काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजारमा नयाँ अध्याय सुरु भएको छ। गोगोरो स्कुटरको नेपालस्थित आधिकारिक वितरक नेब्युला इनर्जीले पहिलोपटक विद्युतीय स्कुटरका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ। कम्पनीले यो कार्यक्रम लागू गरी नेपालको विद्युतीय सवारी बजारमा ग्राहक विश्वास र दीर्घकालीन मूल्य सुनिश्चित गर्ने दाबी गरेको छ।
नेब्युला इनर्जीका अनुसार, गोगोरो अब नेपालमै बाइब्याक ग्यारेन्टी दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ। साउन १९ गतेदेखि लागू भएको यो योजनाअनुसार, गोगोरो स्मार्ट स्कुटर खरिद गर्ने ग्राहकलाई ५ वर्ष वा ४० हजार किलोमिटर (जुन पहिले पुग्छ) भित्र रु १ लाखको पुनर्खरिद मूल्य ग्यारेन्टी गरिनेछ।
विद्युतीय सवारी प्रयोगकर्ताको साझा चिन्ता — ब्याट्रीको अवस्था बिग्रँदै जानु र त्यसले पुनर्बिक्रि मूल्य घटाउनु — को समाधान गोगोरोले आफ्नो ब्याट्री स्वापिङ प्रविधिमार्फत गरेको छ। परम्परागत ईभीमा जस्तो ब्याट्री सवारीधनीकै स्वामित्वमा नहुने र सट्टामा ग्राहकले गोगोरोद्वारा सञ्चालित स्वाप स्टेसनहरूबाट चार्ज सकिएको ब्याट्री साटेर नयाँ चार्ज भएको ब्याट्री लिन सक्ने भएकाले, ब्रान्डले दीर्घकालीन बाइब्याक मूल्य निर्धारण गर्न सम्भव भएको हो।
“गोगोरो नेपालको यातायातको भविष्य हो,” नेब्युला इनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने, “सुरुदेखि नै हामीले पूर्वाधारमा लगानी गरेर गम्भीर प्रतिबद्धता देखाएका छौं। काठमाडौंभर ४५ वटा ब्याट्री स्वाप स्टेसनको नेटवर्क तयार भएपछि मात्रै हामीले व्यवसाय सुरु गरेका थियौं। अब हामी ग्राहकप्रति थप उत्तरदायी भएर अघि बढिरहेका छौं।”
यस घोषणासँगै, गोगोरोले हाल काठमाडौंमा जारी नाइमा अटो शोमा सहभागी हुँदै बाइब्याक ग्यारेन्टीसहितको दशैं अफर पनि सार्वजनिक गरेको छ। अफर अन्तर्गत ब्याट्री स्वाप प्रणालीमा आउने नयाँ ग्राहकहरूलाई छुट तथा अतिरिक्त सुविधाहरू दिइने जनाइएको छ।
शोमा आगन्तुकले गोगोरोको ब्याट्री स्वाप प्रविधिको प्रत्यक्ष डेमो हेर्न र अनुभव गर्न सक्नेछन्। साथै, कम्पनीले अप्टिमाइज गरिएको ब्याट्री स्वाप स्टेसन प्रणाली र हालसालै अपग्रेड गरिएको Jego स्कुटर पनि पहिलोपटक सार्वजनिक प्रदर्शनीमा ल्याएको छ।
नेब्युला इनर्जीका अनुसार, कम्पनीले गोगोरो ब्रान्डमार्फत नेपालमा ईभी पूर्वाधार निर्माण, ग्राहककेन्द्रित प्रविधि, ब्याट्रीमा लाइफटाइम ग्यारेन्टी र दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यले काम गरिरहेको छ।