Logo

‘टेस्ला दायित्व’का कारण मस्कद्वारा भारत भ्रमण स्थगित, भारतमा टेस्ला उत्पादन गर्ने योजना के होला ?

‘टेस्ला दायित्व’का कारण मस्कद्वारा भारत भ्रमण स्थगित, भारतमा टेस्ला उत्पादन गर्ने योजना के होला ?



काठमाडौंं । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिबार बताएका छन्। भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो।

laxmi

मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेको एक दिनपछि उनको भारत भ्रमण स्थगित भएको समाचार आएको हो।

“दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु”, आफ्नो सामाजिक मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा उनले भने।

सञ्चारमाध्यमले आइतबारदेखि हुने दुई दिवसीय भ्रमणका क्रममा मस्कले मोदी र एयरोस्पेस कम्पनीहरूसँग भेटने बताएका थिए। गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने स्थानहरूको खोजी गरिरहेको थियो।

कम्पनीले ५० करोड डलर लगानी गर्ने र तीन वर्षभित्र स्थानीय उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएको थियो। सरकारको उक्त नीतिले प्रत्येक वर्ष ३५ हजार डलर वा त्योभन्दा धेरै मूल्य भएका आठ हजार विद्युतीय सवारीको आयातमा शुल्क घटाएको छ।

टेस्लाले उत्पादन लाइन स्थापना गर्नेबारे अन्तिम निर्णय नलिएसम्म उसले पहिलो पटक आफ्नो बर्लिन कारखानाबाट कारहरूको आयात गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। टेस्लाका कारहरूको मूल्य धेरै भएकाले भारतीय बजारमा कम्पनीलाई तत्काल बढत मिल्ने सम्भावना कम रहेको विशेषज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL