Logo

विद्युतीय सवारीप्रतिको शंका चिर्न इभी एक्स्पो आयोजना गर्न लागिएको हो : अध्यक्ष थापा

विद्युतीय सवारीप्रतिको शंका चिर्न इभी एक्स्पो आयोजना गर्न लागिएको हो : अध्यक्ष थापा



काठमाडौं । पछिल्लो समय विद्युतीय गाडीप्रति देखिएका शंका चिर्न (विद्युतीय सवारी) इभी एक्स्पो आयोजना गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले बताएका छन् । सोमबार इभी एक्स्पोको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

laxmi

पत्रकार सम्मेलनमा बोल्दै उनले पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढेको र सोही अनुसार प्रयोग गर्न चाहनेले शंका गरेको बताए । ‘उकालोमा भनेबमोजिम तान्दैन कि, भनेजति रेन्ज दिँदैन की, चार्जिङको सुविधा हुँदैन किलगायतका शंकाहरु रहेको पाईयो,’ उनले भने, ‘यस्ता शंकालाई चिर्न र यसप्रतिका प्रश्नहरुको उत्तर दिनका लागि नै इभी एक्स्पो आयोजना गर्न लागिएको हो ।’

सरकारले गाडीको आयातमा प्रतिवन्ध लगाएकाले अटो क्षेत्र नै धराशायी हुने अवस्थाका बाबजुद पनि नाडाले इतिहासमै पहिलोपटक विद्युतीय सवारीसाधनको एक्स्पो गर्न लागेका उनको भनाई छ । पछिल्लो २ बर्ष कोरोना र त्यसपछि आयात प्रतिवन्धका कारण नाडा अटो एक्स्पो हुन सकिरहेको छैन । यसो हुँदा नाडा अटो एक्स्पोको भविष्य नै अन्यौलमा पर्ने भएपछि आफुसँग भएको साधन र स्रोतको उपयोग गर्दै एक्स्पो गर्ने जमर्को गरेको उनको भनाई छ ।

कोरोना महामारी र चिप अभावकै कारण विश्वबजारमा गाडीको अभाव भएपनि त्यसको असर नेपालमा पनि देखिएको छ । तसर्थ नेपाली उपभोक्ताहरुले पनि भनेबमोजिम भनेकै समयमा चाहेको गाडी पाउन मुस्किल छ । यस्तै अवस्था विद्युतीय गाडीमा पनि छ । हाल नेपालमा विद्युतीय गाडीको माग धेरै भएपनि सोही अनुसारको आपुर्ति धान्न भने कठिनाई भईरहेको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा उनले हाल नेपाली सडकमा चल्ने सवारीमध्ये १० प्रतिशत विद्युतीय सवारीसाधन चल्ने गरेको बताए । तर, अबको ५ देखि ६ बर्षपछि नेपाली सडकमा ५० प्रतिशत विद्युतीय गाडी चल्नेगरी यसको माग भइरहेको उनको भनाई थियो । तसर्थ नेपालमा प्रचुर मात्रामा जलविद्युत उत्पादन भईरहेकाले यसको खपत बढाउनका लागि पनि विद्युतीय सवारीसाधनको प्रयोग अतिआवश्यक भएको उनको भनाई छ ।

यसका लागि सरकारले नै विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिनेगरी नीति निर्माण गर्नुपर्नेमा उनको जोड थियो । ‘नेपालको विद्युत खपत बढाउने एकमात्रै महत्वपुर्ण क्षेत्र नै विद्युतीय अटो क्षेत्र हो,’ उनले भने, ‘यसमाथि पनि सरकारले वक्र दृष्टि राखेर पछिल्लो ४ बर्षमा ४ पटक करका दर हेरफेर गरिसकेको छ ।’

उनले अब सरकारले नै निश्चित मापदण्ड, क्षमता र मोडलको गाडीलाई अत्यावश्यक सवारीसाधनको रुपमा मान्नुपर्ने बताए । पछिल्लो समय सवारीसाधन पनि गाँस, बास, कपासजस्तै भएकाले त्यसमा सररकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।

यसपल्ट सरकारले सवारी आयातमा प्रतिवन्ध लगाएका पछि नाडाले भृकृटिभण्डपमा नाडा इभी एक्स्पो आयोजना गर्न लागेको हो । आगाी असोज ६ गतेदेखि सुरु हुने उक्त एक्स्पोमा ७ ब्राण्डका ४ पांग्रे, एउटा ३ पांग्रे, १६ ओटा २ पांग्रे, ३ ब्राण्डका टायर, २ ब्राण्डका ब्याट्री, ९ ब्राण्डका पार्टपुर्जा र ४ ओटा बैंकका गरी ५१ स्टल रहने बताईएको छ ।

४ दिनसम्म चल्ने उक्त एक्स्पोमा विभिन्न सेमिनारहरु पनि आयोजना हुनेछन् । उक्त एक्स्पो भ्रमण गर्नका लागि अनलाइनमार्फत र भौतिक रुपमै उपस्थित भएर टिकट लिन सकिने छ । ४ दिनमा ४० हजार जनाले एक्स्पोको भ्रमण गर्ने अनुमान आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL