलन थियो । तर सत्ता गठबन्धनले तत्कालै (बैशाखमा) चुनाव नहुने बताईरहँदा त्यसले लगानीकर्तालाई थप अन्यौलता बनाएको उनको तर्क छ । जसले गर्दा बजार २२ सय अंकमा झर्दा बजार प्रवेश गरेका लगानीकर्ता २८ सय अंक पुग्दा प्रफिट बुक गरेर बाहिरिएका छन् भने एकैपटक १ सय अंकले हेर्दा पुनः बजार प्रवेश गर्नका लागि पर्ख र हेरको अवस्थामा बसेको उनको तर्क छ । जसले गर्दा अहिले आएर कारोबार रकममा समेत गिरावट आएको छ ।

४. पुँजीगत खर्च नहुनु

तरलता अभाव, उच्च ब्याजदरसँग सेयर बजारको नकारात्मक सम्बन्ध रहन्छ । जब लगानीको लागि पैसा हुँदैन र ब्याजदर उच्च हुन्छ तब सेयर बजार घट्न थाल्छ । अहिले सरकारले पुँजीगत खर्च गर्न नसक्दा सरकारको ढुकुटीमा ठूलो रकम थुप्रिएर बसेको छ भने बजार लगानीयोग्य पैसा छैन । पछिल्लो समयको उच्च ब्याजदर र लगानीकर्ताहरु बढी ब्याजदर तिर्न तयार हुँदा समेत बैंकबाट पैसा नपाउँदा त्यसको असर सेयर बजारमा देखिएको छ । यदि सरकारले समयमै पुँजीगत खर्च गरे तरलता सहज हुने वित्तिकै बजारले नयाँ रेकर्ड ब्रेक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL