काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रा.लि. र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ ।
जसअनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित एसईईपी मेला आयोजना गर्नेछन्। यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो।
जेठ ७ बाट सुरु भइसकेको एसईईपी (स्किल इम्प्लोइमेन्ट इन्हान्समेन्ट प्रोगाम) मेलाले हाल १० वटा प्रमुख क्षेत्रअन्तर्गत ३७ प्रकारका पेशागत सीप सम्बन्धी तालिमहरू दिइरहेको छ।
यसले युवाहरुलाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर सिर्जना गरिरहेको छ। साथै, यसले उद्योगहरूलाई आवश्यक जनशक्ति भित्र्याउने क्षमता बढाउन पनि मद्दत पुर्याउने छ।
यो साझेदारीले दुवै पक्षको आपसी सम्बन्ध र दिगो विकास लक्ष्य प्रतिको प्रतिवद्धता देखाउँछ, विशेष गरी मर्यादित रोजगारी र आर्थिक वृद्धि सम्बन्धी लक्ष्यप्रति। एसईईपी मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्नका लागि विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य लिएको छ।
सम्झौता पत्रमा हस्ताक्षरको कार्यक्रम फेयर म्यानेजमेन्ट कमिटीको तर्फबाट गतिशील अभियान नेपालको संयोजनमा सम्पन्न भएको थियो। आयोजकको तर्फबाट रामजी पौडेलले हस्ताक्षर गरे।
एमएडब्लू इन्टरप्राइजेजका तर्फबाट एमएडब्लू अर्थमुभर्स प्रा.लि. का सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमी प्रा.लि. का सीईओ महेश बिष्टले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गरे।
एसईईपी मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने एउटा महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ। मेलाले सबै पक्षलाई एउटै थलोमा ल्याएर काठमाडौं महानगरपालिकाको लक्ष्यअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्न सक्षम र आत्मनिर्भर श्रमशक्ति निर्माणमा टेवा पुर्याउनेछ।
यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक(निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन्।